कारोबार संवाददाता
बुधवार, श्रावण ३०, २०७५
1363

नेपाल धितोपत्र बोर्डले विश्वसनीय सूचना प्रवाह गराउन भन्दै नेपाल स्टक एक्सचेन्ज (नेप्से)लाई निर्देशन दिएको छ । बोर्डले स्टक डेरिभेटिभ मार्केटको विकास गर्न सम्भाव्यताको समेत अध्ययन गर्न नेप्सेलाई निर्देशन दिएको हो ।
दोस्रो बजारका परिसूचकहरूको गणना तथा सार्वजनिक गर्नुपर्ने सूचनाको प्रक्रियालाई थप प्रभावकारी बनाउन निर्देशन दिइएको बोर्डले जनाएको छ । २०६५ सालभन्दा पहिले नेप्से परिसूचक तथा बजार पूँजीकरण र २०६५ देखि सेन्सेटिभ सूचकांक, सेन्सेटिभ बजार पूँजीकरण, सूचीकृत कम्पनीहरूको समूहगत मूल्य सूचकांकहरू समेत गणना तथा प्रकाशन गर्दै आएको भए पनि त्यसलाई थप व्यवस्थित गर्न बोर्डले भनेको हो ।

नेप्से सूचकांकमा गैरकारोबारीय सेयरको रूपमा रहेका झन्डै ६५ प्रतिशत संस्थापक सेयर र सर्वसाधारणसँग रहने ३५ प्रतिशत कारोबारीय सेयरका आधारमा गणना हुने परिसूचकहरू तथा बजार पूँजीकरणलाई यथावतरूपमा दैनिक प्रकाशन गरी निरन्तरता दिनसमेत बोर्डले भनेको छ । यस क्रममा फ्लोट बजार पूँजीकरणलाई महत्वका साथ प्रकाशन गर्न बोर्डले नेप्सेलाई भनेको छ ।
लगानीकर्तालाई धितोपत्रको दोस्रो बजारमा हुने हरेक कारोबार दिनको अन्तिम बिन्दूको मात्रै सूचकांक दिने अहिलेको व्यवस्थामा परिमार्जन गरी नेप्से र फ्लोट सूचकांकको शुरु, उच्चतम, न्यून र औसतको समेत नियमित जानकारी गराउनुपर्ने बोर्डले जनाएको छ । कारोबार भएका सूचीकृत कम्पनीहरूको सेयर कारोबारको सुरु, उच्चतम, न्यूनतम, अन्तिम र तिनीहरूको औसत समेतको सार्वजनिकरूपमा जानकारी दिने व्यवस्था मिलाउन बोर्डले नेप्सेलाई दिएको निर्देशनमा उल्लेख छ ।