कारोबार संवाददाता
बिहिवार, बैशाख २६, २०७६
375

जिल्ला सदरमुकाम र स्थानीय तहबाट पाउने सेवा गाउँमै पाउँदा स्थानीय खुसी भएका छन् । १५ वर्षदेखि शारीरिक अपांगताले विस्तारामा नै दिसापिसाब गर्ने तीन छोराछोरीको अपांग परिचयपत्र बनाउन सदरमुकाम जान नसक्दा सामाजिक सुरक्षाबाट वञ्चित भएका मालारानी गाउँपालिका–९ सेपानेका लिलबहादुर पुनले गाउँमै छोराछोरीको परिचयपत्र पाउँदा खुसी भएका छन् । 
“छोराछोरीले भत्ता पाउने भन्ने सुनेको थिएँ, तर कार्ड नभएपछि पाउने रहेनछ । केही दिन पहिले पालिकाको उपाध्यक्ष घरमै आएर परिचयपत्र बनाइदिने बताउनु भएको थियो । अहिले तीनजनाकै क वर्गको कार्ड बन्यो अत्यन्तै खुसी लागेको छ । गरिबको पनि गाउँपालिकाले कुरा सुन्यो पुनका १५ वर्षका छोरा इन्द्रबहादुर पुनका ९ वर्षका छोरा हुमबहादुर पुन र १३ वर्षकी छोरी निमा पुन हिँड्न डुल्नका लागि सहारा चाहिने अवस्थाका छन् ।

सरकारले अरुको सहारामा बाँच्नुपर्ने व्यक्तिका लागि सामाजिक सुरक्षा भत्ताअन्तर्गत मासिक २ हजार भत्ता उपलब्ध गराउने भए पनि उनीहरूले पाउन सकेका थिएनन् । पछिल्लो समय मालारानी गाउँपालिकाले अपांग परिचयपत्र वितरणका लागि कार्यविधि बनाएर अहिले गाउँमै पुगेर परिचयपत्र वितरण गरेको पालिका उपाध्यक्ष प्रमिला क्षेत्रीले बताइन् ।
“केही समय पहिले कार्यक्रममा हिँड्दा मालारानी–९ को सेपानेमा एकै घरका तीनजना घरमा पल्टेको देखें । घरम गएर सोधपुछ गर्दा शारीरिक र मानसिक रूपमा अपांग भएर पल्टेको देखें परिचयपत्र पनि बनेको रहेनछ । त्यसपछि हामीले कार्यविधि बनाएर परिचयपत्र वितरण गरेका छांै ।”
पालिकाले मालारानी–६ मा ३१ जनालाई अपांंग परिचयपत्र वितरण गरेको छ । जसमा क वर्गको परिचयपत्र पाउने ६ जना छन् । ख वर्गका ७ जना, ग वर्गका ३ जना र घ वर्गका १५ जना छन् । पालिका भर अपांग भएका व्यक्तिको पहिचान गर्नका लागि पालिकास्तरीय अपांग सञ्जाल निर्माण गरेको पालिकाका अध्यक्ष बालकृष्ण आचार्यले बताए ।
“हामीले हाम्रो पालिकाभर अपांगको अवस्था बुझी परिचयपत्र पाए नपाएको खोजी गर्नका लागि सञ्जाल गठन गरेर काम गरिरहेका छौं । अब सबै वडामा पुगेर परिचयपत्र वितरण गर्नेछौं ।” पछिल्लो समय जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीले स्थानीय तहसँगको समन्वयमा एकीकृत घुम्ती सिविर सञ्चालन गरेपछि ग्रामीण क्षेत्रका स्थानीयले सिहंदरबारको अधिकार गाउँमा आएको अनुभूति गरेका छन् । सेवा लिन सदरमुकाम जान नसक्नेलाई गाउँमै पुगेर सेवा दिन उक्त अभियान सञ्चालन गरिएको प्रमुख जिल्ला अधिकारी प्रेम लामिछानेले बताए ।