कारोबार संवाददाता
सोमवार, असार १५, २०७७
840

कोरोनाभाइरसको कारण लकडाउन सुरु भएदेखि बन्द रहेको धितोपत्रको दोस्रो बजार सोमबार (आज)बाट खुल्ने भएको छ । कोरोनाको जोखिम समान्य नहुदाँसम्म नियमित कारोबार समय भने ४ घण्टामात्र हुनेगरी कारोबार खुल्ने भएको हो । चैत ११ गते देखि बन्द रहेको सेयर बजारलाइ लकडाउन खुकुलो भइसक्दा पनि बन्द रहेपछि अर्थमन्त्रीलाई समेत जोडर आलोचना गर्न थालेपछि बजार खोल्ने विषयमा अध्ययन नै गरेर निर्णय गरेको हो । अध्ययन समितिले घरबाट पनि लगानीकर्ता सेयर खरिद र बिक्री गर्नसक्ने अवस्था भएकाले कारोबार गर्न सकिने सुझावसहितको प्रतिवेदन दिएपछि बोर्डको आइतबार सम्पन्न सञ्चालक समितिले सोमबारदेखि कारोबार खोल्न नेपाल स्टक एक्सचेन्ज (नेप्से)लाई निर्देशन दिएको धितोपत्र बोर्डका अध्यक्ष भीष्मराज ढुङ्गानाले बताए । “बोर्डको सञ्चालक समितिले सोमबारदेखि बजार खुलाउने निर्णय गरेको छ,” उनले भने, “कारोबार ढाँचाको सन्दर्भमा निर्णय गर्ने अधिकार नेप्सेलाई हुने गरी कारोबार खोल्न निर्देशन दिएका छौं ।”
धितोपत्र बोर्डले बजार खुलाउन निर्देशन दिएलगत्तै नेप्सेको पनि सञ्चालक समितिले पनि सोमबार देखि ४ घण्टामात्र कारोबार गर्ने निर्णय गरेको नेप्सेका प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदले जानकारी दिए । “सोमबारदेखि दैनिक ४ घण्टा सेयर कारोबार हुन्छ,” उनले भने, “एक घण्टा कारोबार समय घटाएर विगतको ढाँचामा नै कारोबार हुन्छ ।” दैनिक ४ घण्टा कारोबार हुँदै आएको धितोपत्र बजारमा लगानीकर्ताले कारोबार समय बढाउनु पर्ने माग राखेपछि बोर्डका अध्यक्ष चालिसेले एक घण्टा समय थप गरेर दैनिक ५ घण्टा कारोबार गर्ने व्यवस्था गरेका थिए । तर, कोरोनाका कारण कारोबार समयमा परिवर्तन गरी ४ घण्टा अर्थात ११ बजेदेखि ३ बजेसम्म मात्र हुने नेप्से सञ्चालक समितिले निर्णय गरेको हो । यो निर्णयसँगै नेप्से सूचक तथा कम्पनीको सेयर मूल्यमा हुने उतारचढाव लाग्ने सर्किट ब्रेकरको सन्दर्भमा विगतकै अभ्यास कायम रहेको साउदले बताए ।

धितोपत्र बोर्डले कोरोनाभाइरसका कारण लकडाउन गरिएको अवस्थामा गत चैत ११ गते देखि बजार बन्दगर्ने निर्णय गरेको थियो । त्यसपछि बोर्ड तथा नेप्सेले कारोबार संयन्त्रमा परिवर्तन गरेर वैशाख ३१ र ३१ गते बजार खुलेको थियो । लकडाउनका बीचमा खुलेको बजार उच्चअंकले घटेपछि लगानीकर्ताको चर्को विरोध पछि पुनः बजार बन्द भएको थियो ।
धितोपत्र बजार स्वतन्त्र चल्नुपर्ने भन्दा पनि लगानीकर्ताको इच्छाअनुसार चल्नुपर्ने र सधैँ बढी रहनुपर्ने माग राख्दै आन्दोलन गर्ने लगानीकर्तालाई सम्झौतामा बाँधेर धितोपत्र बोर्डले सोमबारदेखि बजार खुलाउने निर्णय गरेको हो । धितोपत्र बोर्डबाट गठित अध्ययन समितिले दिएको प्रतिवेदनको आधारमा बजार खुल्ने भएको हो । अध्ययन समितिले सेयर कारोबार अनलाइन प्रणाली पूर्ण स्वचालित नभए पनि लगानीकर्ताले घरमै बसेर कारोबार गर्नसक्ने अवस्था रहेको निष्कर्षसहितको प्रतिवेदन शुक्रबार दिएको थियो । लगानीकर्ताहरूले सेयर खाताको सेयर ट्रान्सफर र रकम ट्रान्सफर गर्दा विद्युतीयमाध्यमको प्रयोग गर्न प्रोत्साहित गरिएको छ । बजारमा संलग्न हुने लगानीकर्ता, ब्रोकर, नेप्से, सीडएससी, मर्चेन्ट बैंकरले यस अघि जारी भएको कोभिड १९ सुरक्षाकाउपायहरू पालना गरी कारोबार गर्नु पर्ने व्यवस्था बोर्डले गरेको छ । धितोपत्रबजार सम्बद्ध संस्थाहरूले उपयुक्त स्वास्थ्य सुरक्षाविधिहरू नअपनाई कार्यालय खोलेको पाइएमात्यस्ता संस्थाउपर कारवाही हुने समेत बोर्डले जनाएको छ । अर्को व्यवस्था नहुन्जेल स्टक ब्रोकरहरूले लगानीकर्ताका लागि स्क्रीन रुम सञ्चालन गर्न नपाउने व्यवस्था गरेको छ ।