भुवन पौडेल
मंगलबार, फाल्गुन २०, २०७६
805

धितोपत्र बजारका कारोबारीले प्रतिफल सुनिश्चित गर्दा सोमबार सेयर बजारमा हालसम्मकै उच्च अंकको गिरावट आएको छ । विगत केही सातादेखि निरन्तर उच्च अंकले वढेको सेयर बजार सूचक सोही गतिमा घटेको हो । साताको पहिलो दिन आइतबारदेखि करेक्सन सुरु भएको बजार २ दिनमै करिब १३७ अंकले घटेको हो । आइतबारमात्र नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा करिब डेढ घण्टा कारोबार हुँदा बजार सूचक ६ प्रतिशत अर्थात ९६.०६ अंकले घटेर बन्द भएको छ । आइतबार आएको उच्च गिरवटलाई रोक्न नेप्सेले कर्किट ब्रेकर नै प्रयोग गरेर नियमित कारोकार समयभन्दा अघि सोमबारका लागि सेयर कारोबार नै बन्द गर्नु परेको थियो ।
सेयर बजारमा दीर्घकालीन लगानीकर्ताभन्दा पनि ठूला कारोबारीले हल्ला चलाएर बजारमा चलखेल गरेको विश्लेषण भइरहेको समयमा आइतबार र सोमबार आएको गिरावटले पुष्टि गरेको छ । अर्थमन्त्रीलाई आधार बनाएर कारोबारले बजारमा हल्ला चलाइ बढाएको बजारमा उनीहरूले प्रतिफल सुनिश्चित गर्न खोज्दा बजार घटेको विश्लेषकहरू बताउँछन् । अर्थमन्त्री डा. युवराज खतिवडा कायम रहने वा नरहने विषलाइ मात्र आधार बनाएर सेयर खरिद वा बिक्रीको निर्णय गर्नु परिपक्क बजारको संकेत नभएको विश्लेषकहरूको भनाइ छ ।

आइतबार निकै उचारचढावबीच पनि बन्द हुँदा ४० अंकले घटेको बजार सोमबार लगानीकर्तालाइ प्यानिक हुने गरी घटेको लगानीकर्ता विष्णु भण्डारीले बताए । बजारमा हल्ला फैलाएर बजारमा चलखेल गर्ने कारोबारीले प्रतिफल सुनिश्चितता गर्दा बजारमा उच्च अंकको गिरावट आएको भण्डारीको भनाइ छ । “धितोपत्र दलाल कम्पनीले नै सेयर कारोबारीको रूपमा सक्रिय भएकाले पछिल्ला दिनहरूमा बजार अस्वभाविक देखिएको छ,” उनले भने, “दलाल कम्पनीले नै प्रतिफल बुक गर्न केन्द्रित हुँदा बिक्री चाप उच्च भएपनि बजारमा ९६ अंकको गिरावट आएको हो ।”
नेपाली सेयर बजारमा संस्थागत लगानीकर्ता पनि व्यक्तिगत लगानीकर्ता जस्तो हतासमा निर्णय गर्ने भएकाले बजारमा स्थिरता नदेखिएको नेपाल स्टक ब्रोकर एसोसिएसनका अध्यक्ष भरत रानाभाटले बताए । “संस्थागत तथा व्यक्तिगत लगानीकर्ता दुवैले नाफा बुकभन्दा पनि बजार अब घट्छ भनेर नोक्सानी कम गर्न बिक्री गर्न थाल्था उच्च अंकको गिरावट आएको हो,” उनले भने, “सेयर लगानीकर्ताभन्दा कारोबारी हावी भएकाल बजार अस्थिर देखिएको हो ।” बजारमा उच्च अंकको सुधार तथा गिरावट आउदा ब्रोकरले आफ्नो सेयरको कारोबारमा ध्यान दिन नभ्याउने समेत उनले बताए । “लगानीकर्ताले जस्तो अर्को अवसर नै नआउने गरी ब्रोकरले हतारिएर बिक्री गर्दैनन्,” उनले भने, “ब्रोकरले कारोबार गर्ने आफ्नै  कम्पनीवाट होइन अन्य कम्पनीले ब्रोकर र सर्वसाधारणलाई गर्ने व्यवहार एउटै हो ।” सामान्यतया घटेको र बढेको बजारमा धितोपत्र दलाल कम्पनीले सेयर खरिद गरेर वा बिक्री गरेर भन्ने आरोप आउने गरेको भएपनि धितोपत्र ब्रोकरले बजारमा एउटा भन्दै अवसर नै नआउने भन्ने सोचमा नबस्ने गरेको उनले बताए ।
गत मंसिर २ गते १११० अंकको रहेको नेप्से परिसूचक फागुन १५ गते १६३२ अंकका पुगेको थियो । पछिल्लो साढे २ महिनाको अवधिमा नेप्से परिसूचक ५२२ अंकले वढेको थियो । तर, यो साताको २ दिनमा नै नेप्से परिसूचक १३६ अंकले घटेको छ । १११० को विन्दुवाट सेयर बजार निरन्तर उच्च अंकले वढेको अवस्थमा नै जोखिम समेत वढ्दै गएको अवस्था थियो । आइतबार र सोमबारको गिरावटले सेयर बजार जसरी वढ्छ त्यसरीनै घट्छ भन्ने स्पष्ट सन्देश पनि देखिएको छ । योसातामा देखिएको गिरावटका कारणले लगानीकर्ता आत्तीन पर्ने अवस्था नरहेको धितोपत्र बोडृका अध्यक्ष भीष्मराज ढुंगानाले बताए । “बजार विकासका लागि आवश्यक पुर्वाधार तयार हुने क्रममा रहेको र समग्र अर्थतन्त्र पनि सकारात्मक रहेको हुनाले अहिलेको गिरावटकै कारणले लगानीकर्ताले आत्मवल कमजोर बनाउन पर्ने कारण छैन,” उनले भने, “बजार विकासका लागि काम अघि बढिरहेको हतासमा सेयर खरिद वा बिक्रीको निर्णय गर्न हुँदैन ।” उच्च अंकको सुधार तथा गिरावट आएको समयमा लगानीकर्ता भने जोखिम विश्लेषण गरेर लगानीको निर्णय गर्न समेत ढुंगानाले सुझाएका छन् ।
सोमबार नेप्सेमा १२ बजेर ४६ मिनेटमा ५ प्रतिशत बढीले घटेर नकारात्मक सर्किट लागेको थियो । ४० मिनेटपछि १ बजेर २६ मिनेटमा खुलेको बजार २ मिनेट नपुग्दै थप १६.४९ अंकले घटेपछि दिनभरीका लागि बजार बन्द भएकोे हो । उच्च अंकले निरन्तर बढेको सेयर बजारमा सोमबार सबै कम्पनीहरूको सेयर मूल्यमा ठूलो गिरावट आएपछि नेप्से सूचक हालसम्मकै उच्च अंकले घटेको हो । सोमबार नेप्से सूचक ९६.०६ अंक अर्थात ६.०४ प्रतिशतले घटेर १४९५.३० अंकमा झरेको छ । नेप्सेमा कारोबार भएका सबै समूहको सूचक घटेका छन । नेप्सेमा कारोबार भएका समूहगत परिसूचकमध्ये म्युचअल फण्डको सबैभन्दा कम १.७४ प्रतिशतदेखि निर्जीवन बिमाको सूचक सबैभन्दा धेरै ७.४६ प्रतिशतले घटेको छ ।