अमरराज आचार्य
शनिवार, बैशाख २८, २०७६
428

यस वर्ष घोराही उपमहानगरपालिका–७ मा रहेको जनभावना सामुदायिक वन क्षेत्रमा आगलागी भयो ।
५० हेक्टर बढी जंगलमा आगलागी हुँदा वनमा स–साना बिरुवा जलेर नष्ट भएका छन् । वनको दक्षिण भागबाट सल्किएको आगो वन समूहअन्तर्गत बनेको डढेलो नियन्त्रण समितिको पहलमा नियन्त्रणमा आएको वन समूहका सदस्य तथा वन सहजकर्ता रोबरबहादुर केसीले बताए । उनका अनुसार उक्त वनमा हरेक वर्ष आगलागी हुने गरेको छ । ६ सय ३५ हेक्टर क्षेत्रफल रहेको उक्त वनमा गत वर्ष आधा बढी वनमा डढेलो लागेको थियो ।

उपभोक्ताहरू सचेत नहँुदा बर्सेनि जंगलमा आगो लाग्ने गरेको बताइएको छ । “टाढाको वन रहेकाले उपभोक्तालाई बचाउन समस्या हुने गरेको छ,”
केसीले भने । बर्सेनि जंगलमा आगो लाग्ने गरेका कारण विरुवादेखि चरा तथा वन्यजस्तुलाई समेत समस्या पर्ने गरेको उनले बताए । अग्नी नियन्त्रणका लागि तालिम लिएर समिति बने पनि नियन्त्रण गर्न नसकेको केसीको भनाइ छ ।
त्यस्तै वैशाख १ गते घोराही उपमहानगरपालिका–५ धर्नामा रहेको
पाण्डवेश्वरी सामुदायिक वनमा आगलागी भएको थियो । आगलागीका कारण करिब २५ हेक्टर जंगलमा रहेका स–साना विरुवा नोक्सान हुनुका साथै जंगली
जनावरलाई समेत समस्या भएको वन डिभिजन कार्यालयले जनाएको छ । उक्त वनमा लागेको आगो वन समूहका मानिस र प्रहरीको सहयोगमा नियन्त्रण लिइएको
थियो ।
यी दुई उदाहरण भए पनि पछिल्लो समय जिल्लाका अधिकांश वनमा
आगलागीका घट्ना बढ्दै गएका छन् । गर्मी सिजन सुरु भएसँगै जिल्लाका विभिन्न
सामुदायिक तथा राष्ट्रिय वनमा डढेलो लागिरहेको छ । विशेष गरेर चुरे
क्षेत्रका अधिकांश वनमा आगो लागेको छ । महाभारतका वनमा समेत आगलागी भएको छ । आगलागीको कारण धेरै धनजनको क्षति, साना बोटविरुवा र जंगली प्रजातिका वन्यजन्तु लोप भइरहेका छन् । वन समूहकै सदस्यबाट जंगलमा आफै डढेलो लगाउने, आगो लागेको देखे पनि
नियन्त्रणमा सक्रियता नदेखाउनेलगायतका कारण जिल्लामा बर्सेनि डढेलोबाट ठूलो क्षति हुने गरेको छ । डिभिजन वन कार्यालय दाङका अनुसार दुई महिनाको अवधिमा जिल्लामा सात सय बढी जंगलमा डढेलो लागेको छ । गत चैत महिनादेखि हालसम्म जिल्लाका २६ सामुदायिक वनको सात सय ८.५ हेक्टर वनमा डढेलो लागेको कार्यालयका सूचना अधिकारी खिमबहादुर केसीले बताए । उनका अनुसार सबैभन्दा धेरै यो वर्ष घोराही उपमहानगरपालिका–४ मा रहेको पालुथान सामुदायिक वनमा क्षति भएको छ । उनका अनुसार पालुथानमा यो वर्ष एक सय ५० हेक्टर जंगलमा डढेलो लागेको छ । त्यस्तै सुनपुर सामुदायिक वनको १ सय हेक्टर, सरस्वती सामुदायिक वनको १ सय हेक्टर, सरजू सामुदायिक वनको ५५ हेक्टरमा डढेलो लागेको छ ।
यो वर्ष रामपुर क्षेत्रको सरयू सामुदायिक वन, पाण्डवेश्वरी, जनसेवा, धारापानी, मन्दिरको धार्मिक वन, धर्नाको जनभावना सामुदायिक वन, गौरी सामुदायिक वन क्षेत्रलगायतका सामुदायिक तथा राष्ट्रिय वनमा आगलागी भएको वन डिभिजन कार्यालय घोराहीका सूचना अधिकारी केसीले बताए । आगलागीका कारण जंगलमा बोटबिरुवासँगै वन्यजन्तुलाई समेत संकटमा पार्ने डिभिजन कार्यालयले जनाएको छ । चालू आव ०७५÷७६ का लागि सचेतना कार्यक्रम र सामग्री वितरणमा ५ लाख रुपैयाँ बजेट खर्च गर्न थालेको सूचना अधिकृत केसीले बताए ।