भुवन पौडेल
शुक्रवार, बैशाख २६, २०७७
983

करिब १ महिना आधा बन्द रहेको सेयर बजारमा आगामी सातादेखि कारोबार सुरु हुने भएको छ ।
विश्वभरी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण नियन्त्रणका लागि सरकारले लकडाउन गरेपछि बन्द भएको सेयर बजार आगामी सातादेखि खुल्ने भएको हो । सरकारले लकडाउनमा केही खुकुलो नीति लिएसँगै सेयर कारोबार खुल्ने भएको धितोपत्र बोर्डका अध्यक्ष भिष्मराज ढुङगानाले बताए । “धितोपत्रको दोस्रो बजार खुल्नका लागि लकडाउन सकिने समयसम्म कुर्नु पर्दैन” उनले भने, “तर, आगामी आइतबारदेखि नै खुल्छ भन्न सकिने अवस्था पनि छैन ।” सेयर बजारमा कारोबार सहज होस् भनेर उपयुक्त प्रबन्ध गरेपछि खुलाउने उनले बताए । शुक्रबार पनि बजारका सम्बन्धित पक्षहरुसँग छलफल गरीने भएकाले कहिलेदेखि खुलाउने भन्ने विषयमा निर्णय भइनसकेपनि आगामी सातामा सेयर कारोबार खुलाउने गरी छलफल भइरहेको उनले बताए । लगानीकर्तालाई मेरो सेयर र कनेक्ट आपिएसमा सहभागी हुनका लागि समय दिएपछि मात्र सेयर कारोबार खुलाउने जानकारी उनले दिए ।

सेयर बजारको खुलाउँदा अझै पनि भिडभाड गर्न नहुने अवस्था भएकाले लगानीकर्ता घरबाट बाहिर निष्कने अवस्था छैन । त्यसलाई मध्यनजर गरेर आवश्यक तयारी पूरा गरेपछि सेयर कारोबार खोलिने उनको भनाइ छ ।
सरकारले लकडाउन खुकुलो गर्ने भन्ने खबरसँगै धितोपत्र बोर्ड र नेपाल स्टक एक्सचेन्ज (नेप्से) छलफलमा जुटेका थिए । कोरोना संक्रमण नियन्त्रणका लागि सरकारले मानिसहरु भेला हुने तथा भिडभाड गर्ने नदिनका लागि जारी गरेको लकडाउन बिहीबार ४६ दिन पूरा भएको छ । सरकारले आगामी जेठ ५ गतेसम्म देश लकडाउन राख्ने निर्णय गरेको छ । तर, सिमित क्षेत्रमा भने खुकुलो नीति अबलम्बन गरेको छ ।
सेयर बजारमा कारोकार सुरु हुँदा कम्पनीको सेयर मूल्यमा सीमा तय गरी सर्किट ब्रेकरको हालको प्रणालीलाई पनि केही परिस्कृत गरेर कारोबार गराउने तयारीमा धितोपत्र बोर्ड र नेप्से रहेका छन् । त्यसका साथै नियमित समयमा ५ घण्टा कारोबार हुने पुँजी बजारमा त्यो समयमा पनि घटाएर सिमित समयका लागि मात्र खुला गर्ने तथा कारोबार विधिमा समेत केही परिवर्तन गरेर धितोपत्र बजार सञ्चालन गर्ने नेप्सेले जनाएको छ । हाल करिब साढे ६ लाख लगानीकर्ता मेरो सेयरमा आवद्ध रहेका छन् । करिब २२ हजार लगानीकर्ताले अनलाइनमार्फत सेयर कारोबार गर्ने लगइन लिएको अवस्था छ । मेरो सेयरमा आवद्ध भएका लगानीकर्ताले इडिआइएस मार्फत फोन तथा इन्टरनेटको माध्यबाट सेयरको बिक्री गर्न सक्छन् ।
संकटपूर्ण अवस्था कहिलेसम्म लम्बिन्छ भन्ने निश्चित नभएको अवस्थामा सेयर बजारलाई पनि सधैं बन्द राख्न नहुने भन्दै धितोपत्र बजार सम्बद्ध निकायहरु खुलाउनेतर्फ जुटेका हुन् ।
सेयर दलाल, केन्द्रिय निक्षेप प्रणाली तथा सम्बद्ध पक्षहरुसँगको छलफल जारी रहेको छ । मेरो शेयर लिएका लगानीकर्ताले इडिआईएसबाट सेयर राफसाफ गराउनुका साथै क्लियरिङ हाउसको कनेक्ट आईपीएस प्रणालीबाट रकम भुक्तानीको व्यवस्था हुनेछ । यसका लागि क्लियरिङ हाउसले १ बजेसम्मको कारोबार र राफसाफ गराउन सहयोग गर्ने जनाइसकेको छ । सेयर दलाल तथा सम्बद्ध पक्षका कर्मचारीलाई सहज रुपमा आवतजावत गर्नका लागि पास पनि पलब्ध गराउने तयारी समेत अघि बढेको छ ।


सातामा धेरै पढिएको