भुवन पौडेल
सोमवार, फाल्गुन १२, २०७६
1891

धितोपत्र बजारको अस्वाभाविक उतारचढावमा जोखिम पनि सोही मात्रामा वढ्दै जान्छ । अस्थिर बजारमा हल्लाले धेरै काम गर्ने भएकाले उपयुक्त कम्पनी छनोट तथा पर्याप्त बजारको विश्लेषणबिना लगानी गर्ने प्रवृत्ति हावी हुने भएकाले उच्च जोखिम रहने गर्छ ।
तर, आइतबार नेप्सेमा हालसम्मकै उच्च ३ अर्ब ६० करोडको रूपैयाँ बरावरको सेयर कारोबार भएको छ । त्यसैगरी बजार परिसूचक नेप्से ६९.५६ अंकले वढेर १५०४.१४ अंकमा पुगेको छ । यसअघि गत बिहीबार फागुन ८ गते २ अर्ब ७८ करोडको रूपैयाँ बरावरको सेयर खरिद बिक्री भएको थियो ।

नेप्से परिसूचक फागुन १ गते देखि ११ गतेसम्मको अवधिमा १५९.५५ अंकल वढेर १५०४.१४ अंकमा पुगेको छ । यो अवधिमा नेप्सेमा ७ दिन मात्र कारोबार भएको छ । आइतबार नेप्सेमा कारोबार भएका अधिकांश कम्पनीको सेयर मूल्य वढेको छ । त्यसैगरी कारोबार भएका सम्पूर्ण समूहगत परिसूचक पनि बढेपछि समग्र बजार सकारात्मक भएको हो ।
पछिल्ला दिनहरूमा नेपाल स्टक एक्सचेन्ज(नेप्से) परिसूचकमा देखिएको निरन्तर उच्च अंकको सुधारले बजारमा जोखिम पनि बढेको संकेत गर्छ । लामो समयसम्म बियरिस ट्रेण्डमा रहेको नेप्से सूचक गत मंसिर महिनादेखि सुधारको गतिमा देखिएको छ । सेयर बजारले बियरिस ट्रेण्डको अन्त्य गरी बुलिस टे«ण्ड सुरु गरेको भएपनि नयाँ उचाइ नै बनाउने गरी बुल सुरु नभइसकेको विश्लेषकहरू बताउँछन् । तर, अर्थमन्त्रीलाइ दोष दिएका लगानीकर्ता अर्थमन्त्रीको बहिर्गमन हुने भन्दै उत्साहित भएको पनि देखिन्छ । कुनै एक व्यक्तिमा आधार गरेर सेयर किन्ने र बिक्री गर्न निर्णय झनै घातक रहने गरेको उनीहरू बताउँछन् ।
सेयर बजार सुधारिँदै जाँदा बजारमा नयाँ नयाँ लगानीकर्ता प्रवेशको क्रम बढेको एक लगानीकर्ताले बताए । वित्तीय क्षेत्रको कसिलो नीतिका कारण अन्य क्षेत्रहरूमा लगानी विस्तार हुन नसक्दा अल्पकालीन लगानीकर्ता बजारमा आएको हुनाले समग्र बजार बढेको ति लगानीकर्ताको तर्क छ । “पछिल्ला दिनहरूमा धितोपत्र दलालमार्फत सेयर बजारमा लगानी आएको तथा नीतिगत व्यवस्थामा भएको सहजीकरणले पनि दलाल कम्पनीलाइ लगानी गर्न सहज भएका कारण बजार वढेको हो,” ती लगानीकर्ताले भने, “एकै पटक आएको उच्च अंकको सुधारले भने बजारमा जोखिम बढाउँछ, त्यसमा कम्पनी छानेर र विश्लेषण गरेर लगानीको निर्णय लिनुपर्ने हुन्छ ।” विगतमा भन्दा अहिले बजार सुधारका कामहरू अघि बढेकाले पनि लगानीकर्ताको मनोबल बढेको उनको भनाइ छ । बजारका हल्ला भन्दा पनि लगानीकर्ताको मनोबल उच्च हुनुपर्ने उनको विश्लेषण छ ।
लामो समयसम्म निरन्तर घटेको बजारमा पछिल्ला दिनको सुधारले नै जोखिम बढाउँछ भन्न नमिल्ने नेपाल स्टक ब्रोकर एसोसिएसनका अध्यक्ष भरत रानाभाटले बताए । “बढिरहेको बजारमा अस्थिर खालको उच्च अंकका सुधार आउनु जोखिमयुक्त हुन्छ,” उनले भने, “पछिल्ला दिनमा नेप्सेमा देखिएको सुधार बुल भर्खर सुरु हुदाँको अवस्थाको भएको हुनाले जोखिम छ नै भनेर भन्न मिल्दैन ।” नीतिगत सुधार तथा बैंकिङ क्षेत्रको घट्दो ब्याजदरका कारण सेयर बजार सुधारको गतीमा गएको उनको तर्क छ ।
बजार परिसूचकसँगै नेप्सेको कारोबार रकम तथा बजार पुँजीकरणमा पनि उत्तिकै सुधार आएको छ । गत फागुन एक गते १७ खर्ब १५ अर्ब ७२ करोड रूपैयाँबाट बढेर १९ खर्ब १९ अर्ब ८७ करोड पुगेको छ । ७५ अंकसम्म बढेर ७० अंकमा बन्द भएको बजारमा आइतबारमात्रै बजार पुँजीकरण ८८ अर्ब ७८ करोड रूपैयाँले वृद्धि भएको हो । नेप्से परिसूचक बढ्दा बजार पुँजीकरण पनि स्वभाविक रूपमा बढ्छ । नेप्सेको बजार पुँजीकरण गणना गर्दा सूचीकृत कम्पनीको शेयर मूल्यको महत्वपूर्ण भूमिका हुन्छ । बजार पुँजीकरण भनेको सेयर बजारमा रहेको सम्पत्तिको आकार हो । नेप्सेमा सूचीकृत सेयरहरूको कुल बजारमूल्य अर्थात सम्पूर्ण सूचीकृत कम्पनीको सेयर मूल्य र सेयर संख्याको गुणनफल नै बजार पुँजीकरण मानिन्छ । बजार पुँजीकरण बढ्नु भनेको ती दिनमा किन्ने लगानीकर्ताको लागि नाफा भएको बुझिन्छ ।