कारोबार संवाददाता
सोमवार, बैशाख २, २०७६
528

सोलुखुम्बु-खुम्बु पासाङ ल्हामु गाउँपालिका–२ लुक्लास्थित तेञ्जिङ–हिलारी (लुक्ला) विमानस्थलमा समिट एयरको जहाज दुर्घटना हुँदा को–पाइलटसहित तीनजनाको मृत्यु भएको छ । आइतबार बिहान करिब ९ बजे मन्थलीका लागि उड्न लागेको समिट एयरको जहाज धावनमार्गबाट अनियन्त्रित भएपछि भएको दुर्घटनाबाट समिट एयरका को–पाइलट सुजित ढुंगाना र दुई प्रहरीको ज्यान गएको हो ।
समिट एयरको कलसाइन नाइन एन–एएमएच जहाज मनाङ एयरको हेलिकप्टर नाइन एन–एएलसँग ठोक्किएर दुर्घटना हुँदा विमानस्थल सुरक्षाको लागि खटिएका दोलखा घर भएका पर्यटक प्रहरी (असई) रामबहादुर खड्का, काठमाडौं महानगरपालिका–७ चाबहिलका समिट एयरका सुजित ढुंगाना र विमानस्थलमा कार्यरत प्रहरी सहायक निरीक्षक रुद्रबहादुर श्रेष्ठको ज्यान गएको हो ।

को–पाइलट ढुंगाना र पर्यटक प्रहरी खड्काको घटनास्थलमै ज्यान गएको हो भने घाइते श्रेष्ठको काठमाडौंस्थित बि एण्ड बि हस्पिटलमा उपचारको क्रममा ज्यान गएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ । दुर्घटनामा चार जना घाइते भएका छन् ।
समिट एयरका पाइलट रविनाथ रोकाय, मनाङ एयरका पाइलट चेतबहादुर गुरुङ, मनाङ एयरका लुक्ला इन्चार्ज लाक्पाछिरी शेर्पा र कामदार स्याङ्बुचे कार्की घाइते भएका हुन् । काठमाकाठमाडौँ कालिमाटीका पाइलट रोकाय उपचारपछि डिस्चार्ज भइसकेका छन् भने ललितपुर उपमहानगरपालिका बस्ने मनाङ एयरका पाइट गुरुङको ग्राण्डी अस्पतालमा उपचार भइरहेको प्रमुख जिल्ला अधिकारी नरेन्द्र रानाले जानकारी दिए ।
ढाडमा गहिरो चोट लागेका उनी खतरामुक्त रहेको बताइएको छ । मनाङ एयरका लुक्ला इन्चार्ज लाक्पाछिरी शेर्पा र कामदार स्याङ्बुचे कार्कीको काठमाकाठमाडौँमा उपचार भइरहेको छ । समिट एयरका एयरहोस्टेज रमिता ढुंगाना भने सकुशल रहेको प्रहरीले जनाएको छ ।
रामेछापको लागि उड्न लागेको विमान धावनमार्गबाट अनियन्त्रित भई उड्ने तयारीमा रहेको मनाङ एयरको हेलिकोप्टरमा ठोक्किँदा दुर्घटना भएको हो । मन्थली विमानस्थलबाट पर्यटक बोकेर ल्याण्ड भएको जहाज रित्तै अर्को उडानका लागि मन्थली जान लागेको नागरिक उड्ययन प्राधिकरण लुक्लाका प्रमुख इमनाथ अधिकारीले बताए ।
दुर्घटनाको कारणबारे यसै भन्न नसकिने उनले बताए । धावनमार्ग चिप्लो पनि नभएको अधिकारीले दाबी गरे । दुर्घटनापछि विमानस्थल बन्द रहेको छ । दुर्घटनास्थलमा उद्धारमा खटिएका लुक्लाका तोया श्रेष्ठले रनवेमा सिधा गुडेर उड्नुपर्ने जहाज उड्नकै लागि तयारीमा रहेको मनाङ एयरको हेलिमाथि बजारिएको बताए ।
जहाज दुर्घटनामा परी तीनजनाको ज्यान गएपछि फ्लाइट सेफ्टी स्टाण्डर्ड डिपार्टमेन्टका क्याप्टेन दिपक लामा र इन्जिनियर प्रभाकर मल्लिकको टोलीले घटनास्थलको अनुगमन गरेका छन् । दुर्घटनाको प्रारम्भिक प्रतिवेदन तयार पार्नका लागि आइतबार दिउँसो अनुगमन गरी फर्किएको नागरिक उड्ययन प्राधिकरण लुक्लाका प्रमुख इमनाथ अधिकारीले बताए ।
तेन्जिङ–हिलारी विमानस्थल विश्वकै उच्च जोखिमयुक्त विमानस्थलभित्र पर्दछ । विमानस्थलको रनवे मात्र ४६० मिटरको रहेको छ । साना हेलिकोप्टर ल्याण्ड गर्न सकिने यो विमानस्थलको दक्षिणमा ६ सय मिटर गहिरो भीर रहेको छ । विभिन्न प्रतिवेदनहरुले सोलुखुम्बुको लुक्लास्थित विमानस्थललाई विश्वकै खतरनाक विमानस्थलको सूचीमा राखेका छन् । विमानस्थलको छोटो रनवे, अवतरण गर्ने बेलाको भौगोलिक विकटता, केही समयमै परिवर्तन हुने मौसम आदिलाई उल्लेख गर्दै प्रतिवेदनहरुमा यो विमानस्थललाई खतरनाक विमानस्थलको सूचीमा राखिएको हो ।

अमृता राइ