अनिश शर्मा गैरे
सोमवार, बैशाख ३०, २०७६
199

विगतमा निकै चहलपहल हुने जिल्ला सदरमुकाम संघीयता पछि सुनसान बनेको छ । संघीयतामा भएको विकेन्द्रकीरणले गाउँमा भने चहलपहल बढेको छ । तर सदरमुकाममा बस्नेले निराशा व्यक्त गर्न थालेका छन् । गुल्मीको तम्घास पनि सुनसान बन्न पुगेको छ भने गाउँहरू गुल्जार हुन थालेका छन् ।
विगतमा गाउँ विकास समितिका सबैजसो सचिव सदरमुकाममै बस्थे अहिले उनीहरू वडामा पुगेका छन् । अधिकार पनि स्थानीय तहमा पुग्दा गाउँको गुल्जार बढ्न थालेको हो ।

विकासका सपना मात्रै
सदरमुकाम तम्घास चम्कने प्रमुख आधार रेसुंगा र रेसुंगा विमानस्थल हो । तर दुवैको विकास ओढारको केतुकीजस्तै भएको छ । न झर्ने न फैलने । धार्मिक क्षेत्र रेसुंगामा परम्परागत र आधुनिक दुई खाले विचारको लडाइँ छ । केबलकार लैजाने भन्ने योजना पनि यत्तिकै सेलायो । रेसुंगा क्षेत्रमा रहेका विभिन्न धार्मिक तथा ऐतिहासिक वस्तुस्थितिलाई समुचित प्रयोग गर्न सकिने हो भने आन्तरिक र बाह्य दुवैखाले पर्यटक भित्रयाउन सकिन्छ । तर ती सम्भावनाको यथोचित प्रयोग भने हुन सकिरहेको छैन । जसले गर्दा तम्घास सुनसान छ ।
वर्षौंदेखि नेताहरूको चुनावी नारा रेसुंगा एयरपोर्ट पनि परीक्षण उडानमै सीमित छ । जसका कारण व्यवसायी र अन्य नागरिकमा निराशा पलाएको रेसुंगा नगरपालिका–८ का कृष्णप्रसाद भण्डारीले बताए । अहिलेसम्म २५ जनालाई व्यवस्थित तवरमा राख्ने होटल छैन । ५० शैयाको तम्घास अस्पताल जीर्ण छ । ९० प्रतिशत सरकारी डाक्टरको दरबन्दी रिक्त छ । राम्रो प्राविधिक शिक्षा तम्घासमा छैन । पटौती–खज्र्याङ–तम्घास सडक तम्घासको भविष्य हो । तर त्यो सडकको काम पनि सन्तोषजनक छैन । “मान्छेमा वितृष्णा पैदा हुँदै गएको छ, सम्भावना र आकर्षण अधुरा रहे,” उनले भने, “यो विषयमा नगरपालिका र नेतृत्वले बेलैमा विचार पु¥याउनुपर्छ ।”

विद्यार्थी सार्दै अभिभावक
गण्डकी बोर्डिङ स्कुल तम्घासबाट गत शैक्षिक सत्रमा ३७ जना अभिभावकले बुटवलका लागि ट्रान्सफर मागे भने १० जना अभिभावकले छोराछोरी गाउँ फर्काएको प्रिन्सिपल श्रीराम महतले बताए । त्यस्तै अर्जुन आवासीय माविबाट पनि ३० जना अभिभावकले ट्रान्सफर लगे । धेरैले बुटवल र केहीले अन्य सहरमा बालबच्चा लगेको भाइस प्रिन्सिपल रवि विष्टले बताए । महेन्द्र नमुना माविबाट पनि ५० जना अभिभावकले बुटवलका लागि ट्रान्सफर लिए । सदरमुकामका अरु सरकारी तथा गैरसरकारी विद्यालयबाट पनि छोराछोरी लिएर विभिन्न सहर झर्ने अभिभावक धेरै छन् । बसाइँ सराइ बढ्दो क्रममा छ । सम्भावनाको खोजी नहुँदा स्थानीय ठाउँ छोड्ने अभियानमै छन् ।

सुस्त व्यवसाय, १५ होटल बन्द
तम्घासको मुटु मानिएको लाकुरी मञ्च प्रशासनिक होस् या अन्य हिसाबले निकै चाप हुन्थ्यो । तर, हिजोआज सुनसानजस्तै छ । लाकुरी मञ्चमात्रै होइन अहिले तम्घास बजारमा विभिन्न स्थानबाट आउने सर्वसाधारणको चापसमेत घटिसकेको छ ।
लाकुरी मञ्चमा जिल्ला विकास समितिको कार्यालय रहेकाले सेवाग्राही केही न केही काम लिएर आउने गर्थे । सामान्य गाउँका योजना होस् या अन्य कार्यक्रमका लागि जिल्ला विकास समिति धाउनेको चाप नै हुन्थ्यो ।
तर, अहिले सबै अधिकार गाउँमा पुगेपछि सदरमुकाम तम्घास नै सुनसान बन्न थालेको छ । यसको असर तम्घासका व्यवसायीलाई परेको छ । बजारमै चहलपहल घटेपछि स्थानीय पनि चिन्तित छन् ।
जिल्ला तहको अधिकार गाउँमा पुगेपछि जिल्ला सदरमुकामा रहेका १५ वटा होटल बन्द भएको होटल व्यवसायी मञ्च गुल्मीका अध्यक्ष भेषराज कँडेलले बताए । उनले निर्वाहमुखी रूपमा सञ्चालन भएका तम्घासका १५ बढी होटल बन्द भएको बताए ।
“अहिले केही होटल बन्द हुँदा केही हदसम्म व्यापारमा सन्तुलनमात्रै रहेको छ,” अध्यक्ष कंडेलले भने, “सबैले चाहे तत्कालै आतिनु पर्ने अवस्था छैन सम्भावना धेरै छ ।” जिल्ला सदरमुकाममा हुने कामहरु १२ वटा स्थानीय तहमा विभाजित हुँदा चलहपहल घटेको हो भन्दै उनले भने, “सदरमुकामलाई चहलपहल बनाउन भौतिक पूर्वाधार निर्माण हुनुपर्छ ।”
अन्य व्यवसायमा पनि त्यस्तै हालत छ । गाउँले हेयर कटिङका प्रोपाइटर संकुज अविरलले कपाल काट्न लाएको सात वर्ष बिते । उनले दैनिक ३०÷४० जनासम्मको कपाल काट्थे । अहिले मुस्किलले १०÷१२ जना पुग्छन् । “व्यापार २५ प्रतिशतमा झ¥यो, विद्यार्थी आएकै कारण भाडा तिरेका छौं,” उनले भने, “यो विषयमा कोही गम्भीर छैनन् ।” होटल व्यवसायी मञ्चका अध्यक्ष भेषराज कँडेलले रेसुंगा क्षेत्रमा केबलकार र, रेसुंगा विमानस्थल सञ्चालन भएमात्रै पनि व्यवसायमा धेरै फरक पर्ने बताए । सिर्जना होटलका सञ्चालक ढालबहादुर कँुवरले पछिल्लो समय भाडा तिर्न मुस्किल परेकाले बन्द गर्ने अवस्था आएको बताए । उनले गाउँका सडकको स्तरोन्नतिले चाड पर्व वा अन्य समयमा पनि धेरै जना व्यक्तिगत गाडीमा सिधै गाउँ पुग्ने गरेको बताए ।

जग्गा कारोबारमा कमी
स्थानीय तह गठनपछि नागरिकमा सदरमुकामप्रतिको आकर्षण पनि घट्दै गएको छ । त्यसैले घरजग्गा कारोबारमा पनि सुस्तता छाएको छ । एकाएक वृद्धि भएको जग्गाको कारोबार अहिले खस्किएको बैंक तथा वित्तीय संस्था प्रमुखहरू बताउँछन् । एक बैंकका शाखा प्रमुखका अनुसार अहिले बैंकमा जग्गा धितो राखेर ऋण लिने ४० प्रतिशतभन्दा बढीले घटेको छ । पहिले महिनामा पाँचदेखि सातजनालाई ऋण प्रवाह गर्ने गरे पनि अहिले मुस्किलले दुईजना पुग्ने उनले बताए । त्यसैमाथि जग्गाको मूल्य पनि खस्कँदै गएको छ । त्यस्तै जिल्ला मालपोत कार्यालयका प्रमुख खुपबहादुर खत्रीले समग्रमा तम्घासको जग्गा कारोबार कम रहेको बताए । जग्गा रजिष्ट्रेसन पास गर्नेको संख्या पनि कम हुँदै गएको तथा तम्घासबाट बसाइँ सराइ गरेर जाने क्रम पनि बढ्न थालेको छ ।

सडकले बिर्सायो सदरमुकाम मोह
यतिबेला गाउँगाउँमा सडक सञ्जाल पुगेका छन् । जिल्ला भित्रिएका सडक सञ्जालले पनि तम्घास बिर्साएको छ । पहिले पनि कालिगण्डकी, चन्द्रकोट, सत्यवती, रुरु, छत्रकोट गाउँपालिका र मुसिकोट नगरपालिकाका ९० प्रतिशत नागरिक तम्घास आउँदैनथ्ये । व्यापार व्यवसायका दृष्टिले उनीहरूको सिधा सम्पर्क रिडी, पाल्पा र बुटवल, काठमाडांै छ । त्योबाहेक मदाने गाउँपालिकाका धेरै नागरिक पनि अर्घाखाँचीसँगै बुटवल पुग्छन् । छिमेकी जिल्लाको छत्रदेव गाउँपालिकाको भगवतीबाहेक धेरै स्थानका नागरिक तम्घास आउँदैनन् । खनदहबाट सालझण्डी–ढोरपाटन सडक नजिक पर्छ । त्यो सडकले अर्घाखाँचीसहित गुल्मीका मदाने र मालिकाका नागरिकलाई तम्घासभन्दा अर्घाखाँची र बुटवलनजिक बनाएको मदाने गाउँपालिका–७ की विमला भट्टराईले बताइन् । रिडी–रुद्रवेणी–वामीटक्सार सडक कालोपत्रे हुँदैछ । सिमलटारी–पनाहहुँदै इन्द्रेगौंडा सडकको स्तरोन्नतिसहित कालोपत्रेको काम सुरु भएको छ । यो सडक हुँदै इस्मा र धुर्कोट गाउँपालिकाका नागरिकलाई सिधै बुटवल पुग्न छिटो र सजिलो हुने इस्मा गाउँपालिका–२ का रामप्रसाद घिमिरेले बताए । जसले गर्दा सदरमुकामतर्फ स्थानीयको आकर्षण कम छ ।

सातामा धेरै पढिएको