कारोबार संवाददाता
सोमवार, चैत्र ३, २०७६
878

चारबाट पाँच घण्टा कारोबार हुन थालेको पहिलो दिन सेयर बजार फराकिलो अन्तरले पनि घटेको छ । आइतबार नेप्से परिसूचक ६४ अंकले घटेर १ हजार ३१३ अंकमा आएको छ । चार घण्टा कारोबार हुँदा दैनिक सवा दुई अर्बमाथि किनबेच हुन्थियो । पाँच घण्टा कारोबार हुँदा पनि किनबेच २ अर्ब १० करोड रुपैयाँको मात्र भएको छ । बिहीबार मात्रै २ अर्ब २२ करोडको किनबेच भएको थियो ।
१ सय ७४ कम्पनीको किनबेच भएकोमा तीनवटा कम्पनीका लगानीकर्ताले मात्र कमाएका छन् । युनाइटेड मोदी, सिन्धु विकास बैंक र ओमी माइक्रोफाइनान्सले एक प्रतिशतभन्दा कमले कमाएका हुन् । बजारका सबै उपसूचक ओरालो लागेका छन् । खासगरी जीवन बिमा ६२२ र निर्जीवन बिमा ४१७ अंकले झरेको छ । वाणिज्य बैंक समूह पनि ५७ अंकले झरेको छ भने अन्य समूह १८ अंकले ओर्लिएको छ । लघुवित्त सूचक ९३ अंकले छटेको छ । सामुदायिक लघुवित्त र हिमालयन जेनरल इन्स्योरेन्स कम्पनीका लगानीकर्ताले सर्वाधिक १० प्रतिशतले गुमाएका छन् । नौवटा कम्पनीको सेयर मूल्य ९ प्रतिशतभन्दा बढीले घटेको छ । बजारमा गत साताजस्तै सर्वाधिक सेयर किनबेच नेपाल लाइफ, एनआईसी एसिया र एनएमबी बैंकको भएको छ । नेपाल लाइफको १७ करोड ३६ लाख, एनआईसी एसिया ११ करोड ४६ लाख र एनएमबी बैंक १० करोड ५६ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।