कारोबार संवाददाता
शुक्रवार, बैशाख २०, २०७६
529

राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्ष अनुपराज शर्माले संविधानमा भएका सुन्दर पक्षहरूको कार्यान्वयन गर्नु नै आजको सबैभन्दा ठूलो चुनौती रहेको बताएका छन् । फ्रिडम फोरमले २६ औँ अन्तर्राष्ट्रिय प्रेस स्वतन्त्रता दिवसका अवसरमा आयोजना गरेको ‘प्रेस स्वतन्त्रताको चुनौती र दण्डहीनताको निरन्तरता’ विषयक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले स्वरुपमा मुलुक सङ्घीयतामा गएको तर मानसिकता केन्द्रिकृत हुनाले संविधानका महत्वपूर्ण र सुन्दर पक्षहरू कार्यान्वयनमा जटिलता उपन्न भएको बताए ।
उनले नेपालमा बाहिरबाट हेर्दा प्रेस स्वतन्त्र रहेक भए पनि सञ्चारगृहमा काम गर्ने पत्रकारमाथि अझै खतरा रहेको उल्लेख गरे । प्रेस भनेको मानवअधिकारकर्मी पनि भएको बताउँदै उनले आयोग प्रेस जगतसँग मिलेर मानवअधिकारको रक्षाका लागि उभिने बताए । राष्ट्रिय मानवअधिकार आयोग ऐन संशोधनको चरणमा रहेको बताउँदै उनले अहिलेकै अवस्थामा ऐन पारित भए आयोगको संवैधानिक अधिकार कुण्ठित हुने बताए ।

राष्ट्रिय जनता पार्टीका नेता वृजेशचन्द्र लालले भाषणमा लोकतन्त्रका कुरा गर्ने तर व्यवहारमा स्वतन्त्र प्रेसलाई कुण्ठित गर्ने प्रवृत्ति बढाउँदै लैजानाले प्रेस स्वतन्त्रता सङ्कटमा गर्दै गएको बताए । आफ्नो पार्टी पूर्ण प्रेस स्वतन्त्रताप्रति पूर्ण प्रतिबद्ध रहेको बताउँदै उनले स्वतन्त्र विचारलाई सम्मान गर्ने परिपार्टी नबनेसम्म स्वतन्त्र प्रेसको कुरा गर्नु व्यर्थ हुने तर्क गरे ।
विवेकशील नेपाली दलका संयोजक उज्ज्वल थापाले वर्तमान सरकार आफैँले सूचना लुकाएर प्रेसमाथि अङ्कुश लगाउन खोजेको आरोप लगाए । नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्यले सशस्त्र द्वन्द्वकालमा मारिएका पत्रकारका हत्यारालाई कारबाही नहुँदा मुलुकमा दण्डहीनता बढेर गएको बताए ।
सो अवसरमा फ्रिडम फोरमले विगत एक वर्ष (सन् २०१८ मे देखि २०१९ अप्रिलसम्म) मा प्रेस स्वतन्त्रता उल्लङ्घनका घटनाबारेको तयार पारिएको वार्षिक मिडिया प्रतिवेदन सार्वजनिक गरिएको थियो । फ्रिडम फोरमका प्रमुख कार्यकारी तारानाथ दाहालले गत वर्ष प्रेस स्वतन्त्रताको अवस्था चुनौतीपूर्ण रहेको जानकारी दिए ।