कारोबार संवाददाता
शनिवार, चैत्र ९, २०७५
548

बरिष्ठ अर्थविद् प्राध्यापक डाक्टर मदन दाहालको निधन भएको छ।
केएमसी अस्पतालमा उपचाररत दाहालको शुक्रबार दिउँसो निधन भएको हो। उनी प्याङ्क्रियाजको रोगबाट पीडित थिए।

दाहाल त्रिभुवन विश्वविद्यालयमा चार दशकदेखि अध्यापन गराउँदै आएका थिए। चार दशक त्रिभुवन विश्वविद्यालयमा प्राध्यापन गरेका दाहाल विश्वविद्यालयको अर्थशास्त्र विभागको प्रमुख पनि थिए।
साँचोलाई साँचो झुठोलाई झुठो भन्ने प्रोफेसर दाहाल कसैको प्रभावमा पर्दैनथे। मेगा बैंकको सञ्चालक समिति अध्यक्षसमेत भइसकेका उनको दर्जनौ अनुसन्धानहरु प्रकाशित छन्। नेपाल आर्थिक संघको पूर्व अध्यक्षसमेत रहेका दाहालले त्रिभुवन विश्वविद्यालयबाट अवकासपछि ६ वर्ष मेघा बैङ्कको संस्थापक अध्यक्षको भूमिका निर्वाह गरे। बरिष्ठ अर्थविद् दाहाल अर्थमन्त्रालयमा राजस्व परामर्श समितिका सदस्य पनि थिए।
स्वर्गीय दाहाल कारोबार राष्ट्रिय आर्थिक दैनिकको स्थापना कालदेखिका अभिभावक रहेका थिए । कारोबार इकोनोमिक कन्क्लेभमा उनले सक्रियतापूर्वक नेपाली अर्थतन्त्रका लागी योगदान दिनेहरुको छनौटमा समेत सधाएका थिए । कारोबार राष्ट्रिय आर्थिक दैनिक परिवार दाहालको निधनमा श्रद्धान्जली अर्पण गर्दछ । दाहालको निधनले नेपालले एक कुशल, स्वतन्त्र र निष्पक्ष अर्थविश्लेषक गुमाएको छ ।