गोपाल पोखरेल
सोमवार, बैशाख ३०, २०७६
599

भनिन्छ संघर्ष र सफलता एक अर्काका परिपुरक हुन् । संघर्षशील मानिसले नै सफलताको सिँढी चढ्न सक्छ । उदयपुरको रौतामाई गाउँपालिका–२ भुट्टार निवासी रौतामाई गाउँपालिकाकी उपाध्यक्ष कुमारी रानाज्यू ठकुरीको जीवन पनि यस्तै संघर्ष र सफलताले भरिएको छ ।
२०५३ सालमा तत्कालीन नेकपा माओवादीमा लागेर ३ वर्ष भूमिगत जीवन बिताएका सुकुम्बासी परिवारका भुवनज्यू ठकुरी बिरामी भएपछि जनयुद्ध छोडेर घर फर्केका थिए । कक्षा ७ मा पढ्दै गरेकी १५ वर्षीय कुमारीको तीनै बेरोजगार र सुकुम्बासी भुवनसँग विवाह भएको थियो । विवाहपछि बर्सेनि जन्मेका एक छोरा र एक छोरी हुर्काउनु पर्ने बाध्यताका कारण पढाइ अवरुद्ध भएपछि उनले ४ वर्षपछि पुनः कक्षा ८ को पढाइ सुरु गरिन् । त्यसपछि बालबच्चाको हेरचाह, परिवारको हातमुख जोर्न समस्या भएपछि सुरु गरेको होटेल व्यवसाय र आफ्नो पढाइलाई एकसाथ निरन्तरता दिएकी ३३ वर्षीय उनी अहिले एमएमा अध्ययन गरिरहेकी छिन् भने तत्कालीन नेकपा एमालेको तर्फबाट टिकट पाएर गाउँपालिकाको उपाध्यक्षसमेत निर्वाचित भएकी छन् ।

“जीवन भनेकै संघर्ष रहेछ,” उनले भनिन् “दुःखले नै मानिसलाई बाँच्न पनि सिकाउँदो रहेछ ।”
“श्रीमान् र सासुआमाको सहयोग लिएर बिहान १० बजेसम्म घरको धन्दा सकेपछि साढे १० बजे गाउँपालिकाको कार्यालय पुग्छु,” उनी भन्छिन्, “जनताको काम त झन गर्नैपर्छ यति ठूलो विश्वास गरेर निर्वाचित गराएका छन् ।” बेरोजगार श्रीमान्, बूढी सासुआमा र बालबच्चाको लालनपालन आफ्नै पाखुरीले गर्दै आएकी उनी अहिले पनि होटेल व्यवसाय सञ्चालन गरिरहेको बताउँछिन् ।
ससुराको उपचारमा सम्पूर्ण चल अचल सम्पत्ती सकेर लामो समयदेखि सुकुम्बासी बनेको उनको परिवारले विगत ३ वर्षअघि कुमारीकै मिहिनेतका कारण परिचय बदलेको छ । होटेल व्यवसाय संचालन गरेर कमाएको ८ लाख रुपैयाँमा उनले एउटा घर र एक रोपनी जमिन किनेकी छिन् ।
हरेक दिन बिहान १० बजेसम्म कुशल गृहिणी र त्यसपछि ५ बजेसम्म एक कुशल जनप्रतिनिधिको भूमिका निर्वाह गरिरहेकी कुमारीका श्रीमान् र सासुआमासमेत उनको अविभावकीय भूमिका र असल पारिवारिक नेतृत्वको प्रसंसा गर्छन् । बीएडमा अध्ययनरत रहँदै गर्दा स्थानीय उच्च माध्यमिक विद्यालयको व्यवस्थापन समितिको अध्यक्षमा निर्विरोध निर्वाचित भएपछि राजनीतितर्फ चासो लिएकी उनी उदयपुर जिल्लाकै प्रमुख र महत्वपूर्ण मानिने त्रियुगा जनता क्याम्पसको व्यवस्थापन समितिको सदस्य बनिसकेकी छन् । कार्यालयले प्रक्रिया मिलाउनु पर्ने बाध्यताका कारण जनताका काम उनीहरूको चाहनाअनुसार छिटोछरितो हुन नसकिरहेको उनको अनुभव छ ।
“जीवनमा लामो समयदेखि संघर्ष गर्दै आएका लाखौं मानिसका लागि कुमारी एउटा सफल उदाहरण हुन सक्छिन्,” स्थानीयवासी एवं नेकपा उदयपुरका सचिव इश्वरमणि राउतले भने, “ जीवनमा गरिने सकारात्मक संघर्षले मानिसको परिचय नै बदलिन सक्छ भन्ने ज्वलन्त उदाहरण समेत उनी बनेकी छन् ।”