मकरराज धामी
सोमवार, बैशाख ३०, २०७६
266

बझाङका स्थानीय तह प्रमुख प्रशासकीय अधिकृतविहीन भएका छन् । कर्मचारी समायोजनले कर्मचारी सुरुवा भई अन्य स्थानमा खटाईएपछि यहाँका स्थानीय तह प्रमुख प्रशासकीय अधिकृतविहीन भएका हुन् ।
नगरपालिका तथा गाउँपालिकामा प्रशासकीय अधिकृत नहुँदा स्थानीय तह निमित्त प्रशासकीय अधिकृतको भरमा चलिरहेका छन् । निमित्त प्रशासकीय अधिकृतलाई आर्थिक जिम्मेवारी नदिँदा कामकाजमा समस्या भएको गाउँपालिकाका अध्यक्षहरूको गुनासो छ । प्रमुख प्रशासकीय अधिकृतमात्र हैन कतिपय गाउँपालिकामा अन्य कर्मचारी पनि नहुँदा समस्या हुने गरेको छ । कर्मचारी नहुँदा स्थानीय तहको सेवा प्रवाहमा ढिलाइ हुने गरेको बुङ्गल नगरपालिकाका प्रमुख धनबहादुर विष्टले बताए ।

स्थानीय सरकार सञ्चालन ऐन संशोधनमा संघ, प्रदेश र स्थानीय तहमा कर्मचारी सरुवा–बढुवा गरेर अन्य स्थानमा पठाइएकाले अधिकांश स्थानीय तह प्रमुख प्रशासकीय अधिकृतविहीन भएको थलारा गाउँपालिकाका अध्यक्ष भुवनेश्वर उपाध्यायले बताए । उनले भने, “समायोजनपछि कर्मचारीहरू आफ्नै ठाउँतिर लागे सरकारले समयमै कर्मचारी पठाउन सकेको छैन । यो समय योजना सम्पन्न र आर्थिक कारोबारको भएकाले निमित्त प्रमुख प्रशासकीय अधिकृतलाई आर्थिक कारोबारको जिम्मा नदिँदा यस्तो समस्या आएको हो ।
बझाङको दुर्गाथली, खप्तड छान्ना, बित्थडचिर, साइपाल र केदारस्युँ गाउँपालिकामा हाल नायब सुब्बाले प्रमुख प्रशासकीय अधिकृतको रूपमा काम गर्दै आएका छन् । लामो समयदेखि प्रमुख प्रशासकीय अधिकृत नहुँदा योजनाको भुक्तानी लिन समस्या हुने गरेको साइपाल गाउँपालिकाका गणेश बोहराको भनाइ छ । उनले भने, “योजना सम्पन्न भयो । आर्थिक कारोबारका लागि गाँउपालिका कार्यालयमा जाँदा प्रमुख प्रशासकीय अधिकृत नभएका कारण भुक्तानी दिन नसकिने भनेपछि रित्तै हात घर फर्कनु परेको छ । प्रमुख प्रशासकीय अधिकृत अशोक नेपाली सरुवा भएर गएपछि निमित्त प्रमुख राधाकृष्ण जोशीलाई जिम्मेवारी दिए पनि आर्थिक कारोबारको जिम्मा नदिँदा भुक्तानी लिनसमेत समस्या भएको हो ।