कारोबार संवाददाता
आइतवार, भदौ १७, २०७५
1589

धितोपत्र बजारमा यस साता ८० करोड ३० लाख ७ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार कुल २५ लाख ४२ हजार ७१० कित्ता सेयर खरिद बिक्री भएका छन् । कारोबार रकम गत साताको भन्दा ३१ दशमलव ८१ प्रतिशत कम हो । कारोबारका आधारमा हेर्दा यस साता पनि १ अर्ब रुपैयाँबराबरको पनि कारोबार हुन सकेन ।
गत साता १८५ कम्पनीको ४४ लाख २१ हजार ९५० कित्ता सेयर १ अर्ब १७ करोड ७५ लाख ७१ हजार बराबरका खरिद बिक्री भएका थिए । साताको नेप्से परिसूचक पहिलो दिनको तुलनामा ५ दशमलव ९७ अंकले बढेर अन्तिम दिन १ हजार १८१ दशमलव ६९ अंकमा पुगेको छ ।

‘क’ वर्गका कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पहिलो दिनको तुलनामा १ दशमलव ३७ अङ्कले बढेर २४९ दशमलव ७९ अंकमा आइपुगेको छ । यस साता कारोबार रकमको आधारमा नेपाल इन्भेस्टमेन्ट बैंक लिमिटेडको संस्थापक सेयर अग्रस्थानमा छ । सो बैंकको ७ करोड ३९ लाख ६० हजार बराबरको सेयर कारोबार भएको थियो ।
कारोबार भएको सेयर संख्याको आधारमा एनएमबी बैंक लिमिटेड अग्रस्थानमा छ । सो बैंकको १ लाख ३२ हजार कित्ता सेयर खरिद बिक्री भएको थियो । यस साता नेपाल स्टक एक्सचेन्जको कारोबार कक्ष नियमित कारोबारका लागि चार दिन खुला रह्यो । यस साता पनि ऋणपत्रतर्फ संस्थागत तथा सरकारी ऋणपत्रको कुनै पनि कारोबार भएन ।