नेगम परियार
बिहिवार, बैशाख १९, २०७६
823

मनाङमा वैशाख दोस्रो हप्ताबाट यार्सागुम्बा टिप्नको लागि सिजन सुरु भएको छ । जिल्लाका विभिन्न लेकहरूमा यार्सागुम्बा टिप्ने सिजन सुरु भएपछि स्थानीय तथा बाहिरी जिल्लाका मानिसहरू यार्सागुम्बा टिप्न मनाङ आउन थालेका छन् ।
जिल्लाको विभिन्नलेकमध्ये राम्रो यार्सागुम्बा पाउने नाम्के लेकमा यस वर्षकै पहिलो सिजनमा यार्सागुम्बा टिप्नको लागि पुर्जी जारी गरी यार्सागुम्बा टिप्ने क्रम सुरु भएको छ । यस वर्ष पहिलोपटक अन्नपूर्ण संरक्षण क्षेत्र व्यवस्थापन समितिले ताचै जगरछाप र नार गाउँमा पर्ने नम्के खर्कमा यार्सागुम्बा संकलनको लागि पुर्जी सोमबारबाट जारी हुने गरी खुला गरेको अन्नपूर्ण संरक्षण क्षेत्र व्यवस्थापन समिति मनाङका कार्यालय प्रमुख बाबुलाल तिरुवाले जानकारी दिए ।

वैशाख १६ गतेबाट पुर्जी काटेर नाम्केलेकमा यार्सागुम्बा टिप्नको लागि कतिपय हिँडिसकेको र कतिपय जाने क्रममा रहेको उक्त खर्कमा यार्सा संकलनको लागि टेन्डर पाएका मेघबहादुर विश्वकर्माले बताए । यस वर्ष पहिलोपटक यार्सागुम्बा संकलनको लागि पुर्जी खुला गरिएको नाम्के लेकमा यार्सागुम्बा टिप्नको लागि ३६ लाख २० हजार रुपैयाँमा ठेक्का पाएको बिकले बताए ।
मनाङको उत्तरी क्षेत्रमा पर्ने नाम्के लेक पुग्न सदरमुकाम चामेबाट एक दिन पूरै लाग्ने र यस लेकको उचाई ४३०० मिटर रहेको उनी बताउँछन् । सदरमुकामबाट यस लेकको दूरी १३ किलोमिटर रहेको छ । वैशाख १६ मा नै पुर्जी काटी यार्सागुम्बा टिप्नको लागि तयारी अवस्थामा रहेका गोरखा घ्याल्चोक ७ घर भइ हाल यार्सागुम्बा टिप्न आएका मान बहादुर गुरुङले भने, “यस वर्ष फेरि यार्सागुम्बा संकलनको लागि आएको छु, मलगायत गाउँबाट अरु साथीहरू पनि आएका छन् ।” बिहीबार बिहानै लेकतर्फ जाने उनीहरुको योजना भएको उनले बताए । गुरुङले भने, “सवै आवश्यक सामान खरिद गरिसकेका छौं, अब भोलि बिहानै यात्रामा निस्कने योजना छ ।” गुरुङजस्तै अन्य संकलक पनि पुर्जी लिइ नाम्के लेकमा यार्सागुम्बा टिप्न जाने क्रममा छन् ।
यसपटक भारी हिउँ परेकोले अलि ढिला यार्सागुम्बा संकलनको लागि पुर्जी खुला गरिएको ठेकेदार विश्वकर्माले बताए । यस वर्ष नाम्के लेकमा यार्सा खोज्न जानेहरूका लागि विभिन्न दरभाउसमेत लगाइएको उनले बताए ।
लक्षित क्षेत्र रहेको स्थानका स्थानीयहरूलाई ३ हजार, जिल्लाभित्रका स्थानीयलाई ४ हजार ५ सय रुपैयाँ र जिल्लाबाहिरकालाई १० हजार रुपैयाँका दरले दस्तुर लगाइएको ठेकेदार विश्वकर्माले जानकारी दिए । मनाङमा यार्सागुम्बा खोज्नका लागि जिल्लाभित्रबाट भन्दा पनि गोरखा, धादिङ, लमजुङलगायत अन्य जिल्लाबाट आउने गरेको विश्वकर्माको भनाइ छ ।
पुर्जी खुला गरिएको २ दिनमै तीन सयभन्दा बढीको पुर्जी बिक्री भइसकेको र उनीहरू यार्सागुम्बा टिप्नका लागि खर्कतिर लागिसकेका छन । यस वर्ष ६ सयलाई मात्र अनुमति प्रदान गरिने योजना छ । मनाङका प्रहरी नायव उपरिक्षक खडक बहादुर खत्रीका अनुसार नाका तथा चेकपोष्ट र यार्सागुम्बा खोज्नको लागि जाने नाकाहरूमा कडाइ गरिएको खत्रीले बताए ।
मनाङमा १३ वटा गाउँमा ३६ भन्दा बढी यार्सागुम्बा पाइने खर्कहरू तोकिएका छन् ।