कारोबार संवाददाता
मंगलबार, असार १६, २०७७
870

कोरोनाभाइरसका कारण सरकारले लकडाउन गरेसँगै बन्द भएको सेयर बजारमा सोमबार कारोबार सुरु भएको छ । सोमबार बजार परिसूचक ५२ अंकसम्म घटेर १ हजार १४९ अंकसम्म झरे पनि कारोबार बन्द हुदाँसम्म घट्ने क्रममा कमी आइ १२ अंकले मात्र घटको हो ।
सोमबार कारोबार सुरु भएको पहिलो चरणमा ४ प्रतिशतसम्म घटेर नकारात्मक सर्किट लागेर बजार नै बन्द भएको थियो । सेयर बजारमा सुरुवाती चरणमा लगानीकर्तामा बजार निकै तल झर्छ कि भन्ने मनोविज्ञानका कारण नकारात्मक सर्किट लागे पनि दोस्रो चरणमा खुल्दा बजारमा सेयरको माग बढ्न थालेको हो । बैंकिङ प्रणालीमा पर्याप्त तरलता रहेको अवस्थामा बजारमा यसको प्रभाव स्वाभाविक रुपमा परेको देखिन्छ । धितोपत्र संस्थागत लगानीकर्ताको रुपमा नागरिक लगानी कोषको स्टक डिलरले काम अगाडि बढाउने तयारीमा रहेको छ । यस्तै, लकडाउनअघि नै नेपालको सेयर बजारमा जुन हिसाबले घट्यो त्यसले पनि अब धेरै घट्दैन भन्ने मनोविज्ञान लगानीकर्तामा देखिएको छ ।

राष्ट्र बैंकले अनलाइनमार्फत पठाउन सकिने फण्ड ट्रान्सफरको सीमा अहिले बढाएको तथा कनेक्ट आईपीएसमार्फत पनि रकम पठाएर घरमै बसेर अनलाइनमार्फत सेयर कारोबार गर्न सकिने व्यवस्थाले पनि कारोबारका लागि सहजता आएको छ । कोरोना महामारीसँगै विश्व सेयर बजारसमेत घटेर सुधारको क्रम आउन थालेको अवस्था तथा नेपालमा समेत पछिल्लो समय १ हजार ६३२ पुगेर गिरावट आइसकेको अवस्थामा बजारमा सुधार आउने आशा लगानीकर्ताहरूमा रहेको छ ।
असार १५ गते सोमबार १२.८७ अंकले घटेर १ हजार १८८.७ बिन्दुमा अडिएको छ । यसदिन १३० कम्पनीका ९ लाख ७० हजार ७६ कित्ता सेयर ४ हजार ८६२ पटक खरीदबिक्री हुँदा ३४ करोड ७७ लाख ७१ हजार रुपैयाँको कारोबार भएको छ ।