कारोबार संवाददाता
बिहिवार, बैशाख ५, २०७६
584

निर्वाचन आयोगले तीनै तहको निर्वाचनका बेला कर्मचारीहरुलाई ज्वाईं पालेसरह भन्दा बढी सुविधा दिएको रहस्य खुलेको छ । गत आर्थिक वर्षको लेखा परीक्षणका क्रममा आयोगले तलबका अलावा दैनिक १ सय २१ प्रतिशत निर्वाचन भत्ता लिएका कर्मचारीलाई खाना र खाजा खर्चका नाममा जथाभावी रुपमा राज्यको ढुकुटीको रकम बाँडेको रहस्य खुलेको हो ।
महालेखा परीक्षकको कार्यालयको छपन्नौं प्रतिवेदन अनुसार स्थानीय तहको प्रदेश नम्बर दुईमा भएको तेस्रो चरणको निर्वाचनमा प्रोत्साहन भत्ता, दैनिक भ्रमण भत्ता र खाजा खाना खर्च ४ करोड ६२ लाख १० हजार वितरण गरेको आयोगले प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचनमा प्रशासनिक खर्च, वैठक भत्ता खाजा खाना भत्ता, प्रोत्साहन भत्ता, विद्युत संचार आदिमा १४ करोड २० लाख ४४ हजार रुपैयाँ बाँडेको देखिएको छ । यसअघि स्थानीय तहको निर्वाचनमा कार्यालयको ५५ औं प्रतिवेदन अनुसार निर्वाचन भत्ता ४ करोड ७८ लाख ९२ हजार वितरण गरेको आयोगले कर्मचारीलाई बैठक भत्ताका नाममा ३ करोड २४ लाख ४४ हजार तथा खाना र खाजाका नाममा २ करोड ३१ लाख ९७ हजार बाँडेको देखिएको थियो ।

त्यतिले नपुगेर आयोगले पदाधिकारी, दरबन्दी, काज तथा करारमा कार्यरत कर्मचारी र निश्चित सुरक्षाकर्मीहरुलाई निर्वाचन भत्ता, खाजा खाना खर्च, अतिरिक्त समयभत्ता, संचार सुविधा, निर्वाचन अनुगमन विशेष भत्ता, प्रोत्साहन भत्ता एवं वैठक भत्ता लगायतमा २३ करोड ७० लाख ४० हजार थप सुविधा बाँडिएको प्रतिवेदनमा उल्लेख छ । कर्मचारीलाई धक फुकाएर भत्ता बाँडिदा आयोगका आयुक्तहरु पनि लाभान्वित भएका छन् । आयोगका प्रमुख निर्वाचन आयुक्त र निर्वाचन आयुक्तहरुले १ करोड २ लाख ९४ हजार रुपैयाँ बाँडेर खाएका छन् । संवैधानिक निकायका पदाधिकारीको मासिक पारिश्रमिक तथा अन्य सुविधामा थप गर्न सक्ने र यसरी थप गर्दा नेपाल राजपत्रमा सूचना प्रकाशन गर्नुपर्ने कानुनी प्रावधान रहेको छ ।
तर, आयोगका पदाधिकारीहरुले राजपत्रमा सूचना प्रकाशन नगरी निर्वाचन भत्ता २२ लाख ८६ हजार, खाजा खाना खर्च ९ लाख ९४ हजार, सञ्चार खर्च २ लाख ३४ हजार, बैठक भत्ता ६५ लाख ४ हजार र प्रोत्साहन भत्ता २ लाख ७६ हजार बाँडिएको प्रतिवेदनमा उल्लेख छ । त्यतिले नपुगेर प्रमुख मतगणना अधिकारीले आफु संलग्न नभएको सिफ्टको १ करोड ५ लाख ९८ हजार र कर्मचारीलाई अतिरिक्त समय भत्तावापत ६९ लाख २६ हजार बाँडिएको प्रतिवेदनमा उल्लेख छ । यस्तै, प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचनमा विभिन्न कर्मचारीलाई एकै अवधिको दैनिक भ्रमण भत्ता र खाजा खाना खर्चसमेत दुबै गरी स्थानीय तह तेस्रो चरणका र प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचन गरी १८ लाख ६३ रुपैयाँ बाँडिएको देखिएको छ ।