कारोबार संवाददाता
बुधवार, बैशाख १८, २०७६
695

सरकारले मुलुकमा शान्तिसुरक्षा र अमनचयन कायम भएको दावी गरिरहे पनि नेपाल निर्माण व्यवसायी महासंघले भने कमजोर सुरक्षा व्यवस्थाका कारण निर्माण व्यवसायीहरू पेशाबाटै पलायन हुनुपर्ने खतरा बढेको जनाएको छ । निर्माण व्यवसायीहरूलाई लक्षित गरी केही समयदेखि निरन्तर धम्कीपूर्ण फोनहरू आइरहेको भन्दै उनीहरूले मुलुकमा काम गर्ने वातावरण नरहेको बताएका हुन् ।
मंगलवार महासंघ सचिवालयमा पत्रकार सम्मेलन गर्दै अध्यक्ष रवि सिंहले राज्य संयन्त्र कमजोर भएका कारण व्यवसायीहरू ठूलो मारमा परेको बताए । “निर्माण व्यवसायीहरूलाई निरन्तर आइरहेको धम्कीका विषयमा सम्बन्धित निकायहरूलाई समयमै जानकारी गराउँदासमेत कुनै सुनुवाई भएन,” अध्यक्ष सिंहले भने ।

लगातारको धाकधम्कीका कारण निर्माण व्यवसायीसँगै उनीहरूका परिवार, कार्यालयका कर्मचारीसमेत ठूलो त्रासमा बाँच्नु परेको पनि अध्यक्ष सिंहले बताए । महासंघका पूर्वअध्यक्ष, कार्यसमितिका सल्लाहकार, पदाधिकारीलगायत अन्य निर्माण व्यवसायी सदस्यहरू गरी करिव २५ जनालाई विगत केही समयदेखि मोबाइलमा धम्कीपूर्ण भाषा प्रयोग गरी फोन आउने गरेको उनले जानकारी दिए ।
महासंघका वरिष्ठ उपाध्यक्ष निकोलास पोण्डेले धम्कीपूर्ण फोनबाट त्रासपूर्ण वातावरण सिर्जना भइ निर्माण व्यवसायीहरू आफ्नो साइट समेत सञ्चालन गर्न नसक्ने अवस्था रहेको बताए । महासंघका सल्लाहकार तथा पूर्वअध्यक्ष जयराम लामिछानेले मुलुकमा सरकार छ भन्ने प्रत्याभूति व्यवसायीहरूले गर्न नपाएको गुनासो गरे । “निर्माण व्यवसायीको सुरक्षामा नै प्रश्नचिह्न उठेकाले अब विकासका कार्य ठप्प हुन सक्छ,” लामिछानेले भने । शान्ति सुरक्षाकोे अभावसँगै निर्माण व्यवसायीहरूको ठूलो रकम सरोकारवाला निकायबाट अझै भुक्तानी नहुँदा देशभरका व्यवसायीहरू ठूलो आर्थिक मारमा परेको महासंघका महासचिव रोशन दाहालले जानकारी दिए । भुक्तानीको समस्या सम्बोधन गरिदिन सम्बन्धित सरकारी निकायहरूको पटकपटक ध्यानाकर्षण गराउँदा समेत कुनै सुनुवाई नभएको महासंघले जनाएको छ ।
उपभोक्ता समितिमार्फत् निर्माण कार्य गरिँदा झन् तल्लो तहबाटै मुलुकमा संस्थागत भ्रष्टाचार मौलाइरहेको र गुणस्तरमा समेत प्रभाव पारेको महासंघको विज्ञप्तिमा उल्लेख छ । यसैबीच, सार्वजनिक खरिद ऐन नियमावली तथा निर्माण व्यवसाय ऐन नियमावली संशोधनका लागि बुधवार राजधानीमा राष्ट्रिय भेला आयोजना गरिने महासंघले जनाएको छ । भेलामा देशभरका ३ सयभन्दा बढी निर्माण व्यवसायीहरूको सहभागिता रहने महासंघका प्रवक्ता टंकप्रसाद चौलागार्इंले बताए ।