कारोबार संवाददाता
मंगलबार, पुष ४, २०७४
1452

मंसिरको अन्तिम साता आन्तरिक राजस्व कार्यालय त्रिपुरेश्वरले तीन वटा कम्पनीलाई १५ दिनभित्र भ्याट तिर्न पत्र पठाएपछि फेरि बजारमा अन्योल छाएको छ । अघिल्लो साता फेरि भ्याटको भूतले सेयर बजारमा निरासा ल्याएको छ । सेयर बजार लगातार घटेर १५०८ को हारारहारीमा आइसकेको छ ।
तर, सुन्धारा सेक्युरिटिज, सेवा सेक्युरिटिज र इन्भेस्टमेन्ट म्यानेजमेन्ट ब्रोकर कम्पनीलाई आन्तरिक राजस्व कार्यालयले आर्थिक वर्ष २०६९-७० देखि चालु आर्थिक वर्षसम्मको भ्याट, ब्याज र जरिवाना गरी कर निर्धारण गरेर पत्र पठाएको यो पहिलो पटक भने होइन । कार्यालयले पाँच महिनापछि उही बेहोरा र करको रकमसहित तीनवटै कम्पनीलाई भ्याट तिर्न पत्र पठाएको थियो ।

यसअघि असार पहिलो साता पनि आन्तरिक राजस्व कार्यालय त्रिपुरेश्वरले तीन वटा ब्रोकर कम्पनीलाई मूल्य अभिवृद्धि कर (भ्याट) तिर्न पत्र पठाएको थियो । सेयर कारोबारमा भ्याट कार्यान्वयन गर्ने भन्दै ब्रोकर कम्पनीलाई पत्र पठाएपछि ब्रोकर कम्पनी र लगानीकर्ता आन्दोलनमा उत्रिएका थिए । तर सेयर कारोबार वित्तीय सेवा भएकाले भ्याट लगाउन नहुने भन्दै नेपाल स्टक ब्रोकर एसोसिएसनको अगुवाईमा सेयर कारोबारनै बन्द गरेपछि सरकारले छलफलका लागि बोलाएको थियो । अर्थ मन्त्रालयमा भएको वार्तामा असार १५ गते राजस्व सचिव शिशिर ढुंगाना र एसोसिएसनबीच मोडालिटी बनाएर आगामी आर्थिक वर्षदेखि भ्याट कार्यान्वयनमा ल्याउने र विगतको भ्याटका बारेमा विज्ञहरूको राय सुझाबका आधारमा निर्धारण गर्ने सहमति बनेको थियो ।
असारमा तीन वटा ब्रोकर कम्पनीलाई करिब २ करोड ९० लाख रूपैयाँ कर निर्धारण गरिएको थियो । जसमा सुन्धारा सेक्युरिटिजलाई ६३ लाख रूपैयाँ, सेवा सेक्युरिटी ब्रोकरलाई १ करोड १० लाख रूपैयाँ र इन्भेष्टमेन्ट म्यानेजमेन्टलाई करिब १ करोड १७ लाख कर निर्धारण गरिएको थियो । आन्तरिक राजस्व कार्यालय त्रिपुरेश्वरले फेरि मंसिर अन्तिम साता फेरि त्यही बराबरको रकम तिर्न पत्र पठाएपछि लगानीकर्ता तथा ब्रोकर कम्पनी दुबै असमन्जसमा परेका छन् । किनकि ३ वटा ब्रोकर कम्पनीलाई मात्रै किन तारो बनाइयो एउटा प्रश्न हो भने अर्को शेयर कारोबारमा के अब भ्याट लाग्ने नै हो त ? लागे कसरी लाग्छ, ब्रोकर कम्पनी अन्योलमा छन् । तर, धितोपत्र बोर्डको हालैको निर्णयका कारण मुख खोल्न भने डराउँछन् ।
पत्रप्राप्त भएपछि ब्रोकर एसोसिएसनले प्रेस विज्ञप्ति त निकाल्यो, तर एसोसिएसन पनि आखिर किन तीनवटा कम्पनीलाई मात्रै भ्याट तिर्न पत्र आयो भन्ने बारेमा अनभिज्ञ छ ।
ब्रोकर एसोसिएसका अनुसार शुक्रबार अर्थ मन्त्रालयमा भएको वार्तामा एसोसिएसन र राजस्व सचिव ढुंगानाबीच छलफल हुँदा राजस्व सचिवले पुरानै विषय दोहो¥याएका थिए ।
विज्ञहरूको राय सुझावका आधारमा पुरानो बक्यौता सम्बोधन गरिने र आगामी आर्थिक वर्षदेखि शेयरमा भ्याट लगाउनेबारे निर्णय गरिने राजस्व सचिव ढुंगानाले बताएको एसोसिएसनले जनाएको छ । ढुंगानाले विज्ञहरूको सल्लाह लिएर भ्याट कार्यान्वयनको निर्णय गर्ने भन्दै नआत्तिनु भनेपछि पनि किन ३ वटालाई मात्रै पत्र काटियो र अन्यको हकमा के हुन्छ भन्ने बारे एसोसिएसन अझै अन्योलमा छ ।