हरिश चन्द
बिहिवार, बैशाख १२, २०७६
297

डडेल्धुरा-धनगढीबाट बझाङ जाँदै गरेको ना ६ ख १८३१ नम्बरको यात्रुवाहक बस डडेल्धुराको साहुखर्कमा बुधबार बिहान दुर्घटना हुँदा ५ जना यात्रुको मृत्यु भएको छ भने ३४ जना घाइते भएका छन् । भिमदत्त राजमार्ग सडक खण्ड अन्तर्गत जिल्लाको गन्यापधुरा गाउँपालिका–१ साहुखर्कमा बिहान पौने पाँच बजे भएको दुर्घटनामा तीन पुरुष र दुई महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी निरीक्षक लक्ष्मण खड्काले जानकारी दिए ।
मृत्यु हुनेमा भारत कटिहारी विहारका २५ वर्षीय मोहमद नसिर, बझाङ केदारसिह गाउँपालिका ५ का २५ वर्षीय नरेन्द्र गुरुधामी, बझाङकै तल्कोटका ४५ वर्षीय धनवहादुर घर्ती, बझाङकै वागथलाकी हरुली वोहरा र केदार सिह गाउँपालिकाकी कलसी देवी गुरुधामी रहेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ ।

घाइते ३४ जना मध्ये गम्भीर घाइते चार जनालाई थप उपचारका लागि धनगढी रेफर गरिएको छ भने बाँकी घाइतेको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको छ । सडकबाट करिब १ सय ५० मिटर तल खसेको प्रहरीले प्रहरीले बताएको छ । बसमा व्यापारिक प्रयोजनका लागि सामान छतमा र भित्र पनि ग्यालरीमा राखेकाले ओभरलोड भएर दुर्घटना भएको हुन सक्ने घाइते यात्रु विनोद थापाले बताए । चालक र बस मालिकलाई बसमा बढी सामान नराख्न पटक पटक आग्रह गर्दा पनि कुनै सुनुवाइ नगरेको यात्रुको गुनासो छ ।
कैलाली खानीडाडा, फल्टुडे र डोटीको वुडरमा रहेको ट्राफिक पोष्टले पनि बसमा ओभरलोड हुँदा पनि कुनै कारवाही नगरेको समेत घाइते यात्रु थापाले बताए । “बस हो कि ट्रक हो छुट्टाउनै नसकिने अवस्थामा बसमा व्यापारिक प्रयोजनका लागि सामान राखिएको थियो,” थापाले भने । बस दुर्घटना हुनुको कारणबारे छानबिन भइरहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय डडेल्धुराका प्रमुख देवबहादुर खत्रीले बताए । सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा सञ्चालन हुने यात्रुवाहक सवारी साधन व्यापारिक प्रयोजनका लागि समान बोक्ने गरेका छन् ।