रासस
आइतवार, चैत्र ९, २०७६
1017

कोरोना भाइरसको त्रासले सेयर बजारसमेत प्रभावित भएको छ । सोही कारण नेप्सेमा चरम उतारचढावसमेत देखा परेका छन् । यस साता लगानीकर्तामा पनि एक प्रकारको नकारात्मक अवस्था देखा प-यो ।
नेपाल स्टक एक्सचेञ्जका अनुसार साताभर कुल १ सय ७४ कम्पनीका कुल २ करोड २७ लाख १९ हजार १ सय २२ कित्ता सेयर ८ करोड २६ लाख ९५ लाख २ हजार ७ सय ११ रुपैयाँबराबरको कारोबार भयो ।

साताको पहिलो दिन नेप्से परिसूचकमा भारी गिरावट देखा प-यो । सेयर कारोबारमा सहजता ल्याउन भन्दै नेपाल धितोपत्र बोर्डको निर्देशनमा नेपाल स्टक एक्सचेञ्जले कारोबार समय थप गरेर ४ बजेसम्म पु-याएको भए पनि बजारमा उत्साह देखिन सकेन । त्यस दिन नेप्से परिसूचक ६४.१४ अंकले घटेर एक हजार ३१३.०४ मा पुग्यो । कुल १७४ कम्पनीका ५५ लाख ७० हजार ३० कित्ता सेयर २ अर्ब १० करोड १४ लाख १७ हजार २ सय ९२रुपैयाँमा खरिद बिक्री भए ।
सोमबार नेप्से परिसूचक झिनो अंकले वृद्धि भयो । त्यस दिन नेप्से ३.३५ ले वृद्धि भई एक हजार ३१६.३९ मा पुग्यो । कुल १ सय ६० कम्पनीको ४१ लाख ९१ हजार ४ सय १५ कित्ता सेयर १ अर्ब ६१ करोड ५३ लाख ४१ हजार ८ सय ७७ रुपैयाँमा खरिद बिक्री भए ।
मंगलबार नेप्से परिसूचक भारी अंकले ओरालो लाग्यो । त्यस दिन नेप्से परिसूचक ४४.३३ अंकले घटेर एक हजार २७२.०६ मा पुग्यो । घटेको बजारमा कारोबार रकम भने झन्डै डेढ अर्बबराबर भएको छ । कुल १ सय ७५ कम्पनीको ४३ लाख ६७ हजार ७ सय ७५ कित्ता सेयर १ अर्ब ४६ करोड ५१ लाख ८४ हजार ६ सय ५६ रुपैयाँमा खरिद बिक्री भए ।
बुधबार पनि नेप्से परिसूचक ओरालो लाग्ने क्रम रोकिएन । त्यसदिन नेप्सेमा १६.२६ अंकले गिरावट भयो । कुल १ सय ७२ कम्पनीको ३४ लाख ८३ हजार २ सय २१ कित्ता सेयर १ अर्ब १८ करोड ४४ लाख १६ हजार ८ सय ७८ रुपैयाँमा खरिद बिक्री भए ।
साताको अन्तिम दिन बिहीबार नेप्सेमा सामान्य सुधार देखाप-यो । त्यस दिन नेप्सेमा १३.५० ले वृद्धि भई एक हजार २६९.३० मा पुग्यो । नेप्सेको उकालो यात्रासँगै कारोबार रकमसमेत बढेर झन्डै २ अर्ब रुपैयाँको हाराहारीमा पुग्यो । कुल १ सय ७३ कम्पनीको ५१ लाख ६ हजार ६ सय ८१ कित्ता सेयर १ अर्ब ९० करोड ३१ लाख ४२ हजार ८ रुपैयाँबराबरको कारोबार भयो ।
चार कम्पनीको सेयर सूचीकृत
साताभर बजारमा विभिन्न चार कम्पनीका कुल ६९ लाख २४ हजार ३ सय १२ कित्ता सेयर सूचीकृत भए । त्यसमा कृषि विकास बैंकको कुल ५४ लाख ९ हजार ३ सय १७ कित्ता सेयर लाभांश, गणपति माइक्रो फाइनान्सको ७२ हजार ४ सय ५० कित्ता सेयर लाभांश, आईसीएफसी फाइनान्सको चार लाख ४३ हजार २ सय ९६ कित्ता सेयर लाभांश र आरएमडीसी लघुवित्तको कुल ९ लाख ९९ हजार २ सय ४८ कित्ता सेयर लाभांश सूचीकृत भएको छ ।