कारोबार संवाददाता
बिहिवार, बैशाख ५, २०७६
492

वरिष्ठ पत्रकार एवं कामना न्युज पब्लिकेसनका प्रधानसम्पादक पुष्करलाल श्रेष्ठको उपचारका क्रममा बुधबार ६० वर्षको उमेरमा निधन भएको छ । उनको थापाथलीस्थित नर्भिक इन्टरनेसनल अस्पतालमा उपचारका क्रममा निधन भएको हो ।
श्रेष्ठको करीब साढे पाँच महिना अघि नाकमा समस्या भएका कारण राजधानीको वयोधा अस्पतालमा नाकको र ब्लुक्रस अस्पतालमा मिर्गौलाको पत्थरीको शल्यक्रिया गरिएको थियो । त्यस बेलासम्म उनको स्वास्थ्य स्थिति सामान्य रहे पनि मिर्गौलाको पत्थरीको शल्यक्रिया पश्चात उनमा थप समस्या देखिँदै आएको थियो ।

सन् १९५९ अगष्टमा जन्मेका श्रेष्ठ सो पब्लिकेसन्स र नेपाल मिडिया सोसाइटीका संस्थापक अध्यक्ष थिए । उनले न्यूनतम पारिश्रमिक निर्धारण समिति, राष्ट्रिय समाचार समिति (रासस), नेपाल प्रेस इन्स्टिच्युट, सम्पादक समाज नेपाल, नेपाल प्रेस क्लब, प्रेस काउन्सिल नेपालमा कार्यकारी सदस्यका रुपमा समेत योगदान दिएका थिए । श्रेष्ठले नेपालको प्रथम चलचित्र प्रतियोगिताको सल्लाहकार भई सेवा दिएका थिए ।
उनी राष्ट्रिय फुटबल खेलाडीसमेत थिए । प्रबल गोरखा दक्षिण बाहु, त्रिशक्ति पट्ट, वीरेन्द्र ऐश्वर्य सेवा पदक, प्रेस काउन्सिल अवार्डलगायतबाट सम्मानित उनी पत्रकारिताका प्रशिक्षकसमेत हथिए । श्रेष्ठको बुधबार नै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ । श्रेष्ठका श्रीमती र तीन छोरा छन् ।