कारोबार संवाददाता
आइतवार, फाल्गुन १८, २०७६
416

लगातार उकालो लागेको धितोपत्र बजारमा सेयर कारोबार नेप्से परिसूचकले नयाँ इतिहास कायम गरेको छ । साताको चार दिन बजार उच्च अंकले बढ्यो भने एक दिन सामान्य गिरावट भयो । सातामा नेप्से परिसूचक १९७.६० अंकले बढ्यो ।
नेपाल स्टक एक्सचेञ्जका अनुसार साताभर कुल १ सय ८० कम्पनीका ४ करोड ४९ लाख ४४ हजार १ सय १३ कित्ता सेयर कुल १८ अर्ब ६२ करोड ६६ लाख २२ हजार ४ सय ७ रुपैयाँमा खरिद बिक्री भए । साताको पहिलो दिन नेप्सेमा उच्च अंकको वृद्धि देखियो । आइतबार नेप्से झन्डै ७० अंकले बढ्यो । ‘बुलिस टे«न्ड’ देखिएको बजारमा नेप्से ६९.५६ ले वृद्धि भएर १ हजार ५०४.१४ मा पुग्यो ।

लामो समयपछि बजारमा आइतबार ‘सर्किट ब्रेक’समेत लगाउनुप-यो । लगानीकर्ता ओइरिएर सेयरको माग उच्च भएपछि नेप्सेमा चर्को दबाब पर्न गयो । सोही कारण कारोबार सुरु भएको दोस्रो घण्टामा नै सर्किट ब्रेक लगाउनुपरेको थियो । सो दिन कुल १ सय ७८ कम्पनीका ८७ लाख ६९ हजार ५ सय २२ कित्ता सेयर ३ अर्ब ६० करोड ८५ लाख २६ हजार ३ सय ५४ रुपैयाँमा खरिद बिक्री भए ।
साताको दोस्रो दिन नेप्सेमा सामान्य गिरावट आयो । सोमबार नेप्से १.९६ ले घट्यो । नेप्से झिनो अंकले घटे पनि कारोबार रकम भने ३ अर्ब माथि रह्यो । सो दिन कुल १७९ कम्पनीका कुल ८३ लाख ४८ हजार २ सय ३४ कित्ता सेयर ३ अर्ब ४१ करोड ५ लाख १६ हजार २ सय ७८ रुपैयाँबराबरको कारोबार भए ।
सोमबार केही गतिरोध आएको बजारमा मंगलबार भने भारी सुधार देखियो । उक्त दिन नेप्से ४३.०२ ले बढ्यो । नेप्सेको उच्च अंकको वृद्धिसँगै कारोबार रकममा समेत वृद्धि भयो । कुल १ सय ८० कम्पनीका ७० लाख ५९ हजार ७ सय १२ कित्ता सेयर २ अर्ब ९९ करोड २१ लाख ६० हजार ५ सय २४ रुपैयाँबराबरको सेयर खरिद बिक्री भए ।
धितोपत्र बजारमा नेप्से परिसूचकमा उच्च वृद्धि हुनेक्रम बुधबार पनि जारी रह्यो । सो दिन नेप्से परिसूचक ५०.९३ अंक बढ्यो । बुधबार कुल १ सय ८० कम्पनीका ९९ लाख ६ हजार ९ सय ८९ किता सेयर ४ अर्ब १५ करोड ४८ लाख ८३ हजार रुपैयाँमा कारोबार भए ।
साताको अन्तिम दिन नेप्से ३६.०५ अंकले बढेर १ हजार ६३२.१७ मा पुुगेर रोकियो । नेप्सेमा भारी वृद्धि हुँदा कारोबार रकम झन्डै साढे ४ अर्ब पुग्यो । बिहीबार कुल १ सय ८० कम्पनीका १ करोड ८ लाख ५९ हजार ६ सय ५६ कित्ता सेयर ४ अर्ब ४६ करोड ५ लाख ३६ हजार २ सय ५१ रुपैयाँमा खरिद बिक्री भए ।