कारोबार संवाददाता
सोमवार, फाल्गुन २७, २०७५
720

स्याङ्जा-एक युवाको हत्या गरेको आरोपमा ४ जना युवालाई जिल्ला प्रहरी कार्यालय स्याङ्जाले पक्राउ गरेको छ । पुतलीबजार नगरपालिका १४ स्थित आधिखोलाको मोटरेबल पक्की पुलमुनी फागुन १९ गते घाइते अवस्थामा भेटिएका पुतलीबजार–१ नारायणस्थानका २५ वर्षिय सिसोक गुरुङलाई हत्या गरेको आरोपमा ४ जनालाई प्रहरीले पक्राउ गरेको हो ।
पुलमुनी गम्भिर घाइते अवस्थामा भेटिएका गुरुङको मणिपाल अस्पताल पोखरामा उपचारको क्रममा फागुन २१ गते मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी राजकुमार लम्सालले जानकारी दिए । युवालाई हत्या गरेको आरोपमा पुतलीबजार नगरपालिका १ का ४२ वर्षिय गोरे भन्ने हिम प्रसाद गुरुङ, २९ वर्षिय रिट्ठे भन्ने रोशन थापा मगर, वर्ष २८ का ज्ञानसिंह ठकुरी र वडा नं १३ का ३९ वर्षिय दिपु भन्ने सफल भण्डारीलाई पक्राउ गरेको लम्सालले बताए ।

मादक पदार्थ सेवन गरी गुरुङलाई कुटपिट गरी पुलमुनी फालेको र उपचारको क्रममा मृत्यु भएको मृतककी आमा निरसुबा गुरुङको किटानी जाहेरीको आधारमा ४ जनालई पक्राउ गरिएको हो । हत्या आरोप लागेका ४ जनामध्ये ३ जनालाई घरबाटै र रोशन थापालाई वालिङबाट पक्राउ गगरेको प्रहरीले बताएको छ ।
रक्सी सेवन गरेका गुरुङ पुलमुनी आफैं खसेको भए शरीरका हड्डी भाँचिनु पर्नेमा अनुहारका सबै भागमा चोट लागेका कारण हत्या भएको अनुमान प्रहरीको रहेको छ । पुतलीबजार–१४ का महेन्द्र आचार्यको पसलमा मादक पदार्थ सेवन गरेर सामान्य झगडा गरेर निस्केकोमा एक जना पुलबाट खस्दा साथीहरुले समेत थाहा पाउने भएकाले स“गै आएका साथीले कुनै खबर नगरी आफ्नो घरमा पुगी आनन्दस“ग बसेकाले हत्या भएको हुन सक्ने लम्सालले बताए ।
जाहेरीका आधारमा पक्राउ परेका ४ जनालाई ज्यान मार्ने कर्तव्य ज्यान मुद्दामा अनुसन्धान भइरहेको लम्सालले जानकारी दिए ।

ठगीको आरोपमा दम्पती पक्राउ
यसैबीच, जिल्ला प्रहरी कार्यालय स्याङ्जाले ठगीको आरोपमा पुतलीबजार नगरपालिका ३ का एक दम्पतीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ४४ वर्षिय महेन्द्र नेपाल र ४० वर्षिय श्रीमती संगीता नेपाल रहेका छन् ।
घरजग्गा पास गरीदिन्छु भनी प्रलोभन देखाई विभिन्न व्यक्तिलाई ठगी गरेको आरोपमा प्रहरीले पक्राउ गरेको हो । स्याङ्जाकै फेदिखोला गाउ“पालिकामा हल्करा रहेका नेपाल दम्पतीले विभिन्न ८ जना व्यक्तिबाट ३९ लाख २० हजार रुपैया“ ठगी गरेको आरोपमा पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रही प्रमुख राजकुमार लम्सालले जानकारी दिए ।
फेदिखोलाकी मन्जु गोदारबाट १५ लाख, सावित्री दर्जीबाट ३ लाख ३० हजार, चुनुमाया गोदारबाट ३ लाख ५५ हजार, बेदप्रसाद गौतमबाट ३ लाख, कृष्ण महत थापाबाट ४ लाख ६० हजार, दुर्गा कुमारी खत्री खड्काबाट ७ लाख, रुकुम मुसिकोट १ घर भई पोखरा महानगरपालिका ८ मा बस्ने रेशम रावलबाट २ लाख ७५ हजार रकम लिएर जग्गा अर्कै व्यक्तिको नाममा राजीनामा पास गरी ठगी गरेकोले उजुरीको अधारमा दम्पतीलाई प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ परेका नेपाल दम्पतीलाई हिरासतमा राखी आवश्यक अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।