मातृका दाहाल
मंगलबार, पुष २४, २०७५
2222

राष्ट्रपतिका लागि एक अर्ब ५० करोड रुपैयाँ भन्दा बढीमा खरिद गरिएको सैनिक हेलिकप्टर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रोकिएको छ ।
नेपाली सेनाका चालक (पाइलट)बाट २ पटक सम्म टेस्ट फ्लाइट भइसकेको चालक दलका सदस्य बाहेक १४ सीट क्षमताको इटालियन अगुस्टा–वेस्टल्याण्ड–एडब्लू–१३९’ हेलिकप्टर मंसिर पहिलो साता नै काठमाडौं ल्याइएको थियो ।

तर नेपाली सेनाको सम्भार रथी विभागले हेलिकप्टर बाहेक त्यसको स्पेयर्स पार्टस् विना हस्तान्तरण प्रक्रिया अघि नबढाउँन हवाई महानिर्देशनालयलाई निर्देशन दिएको हो । सम्भार रथी विभागले हवाई महानिर्देशनालयलाई पत्र नै लेखेर खरिद सम्झौता अनुसार सबै उपकरण नआइकन हेलिकप्ट स्वीकार नगर्न निर्देशन दिएको हो ।
“डेढ महिना अघि नै हेलिकप्ट काठमाडौं आइसकेको हो, २ पटक सम्म टेस्ट फ्लाइट पनि भइसकेको छ,” सैनिक स्रोतले भन्यो, “तर हेलिकप्टरका स्पेयर्स पार्टस् नआएपछि हामीले स्वीकार गरिसकेका छैनौं ।”
इटलीबाट आएको अगुस्टा हेलिकप्टर राष्ट्रपति सबार हुँदा प्रयोग गर्न ल्याइएको हो । राष्ट्रपतिका लागि विलासी हेलिकप्टर खरिद गरेको खुलेपछि सरकारले विशिष्ठ व्यक्ति तथा सुत्केरी बोक्न समेत यसलाई प्रयोग गरिने दावी गरेको छ । राष्ट्रपतिकै लागि खरिद गरिएपनि यसलाई नामाकरण भने ‘भीभीआइपी’ले प्रयोग गर्ने हेलिकप्टर भनिएको छ ।