मातृका दाहाल
बिहिवार, पुष २६, २०७५
727

कुनैपनि देशमा अपराध गरेर फरार भएका व्यक्ति नेपालको अध्यागमन कानुन छलेर ओहोरदोहोर गर्नसक्ने जोखिमप्रति हामी सचेत छौं :
ईश्वराज पौडेल-महानिर्देशक, अध्यागमन विभाग

अध्यागमन विभागले २ हजारभन्दा बढी नेपाली तथा विदेशी नागरिकलाई कालोसूचीमा राखेको छ । विभिन्न अपराधमा संलग्न भइ फरार रहेका नेपाली तथा विदेशी नागरिकको खोजीका लागि अध्यागमनले उनीहरूलाई कालोसूचीमा राखेको हो । कालोसूचीमा परेका व्यक्तिको हुलिया विभागले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसहित देशभरका ११ वटा अध्यागमन कार्यालयलाई उपलब्ध गराएको छ ।

अध्यागमनको कालोसूचीमा परेका व्यक्तिहरू हत्या, अपहरण, लागूऔषध ओसारपसार, बैंकिङ कसूर, वैदेशिक रोजगारीमा ठगी, मानव तस्करी, सुन तस्करी, वन्यजन्तु चोरी-शिकारी, देश निकालामा परेका विदेशी नागरिक, कैद भुक्तान गरिरहेका जघन्य अपराधमा संलग्नलगायतका व्यक्ति छन् ।
विभागका महानिर्देशक ईश्वराज पौडेलले नेपालसहित कुनै पनि देशमा अपराध गरेर फरार भएका व्यक्ति नेपालको अध्यागमन कानुन छलेर ओहोरदोहोर गर्नसक्ने जोखिमप्रति आफूहरू सचेत रहेको बताए । विश्वका प्रहरीको संगठन इन्टरपोल, संयुक्त राष्ट्रसंघको अपराध तथा लागू पदार्थ नियन्त्रणसम्बन्धी संयन्त्र यूएनओडीसी, नेपाल प्रहरी लगायत निकायसँग भएका तथ्यांककै आधारमा विभागले त्यस्ता व्यक्तिलाई कालोसूचीमा राखिएको विभागले जनाएको छ ।
अपराध नियन्त्रण गर्न कानुन कार्यान्वयन गर्ने निकाय तथा अन्य सरोकारवालाबीच सहकार्य र समन्वयलाई बढाइएको पनि महानिर्देशक पौडेलले जानकारी दिए । “विभिन्न किसिमका अपराधमा संलग्न व्यक्ति देश छोडेर भाग्ने तथा विदेशमा अपराध गरेर नेपालमा सेल्टर बनाउनसक्ने जोखिम देखेरै त्यस्ता व्यक्तिमाथि निगरानी गर्न कालोसूचीमा राखेका हौं,” महानिर्देशक पौडेलले भने, “अपराधमा संलग्न रहेर कानुनी दायरा बाहिर भएका कोहीपनि नेपाली तथा विदेशी नागरिक अध्यागमन कानुन छलेर फरार हुन नदिन हामी सतर्क र सचेत छौं ।”
नेपाल प्रहरीका प्रवक्ता एसएसपी उत्तमराज सुवेदीले संगठित, आर्थिक, सामाजिक तथा अन्तर्देशीय अपराधमा संलग्न फरार व्यक्तिमाथि निगरानी गर्ने क्रममा त्यस्ता व्यक्तिको विवरण अध्यागमन विभागमा उपलब्ध गराइएको स्पष्ट पारे ।
प्रवक्ता सुवेदीले भने, “अदालतबाट दोषी ठहर भएर फरार बनेका तथा अपराध आरोपितहरू स्थल तथा हवाईमार्गबाट एकदेशबाट अर्को देशमा ओहोरदोहोर गर्न नदिन अध्यागमन विभाग र प्रहरीबीच समन्वय र सहकार्य भइहेको छ,”
अध्यागमन विभागले बैंकिङ कसूर गरेर फरार रहेका पवनकुमार कार्की, सुन तस्करीमा संलग्न भनिएका चेतनाथ भण्डारी, सिरहाका रोहित आचार्य, वैदेशिक रोजगार ठगीमा भुपेन्द्र खड्का र भक्तबहादुर लामा, व्यक्ति हत्यामा आरोपित फकिर रियाज र एमडी सकिल हुसेन, वालिका वलात्कार आरोपित अंगबहादुर बोहरा लगायतलाई कालोसूचीमा राखेको छ । उनीहरू इन्टरपोलको रेडकर्नर नोटिसमा समेत सूचीकृत छन् । त्यस्तै बैंक-वित्तीय संस्थाको ऋण तिर्न नसकेर कर्जा सूचना केन्द्रको कालो सूचीमा रहेका दर्जनौं उद्योगी-व्यापारी लगायत व्यक्ति पनि अध्यागमनको कालो सूचीमा छन् । ऋण नतिरी विदेश भाग्न सक्ने जोखिम औंल्याउँदै सरकारले उनीहरूको राहदानी-नागरिकता सहितको हुलिया अध्यागमन विभागलाई उपलव्ध गराएको हो । अध्यागमन विभागले विभिन्न कसूरमा देश निकाला भएका विदेशी नागरिकलाई पनि कालोसूचीमा राखेको छ ।
पछिल्लो ५ महिनामा मात्रै नेपालको प्रचलित कानुन उल्लंघन गरेको अभियोगमा ८४ जना विदेशी नागरिक देश निकालामा परेका छन् । उनीहरू पनि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल तथा यस मातहतका कार्यालयको कालोसूचीमा छन् ।