कारोबार संवाददाता
बुधवार, फाल्गुन २८, २०७६
872

धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचकमा उच्च अंकको गिरावट आएपछि नेपाल स्टक एक्सचेञ्जले सर्किट लगाएको छ । सेयर बजार मंगलबार पुनः नकारात्मक सर्किट लगाउनुपर्ने गरी ओरालो लागेको हो । गत बिहीबारपछि मंगलबार खुलेको बजारमा कारोवारको सुरुवातीदेखि नै ओरालोको यात्रा तय गरेको हो । स्टकले कारोवार मंगलबार दिउँसो ३ बजेसम्मका लागि स्थगित गरेको छ । नेप्सेका अनुसार नेप्से ६.०२ प्रतिशत बढीले ओरालो लाग्दा नकारात्मक सर्किट लगाइएको हो । मंगलबार १ बजेर १३ मिनेटमा नेप्सेले सर्किट लगाएको हो ।
पहिलो पटक ११ बजेर ५९ मिनेटमा ४ प्रतिशतले बजार घटेपछि सर्किट लागेको थियो । त्यसपछि १२ बजेर ३१ मिनेटमा पनि ४ प्रतिशतले नै नेप्से ओरालो लागेपछि ४० मिनेटका लागि कारोबार स्थगित गरिएको थियो । पुनः १ बजेर १३ मिनेटमा बजार ६ प्रतिशतले घटेपछि कारोबार बन्द भएको छ ।

नेप्से ८६.३९ विन्दुले घटेर एक हजार ३४९.३१ मा पुगेको छ । यस्तै सेन्सेटिभ परिसूचक १७.३५ ले घटेर २९०.३६ मा पुगेको छ । सर्किट लाग्नुअघि कुल १ सय ६१ कम्पनीको २७ लाख ३५ हजार ४ सय १८ कित्ता सेयर १ अर्ब ७ करोड ६६ लाख ९६ हजार ३ सय रुपैयाँबराबरको कारोबार भएको थियो ।
नकारात्मक सर्किट लागेको बजारमा नेपाल लाइफ इन्स्योरेन्सको मात्रै ८ करोड ५८ लाख ९९ हजार ४ सय १३ रुपैयाँबराबरको कारोबार भएको छ । यस्तै एनआईसी एसिया बैंकको ८ करोड २० लाख ५५ हजार १ सय १४ रुपैयाँ र एनएमबी बैंकको ६ करोड ७९ लाख ६४ हजार ४ सय ८९ रुपैयाँबराबरको कारोबार भएको छ ।