कारोबार संवाददाता
सोमवार, बैशाख ३०, २०७६
205

पर्साका बाढीपीडितले अझै पनि राहत नपाएको गुनासो गरेका छन् । २०७२ सालमा पहाडमा आएको भूकम्पपछि तराई–मधेसमा बाढी र डुबानले करोडौंको क्षति पुरयाएको थियो । सोही बाढी र डुबानमा परेका पर्साका अधिकांश पीडितहरुले अझै राहत नपाएको गुनासो गरेका हुन् ।
राहत प्राप्त गर्नका लागि जिल्ला प्रशासन कार्यालयमा निवेदन दिएपनि तत्कालिन पर्साका प्रमुख जिल्ला अधिकारी लोकनाथ पौडेलले राहतमा रोक लगाएकोले आफुहरुले राहत नपाएको पीडितहरुको गुनासो छ । भारी वर्षापछि आएको बाढीले पर्साका अधिकांश भाग डुबानमा परेर ठूलो भौतिक क्षति भएको थियो । बाढी र डुबानबाट पर्साका सबै स्थानीय तह पीडित भएका थिए । डुबानले पुरयाएको क्षतिबाट राहत पाउन निवेदन दिएका पीडितमध्ये अहिले तीनवटा स्थानीय तहका पीडितहरुले मात्रै राहतको रकम पाएका छन् । जिल्ला प्रशासन कार्यालय पर्साका अनुसार १४ वटा स्थानीय तह रहेको पर्सामा सरकारले राहतस्वरुप दिने २५ हजार रुपैयाँ रकम अहिले पोखरिया नगरपालिकाका १४ जना, कालीकामाई गाउँपालिकाका ११ जना, पटेर्वासुगौली गाउँपालिकाका १८ जना र जीराभवानी गाउँपालिकाका ७ जना बाढीपीडितले मात्रै २५ हजार प्रति घरपरिवारको दरले राहत पाएका छन् । पर्साको सबैभन्दा बढी भौतिक क्षति भएको ठोरी गाउँपालिका र पटेर्वा सुगौली गाउँपालिकाको मोर टोलका बाढी पीडितहरुले अहिलेसम्म राहत पाउन सकेका छैनन् ।

पटेर्वा सुगौली गाउँपालिकाका प्रमुख हरिनारायण चौधरीले राहतको लागि कैयौं पटक धाउँदा समेत नपाएको बताए । उनले भने, “बाढीले सबैभन्दा बढी पीडितहरु मेरो गाउँपालिकामा छन् । त्यसमा पनि आधाभन्दा बढीले राहत पाएका छैनन् । ५२ जनाको सिफारिस गरेकोमा अहिलेसम्म ३३ जनाले राहत पाएका छैनन् ।”
जगरनाजपुर गाउँपालिकाका बाढी पीडितहरुले पनि राहत पाएका छैनन् । जगरनाथपुरको हरपुर, मसिहानी, दसौता, पिपरडारी लगायतका स्थानीय पीडितहरुले राहत नपाएको जगरनाथपुर गाउँपालिकाका प्रमुख जालिम मियाँले बताए । पकाह गाउँपालिकाका प्रमुख विजय चौरसियाले पनि राहत नपाएको बताएका छन् ।