कारोबार संवाददाता
बिहिवार, फाल्गुन ३०, २०७५
762

लमजुङ- नेपाली सेनाका प्रधान सेनापति पूर्णचन्द्र थापाले राष्ट्रिय एकता र अखण्डताको लागि नेपाली सेना प्रतिबद्ध रहेको बताएका छन् । लमजुङ सदरमुकाम बेंसीशहरमा आयोजित गण्डकी प्रदेश स्तरीय छैटौं लमजुङ महोत्सवको समापन समारोहमा थापाले यस्तो बताएका हुन् ।
प्रधानसेनापति थापाले नेपाली सेना नेपाली जनताको साझा सेना भएकोले नेपालको स्वाधिनता, सार्वभौमसत्ता, भौगोलिक अखण्डता र राष्ट्रिय एकताको लागि प्रतिबद्ध रहेको बताए । उनले राष्ट्रिय एकताको लागि सविधानले नै नेपाली सेनालाई जिम्मेवारी दिएको भन्दै आफ्नो जिम्मेवारीप्रति सेना जिम्मेबार रहेको दाबी गरे ।

प्रधानसेनापति थापाले नेपालको एकीकरणमा पृथ्वीनारायण शाहको योगदानलाई स्मरण गर्दै राष्ट्रिय एकतामा लमजुङको योगदान इतिहासमा अविष्मरणीय रहेको बताए । प्रधानसेनापति थापाले जिल्लाको ऐतिहासिक, सांस्कृतिक र प्राकृतिक सम्पदाहरुको प्रवद्र्धन गरी पर्यटन विकासका लागि नेपाली सेनाले सक्दो सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे ।
कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष चन्द्र ढकालले लमजुङमा औद्योगिकरणका लागि पर्याप्त श्रोत र सम्पदा भएकोले यसतर्फ ध्यान व्यवसायीहरुलाई आग्रह गरे । फागुन १९ बाट सुरु भएको महोत्सव बुधबार समापन गरिएको हो । महोत्सवमा २० करोडभन्दा बढीको कारोबार भएको आयोजकले जनाएको छ ।