कारोबार संवाददाता
सोमवार, बैशाख ३०, २०७६
212

नेपाल पत्रकार महासंघले सरकारले ल्याएको मिडिया काउन्सिलसम्बन्धी विधेयक तत्काल खारेज नगरे सशक्त आन्दोलनमा उत्रिने चेतावनी दिएको छ । यसका लागि अन्तर्राष्ट्रिय मिडिया मिसन र संयुक्त राष्ट्रसंघलाई समेत गुहार्ने भनाइ महासंघको छ ।
शनिबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा महासंघका महासचिव रमेश विष्टले अहिले संसदमा प्रस्तुत गरिएको विधेयक पारित भए प्रेसको स्वतन्त्रता बाँकी नरहने जिकिर गरे । उनले भने, “यो विधेयक कानुन बनेर आयो भने नेपालमा प्रेस स्वतन्त्रता बाँकी रहँदैन । हामीले आन्दोलनको घोषणा गरिसकेका छौं ।”

उनले नेपाली प्रेस शान्ति प्रक्रियाको हिस्सेदार भएकोले यसको स्वतन्त्र प्रेसको रक्षा हुनुपर्ने स्पष्ट पारे । तर, पछिल्लो समय प्रेसलाई नियन्त्रित कानुन ल्याउने काम भएकोमा उनले आक्रोश पोखे । सरकारले लोकतन्त्रको आवरणमा प्रेस जगतलाई निमोठ्ने प्रयास गरेको भन्दै सरकारको विरुद्धमा लड्न गाह्रो भैरहेको पनि उनले जनाए । उनले थपे, “मिडिया काउन्सिलको स्वायत्तताको रक्षाको लागि हामी जस्तोसुकै कदम पनि चाल्न तयार छौं । यसको गठन प्रक्रिया र नियत नै खराब छ ।”
ऐन ल्याउँदासमेत सरकारले सरोकारवालाहरुसँग कुनै छलफल नगरेकोमा पनि उनले आक्रोश पोखे । आमसञ्चार ऐन पनि प्रेसविरोधी आउन लागेको उनले गुनासो पोखे । सरकारले अहिले अपनाएको शैली र बाटो धेरै महँगो पर्ने उनले चेतावनी दिए ।
कार्यक्रममा नेपाल प्रेस यूनियनका अध्यक्ष बद्रि सिग्देलले संसदमा दर्ता भएको प्रेस काउन्सिलसम्बन्धी विधेयक तत्काल फिर्ता लिनुपर्ने माग गरे । अहिले सरकारले जसरी प्रेससम्बन्धी ऐन तथा कानुन ल्याउन खोजेको छ, त्यसले पत्रकारहरुलाई कमजोर र भयभित तुल्याएको सिग्देलको आरोप छ ।
आफूहरु मर्न र जेल जान तयार रहेको सुनाउँदै प्रेसविरोधी ऐन तथा कानुन कुनैपनि हालतमा नमान्ने सिग्देलको उद्घोष छ । उनले भने, “प्रेसलाई मार्न खोजिँदैछ, यो हामीलाई सह्य छैन । प्रेस काउन्सिल विधेयक संविधान विपरित छ । हामी यो विधेयक तत्काल फिर्ता लिन वा पुनरावलोकन गर्न आग्रह गर्दछौं ।”
नेपाल प्रेस संगठनका अध्यक्ष महेश्वर दाहालले पत्रकार महासंघले हतारमा आन्दोलन गर्न नहुने सुझाव दिए । उनले भने, “गोकुल बास्कोटा रिपोर्टर हुँदै मन्त्री हुनुभएको हो । त्यसैले प्रेसकै घाँटी निमोठ्नेगरि विधेयक ल्याउन लाग्नुभएको हो भन्नेमा मलाई विश्वास छैन ।” पत्रकार महासंघले आन्दोलन घोषणा गर्नु गलत भएको पनि उनको टिप्पणी छ ।


सातामा धेरै पढिएको