कारोबार संवाददाता
आइतवार, फाल्गुन ११, २०७६
436

लगातार उकालो लागेको धितोपत्र बजारमा सेयर कारोबार नेप्से परिसूचकले नयाँ इतिहास कायम गरेको छ । साताभर बजारले उकालो यात्रा अर्थात् ‘बुलिस ट्रेन्ड ’ पछ्यायो । बजार उकालो लागेर डेढ वर्ष पहिलेको भन्दा माथिको अवस्थामा पुगेको छ । लगानीकर्तामा एक प्रकारको विश्वाससमेत पैदा भएको छ । यसले बजारमा नयाँ लगानीकर्तासमेत थपिएका छन् ।
नेपाल स्टक एक्सचेन्जका अनुसार साताभर कुल १ सय ८१ कम्पनीको ८ अर्ब ६९ करोड ८९ लाख ६५ हजार ४ सय ७४ मूल्य रुपैयाँबराबरका कुल र्२ करोड ५३ लाख ३३ हजार ५ सय ५९ कित्ता सेयर कारोबार भए । बजार ओरालो लागेर न्यून विन्दुमा आइपुगेको नेप्सेको उकालो यात्रासँगै कारोबारमा देखिएको यो सुधार पछिल्ला दिनको सबैभन्दा बढी हो ।

साताको पहिलो दिन आइतबार नेप्से परिसूचक झन्डै २० अंकले बढ्यो । सो दिन विभिन्न चार कम्पनीका सेयरमा सकारात्मक ‘सर्किट’समेत लागेको थियो । त्यस दिन नेप्सेमा १९.३९ ले वृद्धि भई एक हजार ३६३.९७ मा पुगेको थियो । कुल १ सय ७६ कम्पनीका ४१ लाख ५ हजार १ सय ३४ कित्ता सेयर १ अर्ब ९७ करोड ८१ लाख ८ हजार ७ सय १ रुपैयाँबराबरको कारोबार भए ।
सोमबार नेप्से परिसूचक ३४ अंकले बढ्यो । लगातार उकालो लागेको बजारमा त्यस दिन नेप्सेले नयाँ इतिहास कायम गरेको थियो । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्सेमा ३४.२४ विन्दुले बढेर एक हजार ३९८.२४ मा पुग्यो । झण्डै २ अर्ब ७० करोड जतिको कारोबार भयो । कुल १ सय ७५ कम्पनीका ६४ लाख ७४ हजार ७५० कित्ता सेयर २ अर्ब ६८ करोड ७५ लाख ३३ हजार ४ सय ४२ रुपैयाँमा खरिद–बिक्री भए ।
मंगलबार नेप्सेमा १.७७ ले वृद्धि भई एक हजार ४००.०१ मा पुग्यो । लामो समयपछि नेप्सेले एक हजार ४०० माथि पुगेको हो । नेप्सेमा झिनो सुधार देखिए पनि कारोबार रकम भने २ अर्ब माथि पुगेको छ । कुल १ सय ८१ कम्पनीका ५४ लाख ६८ हजार ४ सय ८३ कित्ता सेयर २ अर्ब १२ करोड ५९ लाख ७७ हजार ३४ रुपैयाँबराबरको कारोबार भयो ।
बुधबार नेप्सेमा ५.२४ विन्दुले सुधार आई एक हजार ४०५.२५ मा पुग्यो । त्यस दिन कुल १ सय ७७ कम्पनीको ३४ लाख ५५ हजार ६ सय ८२ कित्ता सेयर १ अर्ब ६२ करोड ८८ लाख ४१ हजार ३ सय ८९ रुपैयाँमा खरिद–बिक्री भए । बिहीबार नेप्से परिसूचक उच्च अंकले वृद्धि भयो । लगातार उकालो लागिरहेको बजारले नयाँ उचाइ कायम ग-यो । त्यस दिन नेप्सेमा २९.३२ अंकले बढेर एक हजार ४३४.५७ मा पुग्यो । कुल १ सय ८० कम्पनीका ५८ लाख २९ हजार ५१० कित्ता सेयर २ अर्ब ७८ करोड ५० लाख ४ हजार ९ सय ८ रुपैयाँमा खरिद–बिक्री भए ।