कारोबार संवाददाता
आइतवार, फाल्गुन २५, २०७६
466

धितोपत्र बजारमा यस साता सेयर कारोबार मापक नेप्से परिसूचक उतारचढावपूर्ण अवस्थामा रह्यो । अघिल्लो साता निकै उच्च बिन्दुले बढेको बजार यस साता तुलनात्मक रूपमा ओरालो लाग्यो । ५ कारोबार दिनमा एकाध दिनमात्रै बजारले उकालोको यात्रा तय ग-यो ।
यस साता बजारले नकारात्मक सर्किटसमेत सामना गर्नुप-यो । यस्तै नेपाल स्टक एक्सचेञ्जको प्रणालीमा समस्या आउँदा लगानीकर्ता मर्कामा समेत परे । साताको पहिलो दिनदेखि नै ओरोलो लागेको बजार अन्तिम दिनसमेत ओरोलो नै लागेर बन्द भयो । बजारमा अल्पकालीन नाफा कमाउने प्रवृत्ति हावी हुँदा बजारले नकारात्मक लय समात्न पुग्यो ।

साताभर कुल १ सय ८१ कम्पनीको कुल ३ करोड १६ लाख ५५ हजार ५ सय ८३ कित्ता सेयर १३ अर्ब ७६ करोड रुपैयाँबराबरको कारोबार भयो । नेपाल स्टक एक्सचेञ्जका अनुसार आइतबार नेप्से ४०.८२ अंकले घटेर १ हजार ५९१.३६ मा पुग्यो । सो दिन कुल १ सय ८३ कम्पनीका १ करोड २५ लाख १७ हजार २ सय १७ कित्ता सेयर ४ अर्ब ८४ करोड ७४ लाख ३७ हजार ५ सय ५ रुपैयाँमा खरिद बिक्री भयो ।
यस साता सोमबार भने नेप्सेमा नकारात्मक सर्किट नै लाग्न पुग्यो । सोही कारण त्यस दिनको कारोबार नै स्थगित भयो । नेप्से परिसूचक ६ प्रतिशतले ओरालो लागेपछि त्यस दिनको कारोबार स्थगित भयो । नेप्सेका अनुसार त्यस दिन दिउँसो १ बजेर २९ मिनेटदेखि कारोबार स्थगित गरिएको थियो । बिहान ११ बजे खुलेको बजार निरन्तर ओरालो लाग्दै १ बजेर २९ मिनेटसम्म पुग्दा नेप्से ९६.०६ विन्दुले झरेको थियो । उक्त गिरावट प्रतिशतका आधारमा ६.०६ हो । त्यस दिन कुल १ सय ७३ कम्पनीको ४९ लाख ८६ हजार ५ सय ४४ कित्ता सेयर २ अर्ब १५ करोड ४४ लाख २८ हजार २ सय १५ रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै मंगलबार नेप्सेको अनलाइन प्रणालीमा समस्या आउँदा कारोबार केही समय स्थगित भयो । सो दिन भने कुल १ सय ८१ कम्पनीको ८२ लाख ११ हजार २ सय ८९ कित्ता सेयर ३ अर्ब ८५ करोड १६ लाख २२ हजार ९ सय ९६ रुपैयाँमा खरिद बिक्री भए । बुधबारसमेत नेप्से परिसूचकमा भारी गिरावट आयो । त्यस दिन नेप्से ६८.४७ अंकले घटेर १ हजार ४४१.२० मा पुग्यो । त्यस दिन कुल १ सय ७४ कम्पनीका ६७ लाख ७१ हजार १ सय ४१ कित्ता सेयर २ अर्ब ९० करोड ८४ लाख ७२ हजार ६ सय ३ रुपैयाँमा खरिद बिक्री भए ।
यस्तै बिहीबार पनि नेप्से परिसूचक ओरालो लाग्यो । नेप्से ओरोलो लागे पनि कारोबार रकम भने झन्डै अढाई अर्बको हाराहारीमा रहेको थियो । कुल १ सय ७९ कम्पनीको ५९ लाख ४० हजार ५ सय ३३ कित्ता सेयर २ अर्ब ४५ करोड ७० लाख ९३ हजार ४ सय ६३ रुपैयाँमा खरिद बिक्री भए ।