दीननाथ बराल
मंगलबार, बैशाख २४, २०७६
575

पोखरा महानगरपालिकाले वहाल कर वापतको करोडौं राजस्व उठाउन सकेको छैन । आन्तरिक संयन्त्रलाई चुस्तदुरुस्त पारेर विद्यमान घरवहाल करसम्बन्धी नियमलाई पूर्णरूपमा कार्यान्वयन गर्न नसक्दा पोखरा महानगरपालिकाले करोडौंको राजस्व गुमाउनु परेको हो ।
महानगरमा कुनै व्यवसाय सञ्चालन गर्नु पर्दा अर्कोको भवनमा वा कोठामा भाडामा लिँदा व्यवसायीले भाडा शुल्क वापत १० प्रतिशत कर स्थानीय सरकारलाई तिर्नुपर्ने हुन्छ । पोखरा महानगरपालिकामा हालसम्म घर, कोठा तथा सटर भाडामा लिएर कति जनाले व्यवसाय सञ्चालन गरेका छन् भन्ने तथ्यांकसमेत महानगरसँग छैन ।

गण्डकी प्रदेशको राजधानीको रूपमा रहेको पोखरामा हाल ३३ वटा वडा छन् । महानगरले वहाल कर उठाउने व्यवस्था सवै वडाबाट गरेको छ । तर पनि आशातित रूपमा कर संकलन हुन नसकेको विज्ञहरू बताउँछन् । यसो त विगतका वर्षको तुलनामा घर वहाल वापतको कर संकलनमा भारी बृद्धि भएको पाइन्छ । महानगरले समय समयमा सार्वजनिक सूचना जारी गरी व्यवसाय दर्ता गर्न आह्वान गर्दै आएको छ । तर पनि महानगरकै तथ्याङ्कअनुसार हालसम्म पोखरा महानगरमा ३० हजार ९ सय १४ वटा साना–ठूला व्यवसायी रहेका छन् । उतिकै संख्यामा व्यवसायीहरू विना दर्ता सञ्चालनमा रहेका छन् । पोखराका मुख्य बजार क्षेत्रमा करिब ८० प्रतिशत जसो घर भाडामा दिने वा लिने गरेको पाइन्छ ।
पोखरामा कति घर छन् र कति घर भाडामा लगाइएको छ भन्ने तथ्यांक महानगरपालिकासँग छैन । महानगरले आर्थिक वर्ष २०७३÷७४ मा ३८ लाख ४६ हजार मात्र वहाल कर संकलन गरेको थियो । त्यसैगरी आर्थिक वर्ष २०७४÷७५ मा ५१ लाख ४० हजार घर वहाल कर वापत राजस्व संकलन भएको थियो । चालू आर्थिक वर्ष २०७५÷७६ को वैशाख १२ गतेसम्म घर वहाल करमा भारी बृद्धि भएको छ । चालू आर्थिक वर्षको वैशाख १२ गतेसम्म ३ करोड ४६ लाख वहाल करवापतको राजस्व संकलन भएको महानगरका कर अधिकृत शिवहरी शर्माले बताए । उनका अनुसार अझै पनि पोखरामा घरवहाल करबाट करोडौं रूपैयाँ संकलन हुन सकेको छैन् । “कुनै व्यवसाय गरेका अधिकांश व्यक्तिले आफ्नो घरवहाल कर तिर्ने गरेका छन्, तर केही व्यवसायी दर्ता प्रक्रियामा आएका छैनन्,” उनले भने । २०५५ सालदेखि २ प्रतिशत वहाल कर संकलन गरेको महानगरले २०७४ वैशाखदेखि असार मसान्तरसम्म तीन महिनामा १२ प्रतिशत वहाल कर संकलन गरेको थियो भने २०७५ साउनदेखि १० प्रतिशत वहाल कर संकलन गर्न थालेको कर अधिकृत शर्माले बताए ।
नगरपरिषद्ले १२ प्रतिशतलाई घटाएर १० प्रतिशत लागू गर्ने निर्णय बमोजिम चालू आर्थिक वर्षको साउनदेखि १० प्रतिशत वहाल कर संकलन गर्न सुरु गरिएको उनले जनाए । वहाल कर मासिक बुझाए पनि हुन्छ भने बार्षिक रूपमा बुझाए पछि हुन्छ । व्यवसायीको दर्ता तथा नवीकरण शुल्कबाट आर्थिक वर्ष २०७३÷७४ मा १ करोड ६८ लाख राजस्व संकलन भएको थियो भने २०७४÷७५ मा ३ करोड ६७ लाख राजस्व संकलन भएको कर अधिकृत शर्माले बताए । त्यसैगरी चालू आर्थिक वर्ष २०७५÷७६ को वैशाख १२ गतेसम्म ४ करोड ४४ लाख राजस्व संकलन भएको महानगरले जनाएको छ । यदि कसैले झुठा विवरण पेश गरेको पुष्टि भएमा कर छलीको आरोपमा कारबाही हुने कर अधिकृत शर्माले जनाए । करिब ५० प्रतिशत जसो व्यवसायी दर्ता बाहिर हुँदा उक्त रकम बराबरको कर छली भएको छ भने उतिकै रूपमा पनि वहाल करमा छली भएको छ ।
नेपाल राष्ट्रिय घर भाडा सरोकार समितिका महासचिव कमलप्रसाद न्यौपानेले घरधनीहरूले विना कारण घर भाडा बढाउने र राज्यले यसमा कुनै मूल्य निर्धारण गर्न नसक्दा घरधनीको मनोमानी घर भाडामा बस्नेहरूसँग रकम असुल्ने गरेको बताए । पोखराको मुख्य बजार क्षेत्रमा करिब ८० प्रतिशत जसो व्यवसाय प्रयोजनका लागि घर भाडामा लगाइएको महासचिव न्यौपानले बताए ।
अर्थशास्त्री लेखनाथ भट्टराईले वहाल करमा प्रभावकारी ढंगले राजस्व संकलन गर्न नसक्दा करोडौंको राजस्व गुमेको दाबी गरे । “व्यवसायीले नक्कली सम्झौता गरेर महानगरलाई न्यून शुल्क तिर्छन्, तर घरधनीलाई लाखौंको भाडा तिर्ने गर्छन्, यसलाई महानगरले नियमन गर्न सके १० गुणा बढी राजस्व वृद्धि हुन्छ,” उनले भने, “प्रायः ठूला व्यवसायीले महानगरलाई लाखौं कर छली गर्ने गरेका छन् । महानगरले यसको सही तथ्यांक संकलन गरेर अनुगमन गर्न सके राजस्वमा भारी वृद्धि हुने उनको भनाइ छ ।