भुवन पौडेल
बुधवार, फाल्गुन २८, २०७६
1924

•एभरेष्ट बैंकले एक सय कित्ता सधारण सेयर खरिद गर्ने लगानीकर्ताको आजको मितिमा हकप्रद र बोनस सेयर गरेर २२ वर्षको अवधिमा ६ हजार ५४८ कित्ता सेयर पुगेको छ । त्यसैगरी एक सय कित्ता साधारण सेयरमा लगानी गरेको लगानीकर्ताले नगद लाभांशवापत हालसम्म कुल ४ लाख ८१ हजार ६४ रुपैयाँ प्रतिफल लिइसकेको अवस्था छ । यो अवधिमा बैंकले आर्थिक वर्ष २०५७-५८ मा शतप्रतिशत र आर्थिक वर्ष २०७३-७४ मा ३० प्रतिशत हकपद सेयर निष्कासन गरेको थियो । बैंकको प्राथमिक निष्कासनमा १० हजार रुपैयाँ लगानी गर्ने लगानीकर्ताको आजसम्मको लगानी १ लाख ३७ हजार २ सय रुपैयाँ पुगेको छ । 

• आजभन्दा ३२ वर्ष अघि स्ट्याण्डर्ड चार्टर्ड बैंकको एक सय कित्ता साधारण सेयरमा लगानी गरेका लगानीकर्ताले हालसम्म १० हजार रुपैयाँमात्र लगानी गरेका छन् भने कुल २३ लाख ९७ हजार ९ सय ६ रुपैयाँ नगद लाभांश लिइसकेका छन् । त्यसैगरी एक सय कित्ता साधारण सेयरमा लगानी गर्ने लगानीकर्तासँग आजको मितिमा १४ हजार ७४२ कित्ता सेयर छ । बैंकले सर्वसाधारणमा सेयर बिक्री गर्दा पहिलो पटक ६० रुपैयाँ प्रतिकित्तामा बिक्री गरेको थियो । साधारण जारी गरेपछिको तेस्रो वर्षमा प्रतिकित्ता थप ४० रुपैयाँका दरले लगानीकर्तावाट उठाएको थियो । यो अवधिमा बैंकले हकप्रद सेयर जारी गरेको छैन । 

धितोपत्र बजारमा दीर्घकालीन रूपमा उपयुक्त कम्पनी छनोट गरेर सेयरमा लगानी गरेको खण्डमा नोक्सानी नहुने पक्का देखिन्छ । माथिको उदाहरणमा लिइएका विदेशी लगानी रहेका बैंकले आफ्नो आम्दानीवाट सेयरधनीलाई दिएको प्रतिफललाइ हेर्दा पनि पुँजी बजारमा कारोबारीभन्दा पनि लगानीकर्ता हुन सुझाव दिएको स्पष्ट हुन्छ । कम्पनी छनोट गरेर लगानी गरेको खण्डमा धितोपत्रको दोस्रो बजारमा हुने सेयर मूल्यको उतारचढावमा अवसर खोज्नु नपर्ने देखिन्छ ।
जोखिम लिन चाहने र छोटो समयमा कम्पनीले दिने प्रतिफलभन्दा धेरै आम्दानी गर्न चाहने लगानीकर्ताले मात्र दोस्रो बजारको विषयमा सोच्दा उपयुक्त हुन्छ । दोस्रो बजारमा पनि दीर्घकालीन लगानीको योजना बनाए प्रवेश गरेको खण्डमा नोक्सानी नहुने देखिन्छ । धितोपत्र बजारमा दीर्घकालीन योजना बनाई लगानी गरेको खण्डमा पुँजी बजार आफैँ अनुशासित हुने देखिन्छ । सेयर बजार सूचक छोटो अवधिमा उच्च अंकले बढ्नेबाट घट्ने अवस्था आउनुमा कारोबारको ठूलो भूमिका हुने सेयर लगानीकर्ता संघका अध्यक्ष उत्तमराज अर्याल बताउँछन् । “छोटो अवधिमा धेरै कमाउन खोज्दा गुम्छ पनि, त्यसैले पुँजी बजार भनेको दीर्घकालीन लगानीको क्षेत्र हो,” उनले भने, “प्राथमिक बजार होस वा दोस्रो बजार दीर्घकालीन योजनासहित लगानी गरेको खण्डमा नोक्सानी हुँदैन ।”
सेयर बजारलाई क्यासिनो जस्तो नभइ अनुशासित दीर्घकालीन लगानीको क्षेत्रको रूपमा विकास गर्नु पर्ने अर्यालको भनाइ छ । धितोपत्रको दोस्रो बजारमा छोटो अवधिमा कमाउने उद्देश्यसहित कारोबारी हावी हुँदा बजारमा विभिन्न खालका चलखेल हुने उनको विश्लेषण छ । उनकाअनुसार सेयर बजारमा कारोबारी हावी हुँदा अस्वाभाविक रूपमा उतारढाव आउने भए पनि दीर्घकालीन लगानीकर्ता अत्तिनु पर्दैन । सेयर बजारका कारोबारीले अल्पकालीन लगानी उच्च प्रतिफलको अपेक्षा गर्ने भएकाले सेयर मूल्यमा उच्च घटबढ हुन्छ । तर, उनीहरूको गुमाउने सम्भावना पनि उत्तिकै हुन्छ त्यसैले कारोबारले पनि नोक्सानीलाई सन्तुलनमा ल्याउनका लागि प्राथमिक बजारमा पनि लगानी गर्ने गर्छन् । जलविद्युत् कम्पनीमा बाहेक प्राथमिक निष्कासनमा लगानी गर्ने लगानीकर्ताले कहिल्यै पनि नोक्सानी बेहोर्नु नपर्ने सेयर विश्लेषक प्रकाश तिवारी बताउँछन् । “बजारमा चलखेल गर्ने सेयर कारोबारीले पनि नोक्सानी कम गर्नका लागि साधारण सेयरमा समेत लगानी गरेका हुन्छन्,” तिवारी भन्छन्, “ठूला लगानीकर्ता भनेकाले समेत प्राथमिक बजारमा लगानी गरेर दोस्रो बजारको नोक्सानी कम गरेको हुन्छ ।” साधारण सेयमा लगानी गर्दा औसत प्रतिफल करिब २७० प्रतिशतको हाराहारीमा रहेको तिवारीले बताए ।
साधारण सेयर सूचीकरण भएपछि नेपाल स्टक एक्सचेन्ज (नेप्से) मार्फत बिक्री गर्दा नै २७० प्रतिशतको औसत नाफा छ । त्यसैले वार्षिक ५ देखि २० प्रतिशतसम्म प्रतिफल दिने कम्पनीको सेयरमा दीर्घकालीन लगानी गरेको खण्डमा नोक्सानी नहुने उनको तर्क छ । “५ प्रतिशत डेभिडेण्ड इल्ड भएको कम्पनीको सेयरमा लगानी लगानी गरेर कारोबार नगरेको खण्डमा लगानीकर्तालाई घाटा हुँदैन,” तिवारीले भने । सेयर बजारमा अल्पकालीन लगानी याजना बनाइ कारोबार गरेको खण्डमा घाटा हुने जोखिम झनै उच्च हुने उनको तर्क छ । धितोपत्र बजारमा दीर्घकाली योजना बनाएर कुनै पनि समय लगानी सुरु गरेको अवस्थामा घाटा नहुने देखिन्छ ।
त्यसैले लगानीकर्ता आफूले कुन कम्पनीको सेयरमा लगानी गर्दैछु भन्ने अध्ययन गरेर उपयुक्त कम्पनी छनोट गरेको खण्डमा जग्गामा गरेको लगानीले भन्दा सेयरको लगानीले उपयुक्त प्रतिफल दिने स्पष्ट हुन्छ । प्रतिफलको हिसावमा जग्गाको लगानीलाइ पहिलो प्राथमिकतामा राख्ने गरेको पाइन्छ । दीर्घकालीन योजनासहित उपयुक्त कम्पनी छनोट गरेमा सेयर बजार नै प्रतिफलको दृष्टिकोणले पनि प्राथमिकतामा पर्ने देखिन्छ ।