रासस
सोमवार, बैशाख ९, २०७६
261

राष्ट्रपति विद्यादेवी भण्डारीको समुपस्थितिमा प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर राणाले सर्वाेच्च अदालतका नवनियुक्त पाँच न्यायाधीशलाई पद तथा गोपनीयताको शपथ दिलाएका छन् । राष्ट्रपति भवन शीतल निवासमा आइतबार आयोजित विशेष समारोहमा शपथ लिनेमा नवनियुक्त न्यायाधीश प्रकाशकुमार ढुङ्गाना, सुष्मालता माथेमा, कुमार रेग्मी, हरिप्रसाद फुँयाल र डा. मनोजकुमार शर्मा छन् ।
उनीहरूमध्ये ढुङ्गाना र माथेमा उच्च अदालतको मुख्य न्यायाधीश हुन् भने रेग्मी, फुँयाल र शर्मा कानुन व्यवसायी हुन् । प्रधानन्यायाधीश राणाले सोही समारोहमा नवनियुक्त प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियालाई पद तथा गोपनीयताको शपथ गराए ।
राष्ट्रिय समावेशी आयोगका अध्यक्ष डा. शान्तराज सुवेदीबाट सोही समारोहमा उक्त आयोगका नवनियुक्त सदस्य विष्णुमाया ओझाले पद तथा गोपनीयताको शपथ लिएका थिए । नवनियुक्त सदस्य ओझासँग लामो समय अधिकारकर्मीका रुपमा काम गरेको अनुभव छ ।