कारोबार संवाददाता
बिहिवार, फाल्गुन १५, २०७६
622

गत सातादेखि रेकर्ड राख्दै अगाडि बढेको सेयर बजारले बुधबार दिनभर भएको तीब्र उतारचढावबीच ४ अर्ब भन्दा बढीको कारोबार भएर सेयर कारोबार रकममा नयाँ किर्तिमान राखेको छ ।
यस्तै, सेयर बजारमा मापक नेप्से परिसूचक पनि ५० दशमलव ९३ अंकले बढेर १ हजार ५ सय ९६ दशमलव १३ मा पुगेको छ । मंगलबारको तुलनामा नेप्से परिसूचक ३ दशमलव ३० अंकले बढेको हो ।

कारोबार रकममा मात्रै नभएर बुधबार कारोबार संख्यामा समेत नेप्सेले किर्तिमान तोडेको छ । बुधबार दिनभरमा ३२ हजार १ सय ५४ कारोबारबाट ९९ लाख ६ हजार ९ सय ८९ कित्ता सेयर किनबेच भएका छन् । जसअनुसार कारोबार रकम ४ अर्ब १५ करोड ४८ लाख ८३ हजार ९२ रुपैयाँ पुगेको नेपाल स्टक एक्सचेञ्जले विज्ञप्तिमा जनाएको छ । गत आइतबार पनि कारोबार रकम, कारोबार संख्या र किनबेच भएको सेयरको संख्यामा पुँजी बजारको इतिहासमै नयाँ रेकर्ड कामय भएको थियो । आइतबार ३० हजार ४ सय ५६ कारोबारबाट कूल १७८ कम्पनीको ८७ लाख ६९ हजार ५२२ कित्ता सेयर किनबेच भएको थियो । साथै, आइतबार तीन अर्ब ६० करोड ८५ लाख २६ हजार ३५४ रुपैयाँको सेयर कारोबार भएर नयाँ किर्तिमान कायम भएको थियो । आइतबारको किर्तिमान तोड्दै बजारले बुधबार ४ अर्ब १५ करोड ४८ लाख ८३ हजार ९२ रुपैयाँको कारोबार भएर नयाँ किर्तिमान राखेको हो ।
कारोबार रकमका आधारमा बुधबार नेपाल लाइफ इन्स्यारेन्स कम्पनी पहिलो नम्बरमा देखिएको छ । नेपाल लाइफको करिब २२ करोड रुपैयाँ बराबरको सेयर किनेबेच भएका छन् भने १८ करोड ४९ लाख रुपैयाँ भन्दा बढीको कारोबार गर्दै शिवम् सिमेन्ट दोस्रो नम्बरमा देखिएको छ र साथै, करिब १८ करोड रुपैयाँको सेयर कारोबार भएर नेपाल बैंक तेस्रो नम्बरमा देखिएको छ ।
बजार तीब्र गतिमा बढेकोले बुधबारबाट करेक्सन सुरु हुन्छ भन्ने सेयर विश्लेषकहरुको धारणालाई बजार नेकपाले अर्थमन्त्री डा. युवराज खतिवडाको ठाउँमा बाबदेव गौतमलाई राष्ट्रिय सभा सदस्यमा नियुक्त गर्ने निर्णयको हल्ला चलेपछि बजारले फेरि किर्तिमान कायम गरेको लगानीकर्ताहरुले बताए ।
खतिवडालाई सेयर बजार बिरोधिका रुपमा चित्रित गर्दै आएका लगानीकर्ताहरु उनी नदोहोरिने हल्लाका कारण बजारमा कारोबार रकममा नयाँ किर्तिमान भएको यनीहरु बताउँछन् ।
चालू साता आइतबारदेखि सोमबार एकदिन बाहेक हरेक कारोबार दिनमा बजारले किर्तिमान राखेको छ । आइतबारदेखि बुधबारसमेत गरेर बजारमा चार कारोबार दिनमा १६३ अंकको बृद्धि भएको छ ।
बुधबार सेयर बजारका सबै उपसूचकहरु हरियो भएका छन् । जीवन बीमा ५७१ अंक, निर्जीवन २३३ अंक, बाणिज्य बैंक ५० अंकले बढेको छ भने केही समय घटेको ब्यापार समूह पनि अन्ततः बढेको छ ।
बजार बढ्न थाले पनि ठूला लगानीकर्ताहरु पनि बजारम प्रबेश गरेको लगानीकर्ताहरुको भनाइ छ ।
लगानीकर्ताहरुका अनुसार कोरोना भाइरस प्रभावले खुद्रा ब्यापारी तथा सुनको भाउ बढ्नाले अन्य पनि सेयर बजारमा आकर्षित भएका छन् । गत महिनादेखि विस्तारै सुधारउन्मुख देखिएको सेयर बजारमा बुधबारको बजाले ऐतिहासिक कारोबार गर्दै नेप्से सूचक ३० महिना यता कै उच्च विन्दुमा गएको छ । तर बजारको यसप्कारु वृद्धि जोखिमयुक्त हुने विश्लेषकहरु बताउँछन् ।