भुवन पौडेल
सोमवार, श्रावण ५, २०७७
849

नेपाल धितोपत्र बोर्डले यस वर्ष नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा विदेशी रणनीतिक साझेदार भित्र्याउने भएको छ । धितोपत्र बोर्ड चालू आर्थिक वर्षको नीति तथा कार्यक्रममार्फत नेप्सेमा विदेशी रणनीतिक साझेदार भित्र्याई दोस्रो बजार कारोबार प्रणालीलाई सुदृढ गर्ने भएको हो ।
हाल सरकारसहित नेपाल राष्ट्र बैंक, कर्मचारी सञ्चय कोष, धितोपत्र दलाल कम्पनीहरू र केही पब्लिक कम्पनीको नेप्सेमा लगानी रहेको छ । धितोपत्रको दोस्रो बजारलाई सुदृढ बनाउनका लागि नेप्सेको संस्थागत सुधार र पूर्वाधारको विकास गर्नुपर्ने उल्लेख गर्दै नेपाल धितोपत्र बोर्डका अध्यक्ष भीष्मराज ढुङ्गानाले भने, “नेप्सेको संरचनात्मक सुधार गरी धितोपत्रको दोस्रो बजार कारोबार प्रणालीलाई सुदृढ गर्ने र केन्द्रीय निक्षेप सेवा कम्पनीको स्वामित्व संरचनामा सुधार ल्याउन आवश्यक सहजीकरण गरी धितोपत्र केन्द्रीय निक्षेप सेवालाई स्तरीय बनाइने छ ।”

संघीय संसद्को अर्थ समितिले मुद्रा तथा पुँजी बजार अध्ययनका लागि गठन गरेको उपसमितिले समेत नेप्सेको सुधारका लागि विदेशी रणनीतिक साझेदार भित्र्याउनु पर्ने सुझाएको छ । केही वर्षअघि दक्षिण कोरियाली स्टक एक्सचेञ्जलाई रणनीतिक साझेदारको रूपमा भित्र्याउने भन्दै सम्झौता गरिए पनि त्यो प्रक्रियाले पूर्णता पाउन सकेन ।
धितोपत्र बोर्डले चालू आर्थिक वर्षमा सूचीकृत सरकारी ऋणपत्रहरूको पूर्ण रूपमा अभौतिकीकरण हुने व्यवस्था मिलाइ सरकारी ऋणपत्र तथा संस्थागत ऋणपत्रको दोस्रो बजार कारोबारलाई सक्रिय बनाउने भएको छ । धितोपत्र बजारमा इक्विटी सेयरको मात्र बाहुलयता रहेको हुनाले लगानीकर्ताका लागि लगानीमा विविधीकरणका लागि पनि डिबेञ्चर मार्केट सक्रिय बनाउन आवश्यक छ ।
चालू आर्थिक वर्षमा धितोपत्र बोर्डले संस्थागत तथा नियमन क्षमता अभिवृद्धि गर्ने योजना रहेको अध्यक्ष ढुङ्गानाले बताए । धितोपत्र बजार तथा वस्तु विनिमय बजारको प्रभावकारी नियमन, सुपरिवेक्षण तथा व्यवस्थापनका लागि आवश्यक कानुनी संरचनाको विकास तथा सुदृढीकरण गरिने समेत उनको भनाई छ ।
बोर्डको नीति तथा कार्यक्रमअनुसार पुँजी बजार सुपरीवेक्षण व्यवस्थामा सुधार गर्नुका साथै अध्ययन-अनुसन्धान गर्ने कामलाई समेत प्राथमिकता दिएर गरिने उल्लेख छ । बजार सहभागीहरूको व्यावसायिकता तथा स्तर अभिवृद्धि र कार्य क्षेत्र विस्तार गर्ने र प्रदेशस्तरमा समेत धितोपत्र बजार तथा वस्तु विनिमय बजारसम्बन्धी जनचेतना अभिवृद्धि गर्ने कार्यक्रम बोर्डको रहेको छ ।
नेप्सेको कारोबार प्रणालीमा लगानीकर्ताको बैंक खाता तथा डिम्याट खातासँग आवद्ध गरी पूर्ण स्वचालित कारोबार प्रणालीको व्यवस्था गर्न आवश्यक सहजीकरण गर्ने व्यवस्था नीति तथा कार्यक्रमले गरेको छ । धितोपत्र कारोबार राफसाफ तथा फछ्र्यौट प्रणाली टि–प्लस २ हुने तथा नेप्सेको ट्रेडिङ म्यानेजमेन्ट सिस्टमलाई प्रभावकारी बनाउने व्यवस्था समेत नीति तथा कार्यक्रमले गरेको छ ।
चालू आर्थिक वर्षमा बोर्डले वस्तु विनिमय बजार सम्बन्धमा ऐन तथा नियमावलीको व्यवस्थाबमोजिम वस्तु विनिमय बजार सञ्चालन गर्ने कम्पनी स्थापना गर्न अनुमति दिने र वस्तु कारोबार व्यवसायीहरूलाई अनुमतिपत्र प्रदान गर्ने नीति तथा कार्यक्रममा उल्लेख छ । साथै बोर्डले प्राप्त हुने कन्ट्रयाक्ट स्पेसिफिकेसनको अध्ययन गरी कारोबारका लागि दर्ता गर्ने व्यवस्था गर्ने भएको छ ।
धितोपत्र बजारमा वास्तविक क्षेत्रका कम्पनीहरूलाई भित्र्याउन प्रोत्साहन तथा सहजीकरणको व्यवस्था समेत गरेको नीति तथा कार्यक्रममले नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थासँगको सहकार्यमा सूचीकृत कम्पनी तथा धितोपत्र व्यवसायीहरूले बोर्ड तथा नेप्सेमा पेश गर्नुपर्ने विवरणहरूको ढाँचा विकास गरी लागू समेत गर्ने भएको छ ।
धितोपत्र बजारमा संस्थागत लगानीकर्ता प्रवेश गराई कारोबारको आकार बढाउन तथा दोस्रो बजार मूल्यमा स्थिरता ल्याउन धितोपत्र व्यापारीलाई अनुमति दिइने अध्यक्ष ढुङ्गानाले बताए । उनले प्राइभेट इक्विटी फण्ड तथा भेन्चर क्यापिटल जस्ता विशिष्टिकृत लगानी कोषहरू सञ्चालन गर्न अनुमति प्रदान व्यवस्था नीति तथा कार्यक्रममा गरेको समेत जानकारी दिए । साना तथा मझौला कम्पनीहरूको लागि छुट्टै कारोबार हुने गरी एसएमई प्ल्याटफर्म र अन्य कम्पनीको कारोबारका लागि मेन बोर्डको व्यवस्था गर्नका लागि नेप्सेलाई सहजीकरण गर्ने कार्यक्रम रहेको बोर्डले जनाएको छ ।
चालू आर्थिक वर्षको नीति तथा कार्यक्रमले धितोपत्र बजारमा नेपाल फाइनान्सियल रिर्पोटिङ मापदण्ड कार्यान्वयन गर्न आवश्यक व्यवस्था गर्ने भएको छ । धितोपत्र बजारको दीर्घकालीन विकासका लागि आवश्यक ट्रष्ट ऐनको मस्यौदा गरी विधायन प्रक्रियाका लागि नेपाल सरकार, अर्थ मन्त्रालय समक्ष पेश गर्ने बोर्डले जनाएको छ । ऋणपत्रको दोस्रो बजारलाई सक्रिय बनाइ विकास तथा विस्तार गर्न आवश्यक कानुनी व्यवस्था गर्न ऋणपत्र बजारसम्बन्धी नियमावली बनाइने समेत कार्यक्रममा उल्लेख छ ।
बोर्डबाट धितोपत्र व्यवसाय गर्न अनुमतिपत्र प्राप्त संस्थाहरूको मर्जर तथा एक्विजिसनसम्बन्धी निर्देशिका बनाइ लागू गरिने भएको छ । धितोपत्र दोस्रो बजार सम्बन्धी जानकारी र पहुँच देशव्यापी बनाउन धितोपत्र दलाल व्यवसायीको आधिकारिक प्रतिनिधिलाई प्रमाणीकरणगरी परिचालन गर्न आवश्यक कार्यविधि बोर्डले बनाउने भएको छ ।
चालू आर्थिक वर्षमा बोर्डले क्षमता अभिवृद्धि गर्न अन्तर्राष्ट्रिय प्रतिष्ठित संस्थासंग साझेदारी विकास गरी सुपरीवेक्षकीय तथा नियामकीय क्षमता अभिवृद्धि कार्यक्रम सञ्चालन गर्ने भएको छ । धितोपत्र बजारमा सूचीकृत जलविद्युत कम्पनीहरूको परियोजना सञ्चालन अवधि समाप्त भएपछि उक्त कम्पनीमा सर्वसाधारण सेयरधनीको स्वामित्व तथा कम्पनीको व्यवस्थापनका सम्बन्धमा स्पष्ट नीतिगत व्यवस्था सम्बन्धमा अध्ययन समेत बोर्डले गर्ने भएको छ । साथै धितोपत्र बजारमा लगानी विविधिकरणका लागि इन्डेक्स फण्ड तथा इक्यूटी डेरिभेटिभ्स औजार जारी गर्न आवश्यक व्यवस्था गर्ने गरी बोर्डले नीति तथा कार्यक्रम ल्याएको छ । नेप्से परिसूचक र सोको गणना विधिलाई समसामयिक बनाई धितोपत्र बजारमा स्थिरता ल्याउने उपायहरू अवलम्बन गर्ने सम्बन्धमा समेत अध्ययन गर्ने कार्यक्रम कोर्डको रहेको छ ।