मातृका दाहाल
बुधवार, फाल्गुन १, २०७५
4219

♦गोलीगठ्ठा स्वदेशमै उत्पादन गर्न सकिए राष्ट्रिय तथा आन्त्रिक सुरक्षामा गोपनियता कायम गर्न सकिन्छ : बिनोज बस्न्यात, पूर्व उपरथी-नेपाली सेना
♦हामीले प्रयोग गर्ने हातहतियारलाई चाहिने गोलीगठ्ठा स्वदेशमै उत्पादन भए सुरक्षा गोपनियता र आर्थिक बचत हुनुका साथै आत्मनिर्भर बन्न सहयोग पुग्छ : यामप्रसाद ढकाल-प्रवक्ता, नेपाली सेना


नेपालमै इन्सास र एम–१६ राइफलको गोली उत्पादन गर्ने नेपाली सेनाको प्रस्ताव भारत सरकारले अस्वीकार गरिदिएको छ । गोलीगठ्ठा तथा विस्फोटक पदार्थ उत्पादन र प्रयोगमा आत्मनिर्भर बन्ने योजनासहित सेनाले नेपालमै इन्सास र एम–१६ राइफलमा प्रयोग हुने ५.५६ एमएम गोली उत्पादनमा सहयोग गर्न भारतसमक्ष प्रस्ताव राखेको थियो ।उच्च स्रोतले दिएको जानकारीअनुसार सेनाले द्विपक्षीय औपचारिक तथा अनौपचारिक वार्ता र छलफलका क्रममा एसएलआर, इन्सास र एम–१६ राइफलका लागि चाहिने गोलीगठ्ठा उत्पादनमा सहयोग मागेको थियो । तर, त्यसलाई भारतले ठाडै अस्वीकार गरेको सैनिक स्रोतको भनाइ छ । नेपालले भातबाटै गोलीगठ्ठा किनोस् भन्ने रणनीतिका साथ नेपालमै उत्पादन गर्नुपर्ने प्रस्तावलाई नमानेको हो । इन्सास भारतमै निर्मित राइफल हो । एम–१६ भने अमेरिकी अत्याधुनिक हतियार हो । सेनासँग इन्सास राइफलको संख्यामात्रै १५ हजार बढी छ । यसका लागि चाहिने गोलीगठ्ठा भारतबाटै किन्नुपर्ने बाध्यता छ ।इन्सास कास्मिर युद्धमा भारतीय सेनाले प्रयोग गरेर असफल भइसकेको राइफल हो । जुन १० वर्षे सशस्त्र द्वन्द्वकालमा ७० प्रतिशत अनुदान र ३० प्रतिशत ऋणमा भारतले नेपाललाई उपलब्ध गराएको थियो ।एम–१६ राइफल निकै भरपर्दो मानिन्छ । यो राइफल सेनासँग केही हजार थान रहेपछि पछिल्लो पटक २ अर्ब १९ करोड रूपैयाँ भन्दा बढी बजेट खर्चेर ६ हजार ४ सय ९२ थान अमेरिकाबाटै खरिद क्रममा छ । सन् १९५० को नेपाल–भारत शान्ति तथा मैत्री सन्धि र त्यसकै आधारमा सन् १९६० मा भएको रक्षा सम्झौतालाई देखाएर भारतले नेपालमै सुरक्षा सामग्री उत्पादनमा असहयोग गरेको स्रोत बताउँछ ।१९५० को सन्धिको दफा ५ मा ‘नेपाल सरकारलाई भारत राज्य क्षेत्रबाट अथवा सो राज्य क्षेत्रको बाटो गरी नेपालको सुरक्षाको निमित्त चाहिने हातहतियार-कलपुर्जा, गोलीगठ्ठा, खरखजाना मालसामानको पैठारी गर्ने अधिकार छ, दुई सरकारको परस्परमा सल्लाह गरी यो बन्दोबस्तीलाई चालू गराउने कारबाहीको तय हुनेछ’ भन्ने उल्लेख छ ।यही दफालाई टेकेर सन् १९६० मा दुवै देशका अधिकारीबीच रक्षा सम्झौता भएको थियो ।
उक्त सम्झौतामा सुरक्षाजन्य सामग्री भएसम्म भारतबाटै अनुदान तथा ऋणमा खरिद गर्नुपर्ने र भारतमा उपलव्ध नभए भारत सरकारलाई जानकारी गराएर तेस्रो मुलुकबाट ल्याउन सकिने उल्लेख छ । स्रोतका अनुसार नेपालमै सबै किसिमका हतियारको गोलीगठ्ठा उत्पादन गर्ने योजना यही दफाका कारण अवरुद्ध भएको हो ।यद्यपि नेपाली सेनाले गोली उत्पादनमा भारतले असहयोग गरेकोबारे औपचारिक रूपमा जानकारी गराएको छैन । सैनिक प्रवक्ता सहायकरथी यामप्रसाद ढकालले भारतबाट गोली उत्पादनमा असहयोग भएको त स्पष्ट भन्न चाहेनन् । तर, प्रवक्ता ढकालले एम–१६ र इन्सास राइफलमा लाग्ने ५.५६ एमएम गोली उत्पादन योजना कायम नै रहेको बताए । उनले प्लान्ट खरिदका क्रममा भएको पनि बताए । स्वदेशमै सबै किसिमका हतियारका गोलीगठ्ठा उत्पादन गर्न सकिए आर्थिक बचत, आत्मनिर्भर र राष्ट्रिय तथा आन्तरिक सुरक्षाको गोपनियता कायम हुने उनले बताए ।“गोलीगठ्ठा तथा विस्फोटक पदार्थ उत्पादनमा आत्मनिर्भर हुने सेनाको योजना हो, त्यहीअनुसार उत्पादन गर्न आवश्यक तयारी भइरहेको छ,” प्रवक्ता ढकालले कारोबारसँग भने, “हामीले आफ्नै मुलुकमा गोली-गठ्ठालगायतका वस्तु उत्पादन गर्दा त्यसको दीर्घकालिन महत्व र प्रभाव पर्छ ।”नेपाली सेनाका पूर्वउपरथी एवं राष्ट्रिय सुरक्षा मामिलाका जानकार बिनोज बस्न्यात धेरै अघिबाट सबै किसिमका हतियारका गोली-गठ्ठा स्वदेशमै उत्पादन गर्नुपर्ने योजना रहेपनि त्यो पूरा हुन नसकेको बताउँछन् । गोलीगठ्ठा उत्पादनमा मात्रै नेपाली सेना आत्मनिर्भर हुन सके राष्ट्रिय र आन्तरिक सुरक्षाको गोपनियता कायम गर्नसमेत वल पुग्ने उनको टिप्पणी छ । “कम्तीमा आफ्नो देशको सुरक्षाका लागि चाहिने बस्तुमा हामी आत्मनिर्भर हुनैपर्छ,” पूर्वउपरथी बस्न्यात भन्छन्, “त्यसका लागि दैनिक र रिजर्भमा चाहिने हातहतियार-गोलीगठ्ठा आवश्यकताअनुसार खरिद, उत्पादन, व्यवस्थापन तथा अपरेसनल सम्वन्धि गोपनीयता हामीसँगै भयो भने यो देशको दीर्घकालिन हितमा हुने छ ।”विदेशबाट खरिद गरेर ल्याएका जुनसुकै वस्तुको यकिन विवरण अरुसँग हुँदा राष्ट्रिय तथा आन्तरिक सुरक्षासँग जोडिएका विषयमा असर पुग्ने उनको भनाई छ ।  अरुको भरपर्दा इतिहासका विभिन्न कालखण्डमा असहज परिस्थितिको सामना गर्नुपरेको बस्न्यातको बुझाइ छ ।