कारोबार संवाददाता
शुक्रवार, फाल्गुन १६, २०७६
691

पछिल्लो एक सातामा करिब २ सय बिन्दुले बढेर सेयर बजार परिसूचक नेप्से साताको अन्तिम दिन पनि नयाँ उचाइ लिँदै १६३२.१७ अंकमा बन्द भएको छ । आइतबार १४३४.५८ मा खुलेको बजार साताको अन्तिम दिन बिहीबार भने १६३२.१७ अंकमा बन्द भएको छ ।
सेयर बजार मापन गर्ने नेप्से परिसूचकमात्रै नभएर कारोबार रकममा पनि हालसम्मको नयाँ कीर्तीमान बनाउँदै बिहीबार एकैदिन ४ अर्ब ४६ करोड रुपैयाँको कारोबार भएको छ । बजारमा १ सय ८० कम्पनीका १० लाखभन्दा बढी कित्ता सेयर ४ अर्ब ४६ करोड रुपैयाँका कारोबार भएको नेप्सेले विज्ञप्तिमा जनाएको छ ।

बुधबार ४ अर्ब १५ करोड रुपैयाँको सेयर किनबेच भएको बजारमा बिहीबार राजनीतिक समाचारको प्रभावले बजार बढ्छ कि घट्छ भन्ने दोधार रहँदा रहँदै लागनीकर्ताहरू वाणिज्य बैकको सेयरमा झुम्मिन पुग्दा बजारले नयाँ उचाइ छोएको हो । बिहीबार कारोबार भएकामध्ये १० वटा कम्पनीको किनबेच १० करोडमाथि रहेको छ ।
यस साता सोमबार एकदिन मात्रै बजार थोरै अंकले घटेपनि अन्य कारोबार दिनमा भने नेप्से तथा कारोबार रकम दुवै बढ्दै आएका थिए । बजार बढ्न थालेपछि ठूला लगानीकर्ताहरू पनि बजारमा प्रबेश गरेको भन्दै लगानीकर्ताहरू उत्साहित भएको देखिएको छ । लगानीकर्ताहरूका अनुसार कोरोना भाइरस प्रभावले खुद्रा व्यापारी तथा सुनको भाउ बढ्नाले अन्य पनि सेयर बजारमा आकर्षित भएका हुन् । तर बजारको यसप्रकारको वृद्धि भने जोखिमयुक्त हुने विश्लेषकहरू बताउँछन् ।
बजारमा विहीबार कुल १८० कम्पनीको कारोबार भएकोमा नेपाल लाइफको २८ करोड ९२ लाख रुपैयाँको किनबेच भएको छ भने एनआइसी एसियाको २० करोड ५९ लाख रुपैयाँको किनबेच भएको छ ।
एनएमबि बैंकको १५ करोड ७० लाख, नबिल बैंकको १५ करोड ३० लाख, शिवम् सिमेन्टको १४ करोड ८९ लाख, प्रभु बैंकको ११ करोड ८३ लाख, हिमालयन डिस्टिलरीको ११ करोड ५८ लाख, ग्लोबल आइएमइ बैंकको ११ करोड ५७ लाख, नेपाल बैंकको ११ करोड २ लाख र एभरेष्ट बैंकको १० करोड ६३ लाख रुपैयाँको सेयर किनबेच भएको नेप्सेले जनाएको छ । एभरेष्ट बैंकको सेयरमा बढेर सर्किट ब्रेकर लागेको छ ।
बिहीबार वाणिज्य बैंकहरूको सेयर मूल्य धेरै बढेको कारण वाणिज्य बैकको सूचक ८३ अंकले उक्लिएको छ भने विकास बैंकको ३८.६५ अंक र उत्पादन तथा प्रशोधनको १६.४५ अंकले बढेको छ । यी दिन उपसमुह बाहेक अन्यको भने बजार बन्दा हुँदा परिसूचक घटेको छ ।