कारोबार संवाददाता
शुक्रवार, बैशाख १३, २०७६
581

राष्ट्रिय पुननिर्माण प्राधिकरणका करिब चार हजार प्राविधिकहरुले सामूहिक राजीनामाको घोषणा गरेका छन् । प्राधिकरण प्राविधिक राष्ट्रिय हकहित संरक्षण समितिले बिहीबार पत्रकार सम्मेलन गर्दै यस्तो घोषणा गरेको हो ।
आफूहरुले अघि सारेका मागप्रति सरकार संवेदनशील नभएकोले बाध्य भएर सामूहिक राजीनामा दिएको समितिको ठहर छ । समितिले गत चैत ३ गतेबाट देशव्यापी चरणबद्ध आन्दोलन गर्दै आएको थियो । तर, सरकारले चरणबद्ध आन्दोलन गर्दापनि जायज मागप्रति कुनै सुनुवाई नगरेको र उल्टै आफूहरुलाई सेवा सुविधाबाट बञ्चित गराएकोले बाध्य भएर सामूहिक राजीनामा दिनु परेको समितिका अध्यक्ष अविनाश अमरले स्पष्ट पारे । उनले भने, “सरकारले हामीलाई अन्यायमा पारेका कारण हामी चरणबद्ध आन्दोलनमा थियौं । तर, धैर्यताको बाँध भत्किएकोले आजैको मितिबाट लागु हुनेगरि हामी ३२ जिल्लाका सम्पूर्ण प्राविधिकहरुले सामूहिक राजीनामा घोषणा गरेका छौं ।”
सरकारले आफूहरुको माग सुनुवाइ नगरेसम्म काममा नफर्किनेसमेत उनले स्पष्ट पारे । यसअघि चैत १२ गते नेपाल इन्जिनियर्स एशोसिएशनको मध्यस्थतामा प्राधिकरण र आफूहरुबीच सहमति भएर एक साताभित्र सबै माग पूरा गराउने प्रतिबद्धतासहित काममा फर्किएपनि सरकारले उक्त सहमति उल्लंघन गरेको पनि समितिको आरोप छ । समितिले आफूहरुले खाईपाई आएको प्रोत्साहन भत्ता, भौगोलिक भत्ता, यातायात खर्च र सञ्चार खर्च निरन्तर पाउनुपर्ने, प्रत्येक स्थानीय तहमा पुनर्निर्माण शाखा अनिवार्य रुपमा हुनुपर्ने, स्थायित्व र निरन्तरताको व्यवस्था गरिनुपर्नेलगायतका विभिन्न ५ बुँदे माग राख्दै आएको थियो ।