भुवन पौडेल
शुक्रवार, फाल्गुन ९, २०७६
774

नेपाल स्टक एक्सचेन्ज(नेप्से)मा बिहीबार हालसम्मकै उच्च रकमको सेयर खरिद–बिक्री भएको छ । नेप्सेमा २ अर्ब ७८ करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको हो ।
नेप्सेमा बिहीबार भएको सेयर कारोबार रकम हालसम्मकै उच्च हो । बिहीबार उच्च कारोबार हुँदा नेप्से परिसूचक समेत करिब ३० अंकले बढेको छ । नेप्सेमा कारोबार भएका अधिकांश कम्पनीको सेयर मूल्य बढेपछि बजार सूचक समेत बढेको हो । नियमित कारोबारमा नेप्सेले बिहीबार पहिलो पटक कीर्तिमान कायम गरेको स्टक ब्रोकर एसोसिएसनका अध्यक्ष भरत रानाभाटले पुष्टि गरे । नेप्सेले पनि विज्ञप्ति निकालेर बिहीबार सेयर बजारमा इतिहासमै सबैभन्दा बढी रकमको कारोबार भएको पुष्टि गरेको छ ।

पछिल्लो तीन महिनादेखि निरन्तर सुधारको गतिमा रहेको सेयर बजारमा बिहीबार १८० कम्पनीको २३ हजार ९ सय कारोबारबाट ५८ लाख २९ हजार ५ सय १० कित्ता सेयर २ अर्ब ७८ करोड ५० लाख रुपैयाँमा खरिद–बिक्री भएको हो । यो कारोबार रकम यसभन्दा अघि नेप्सेमा २०७३ साउन ११ गते २ अर्ब ७५ करोड बराबरको सेयर किनबेच भएको थियो ।
बिहीबार सेयर बजारको कारोबार सुरु हुँदादेखि सुधारको गतिमा रहेको नेप्से परिसूचक बन्द हुँदासम्म कायम रह्यो । बिहीबार नेप्सेमा २९.३२ अंकको सुधार पनि धितोपत्र बजार सूचक १४३४.५७ बिन्दुमा पुगेको छ । बिहीबार नेप्सेमा कारोबारमा आएका व्यापार र म्युचुअल फण्ड समूहगत परिसूचकबाहेक सबै उपसमूह बढेपछि नेप्से उच्च अंकले बढेको हो ।
बिहीबार सबैभन्दा धेरै शिवम् सिमेन्टको १७ करोड बढीको सेयर किनबेच भएको छ । त्यसैगरी बजारमा हिमालयन डिष्टिलरी र नेपाल लाइफको पनि १२ करोड रुपैयाँ भन्दा धेरैको सेयर कारोबार भएको छ । नेप्सेमा ग्रामीण विकास लघुवित्तको ११ करोड, शिखर इन्स्योरेन्स १० करोड ६३ लाख, नेको इन्स्योरेन्सको ८ करोड ३० लाख, नागरिक लगानी कोषको ८ करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।
बिहीबार एक दर्जन कम्पनीको सेयर मूल्य दश प्रतिशतले बढेको छ । बोटलर्स नेपाल तराई, फस्र्ट माइक्रोफाइनान्स, एनएमबि, कालिका, मेरो माइक्रोफाइनान्स तथा स्वाभिमान लघुवित्त लगायतको सेयर मूल्य उच्च दरले वढेको हो ।
अनलाइन सेयर कारोबार प्रणालीका कारण नेप्सेको कारोबार रकम हालसम्मकै उच्च भएको नेप्सेको भनाइ छ । नेप्सेले विज्ञप्ति जारी गर्दै गत कात्तिक २० गतेदेखि अनलाइन कारोबार प्रणाली औपचारिक रुपमा संचालन आएपछि सेयर कारोबारको गतिविधि बढेको दावी गरेको हो । नेप्सेको सेयर कारोबार प्रणालीमा सिडिएससी तथा एनसिएचएलको प्रणालीमा आवद्ध ७५ भन्दा बढी बैंक तथा वित्तीय संस्थामार्फत् रकम, धितोपत्र भुक्तानी तथा राफसाफ गर्न–गराउन सकिने भएपछि लगानीकर्ता सहभागी हुन सहज भएको नेप्सेले जनाएको छ ।
पछिल्लो सात कारोबार दिनको तथ्यांकलाई हेर्दा अनलाइनबाट मात्रै एक तिहाई अर्थात् ३३ प्रतिशत कारोबार हुन थालेको छ । माघसम्मको तथ्यांक अनुसार दैनिक औषत कारोबार रकम एक अर्ब ४२ करोड रुपैयाँ पुगेको नेप्सेले जनाएको छ । गत वर्ष यही अवधिमा यस्तो औसत कारोबार ३० करोडमा सीमित थियो ।