Logo

५० दिनपछि खुलेको सेयर बजार २५ अंकले घट्यो

कोरोनाभाइरस संक्रमण नियन्त्रणका लागि सरकारले लकडाउन गरेपछि बन्द रहेको सेयर बजार ५० दिनपछि मंगलबार खुल्यो । तर, लामो समयपछि खुलेको सेयर बजारको सुरुवात भने सकारात्मक देखिन सकेन । बजारमा २५ अंकको गिरावट आइ बन्द भएको छ ।
संकटको समयमा निश्चित संयन्त्र बनाएर नयाँ मापदण्डअनुसार खुलेको धितोपत्र बजार कारोबार सुरु भएदेखि बन्द हुँदासम्म निरन्तर घटिरह्यो । नयाँ मापदण्ड अनुसार २ प्रतिशत सम्म नेपाल स्टक एकसचेन्ज(नेप्से) परिसूचक घटे वा वढेको खण्डमा सर्किट प्रयोग गरेर कारोबार बन्द गर्ने व्यवस्था गरेको छ । सोही अनुसार मंगलबार २ प्रतिशत भन्दा धेरैले घटेपछि सर्किट प्रयोग गरेर बन्द गरेको हो । लकडाउनको समयमा अनलाइमा आधारीत भइ दैनिक २ घण्टा कारोबार गर्ने भनिएपनि मंगलबार करिब डेढ घण्टामै कारोबार बन्द भयो ।
मंगलबार नेप्सेमा कारोबार भएका अधिकांश कम्पनीको सेयर मूल्य तीन प्रतिशतले घटेको छ । नयाँ व्यवस्था अनुसार एक दिन कुनै पनि कम्पनीको सेयर मूल्यमा ३ प्रतिशतसम्मको घटबढ भएको खण्डमा त्यो दिनका लागि त्यो कम्पनीको सेयर कारोबार सर्किट लगाएर रोक्ने व्यवस्था छ । सो अनुसार मंगलबार धेरै कम्पनीको सेयर मूल्य तीन प्रतिशतले घटेपछि सर्किट प्रयोग भएको हो ।
मंगलबारदेखि कारोबार सुरु गर्ने विधिमा सेयर बिक्रीकर्तालाई कुनै समस्या नभए पनि खरिदकर्ताको सन्दर्भमा भने समस्या देखियो । सो कारणले बिक्रेता भए पनि खरिदकर्ता नहुँदा सेयर बजारमा उच्च गिरावट देखिएको हो । धितोपत्र दलाल कम्पनीले सञ्चालन जोखिम न्यूनीकरण गर्नका लागि लगानीकर्तालाई खरिद लिमिट नदिएपछि खरिदकर्ता न्यून भएका हुन् ।
मंगलबार विहान ११ बजे खुलेको बजार १२ बजेर १६ मिनेटमा बन्द भयो । नेप्से सूचक २ प्रतिशतले घटेपछि बजार बन्द भएको हो । यसदिन नेप्से २५ अंकले घटेर १२२६ मा झरेको छ । सेयर बजारमा बिक्रीको अधिक चाप अधिक पर्दा कारोबारमा आएका सबै कम्पनीको सेयर मूल्य घटेको छ । सेयर बिक्री गर्नेहरूले पनि थोरै थोरै कित्ता मात्र बिक्री गरेको पाइएको छ । कम कित्ताको बिक्रीबाट सेयर भाउ घटाइएको छ ।
मंगलबार ८७ कम्पनीको १० करोड ४३ लाख बराबरको मात्र सेयर किनबेच भएको छ । बजारमा कारोबारमा आएका सबै कम्पनीको सेयरमा खरिदकर्ता नभई बिक्रीकर्ता मात्र भएपछि शेयरको मूल्य घट्न पुग्यो । यस दिन कारोबारमा आएका सबै कम्पनीको मूल्य घटेको छ । एउटा पनि कम्पनीको मूल्य बढ्न सकेन । सबै समूहका सूचक नकारात्मक रहँदा जीवन बिमा र बैंकिङ सूचक धेरै घटेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्