अर्थमन्त्रीले ‘अनुत्पादक’ भन्दा सेयर बजार ४१ अंकले घट्यो
भुवन पौडेल
सोमवार, फाल्गुन २१, २०७४
1205

वाम गठबन्धनले बहुमत ल्याएदेखि नै अस्थिर रहेको सेयर बजार अर्थमन्त्री डा. युवराज खतिवडाको पछिल्लो अभिव्यक्तिको शिकार बनेको छ । अर्थमन्त्रीले सेयर बजारमा हुने लगानीलाई ‘अनुत्पादक’ भनेकैले साताको पहिलो दिन आइतबार सेयर बजार परिसूचक नेप्से १३ सय हाराहारीमा झरेको छ । आइतबार एकै दिन सेयर बजार ४१.५६ अंकले घट्दा लगानीकर्ताले ४७ अर्ब गुमाएका छन् ।
नेप्से परिसूचक पछिल्ला दिनहरुमा न्यून बिन्दुको खोजीमा देखिएको छ । ‘बियरिस ट्रेन्ड’ मा रहेको सेयर बजारलाई सरकारको नीतिगत सहयोग नहुने त्रासमा लगानीकर्ताले सेयर बिक्री गर्दा बजार सूचक थप प्यानिक हुने अवस्थामा पुगेको हो । आइतबार सेयर बजार परिसूचक निरन्तर घटेर १३ सयको लाइनमा आइपुगेको छ । नेप्से घट्ने क्रमले निरन्तरता पाएपछि आइतबार एक दिनमा नै करिब १३ महिनायताकै न्यून बिन्दुमा झरेको छ । यसअघि नेप्से २०७३ माघ २३ मा १२९६ अंकसम्म झरेको थियो । त्यसपछि बढेको बजार सूचक पुन १८ सयभन्दा माथि पुगेपछि घट्न थालेको हो ।
२०६५ भदौ १५ को ११७५ को उच्च बिन्दु पार गरेपछि नेप्से २०७३ साउन १२ मा हालसम्मकै उच्च अंक १८८१ बिन्दुमा पुगेको थियो । घट्दो सेयर बजारमा अर्थमन्त्रीवाट नै सेयर बजारमैत्री अभिव्यक्ति नआएपछि लगानीकर्ता बिक्री गर्न हतारिएका हुन् ।
सेयर बजारको अवस्थामा लगानीकर्ताको मनोविज्ञानले प्रंत्यक्ष प्रभाव पार्छ । पछिल्लो समयमा वित्तीय क्षेत्रमा देखिएको तरलता तथा कर्जा लगानीयोग्य पुँजीको समस्याले नै बजार घट्दो क्रमममा थियो । यस्तै ब्याजदरमा समेत देखिएको वृद्धिले सेयर बजार प्रभावित भएको हो । नयाँ सरकार गठनको प्रतीक्षामा रहेका लगानीकर्ता अर्थमन्त्रीले सेयर बजारमैत्री नीति नलिने देखेपछि मनोबल कमजोर बनाएको सेयर लगानीकर्ता संघका अध्यक्ष उत्तम अर्याल बताउँछन् । “सरकारले बजारका लागि राहत हुने कुनै नीतिगत निर्णय नलिएसम्म सेयर बजार घट्ने क्रम रोकिने सम्भावना छैन,” उनले भने, “सेयर बजारको अभिभावकको रूपमा रहेका अर्थमन्त्रीले नै सेयर बजारलाई असर गर्ने अभिव्यक्ति दिएपछि लगानीकर्ताको मनोबल कमजोर हुनु सामान्य हो ।” सेयरकर्जा धितोमा लिइने सेयर मूल्यांकन केही खुकुलो बनाउनुपर्ने उनले बताए । अर्थमन्त्री खतिवडाले सेयर बजारलाई अनुत्पादक क्षेत्रको लगानी भनेपछि सेयर लगानीकर्ताको मानोबल कमजोर भएको कोहिनुर सेक्युरिटिज एण्ड इन्भेस्टमेन्टका प्रबन्ध निर्देशक भरत रानाभाट बताउँछन् । “अर्थमन्त्रीका कारण लगानीकर्ताको मनोबल कमजोर भएको छ,” उनी भन्छन्, “अर्थ मन्त्रालयले बजारमैत्री नीति नलिने देखिएपछि लगानीकर्ता आत्तिएका हुन् ।”
आइतबार कारोबार सुरु भएदेखि निरन्तर घटेको नेप्से बन्द हुँदासम्म कायम रह्यो । नेप्सेमा कारोबार भएका अधिकांश कम्पनीको सेयर मूल्य घटेपछि समग्र नेप्से परिसूचक घटेको हो । कारोबारको मध्यसमयमा १२ सयको लाइनमा आएको नेप्से अन्तिम समयमा घट्दो क्रममा केही कमी आएपछि १३ सयभन्दा माथि नै रोकियो ।
आइतबार कारोबार सुरु हुँदा १३४५.९९ अंकमा रहेको नेप्से ४१.५६ अंकले घटेर १३०४.४३ अंकमा झरेको छ । नेप्सेसँगै ‘क’ वर्गका कम्पनीको सेन्सेटिभ इन्डेक्स पनि ८.५८ अंकले घटेको छ । आइतबार नेप्सेमा कारोबार भएका सम्पूर्ण समूहगत सूचकहरु पनि घटेका छन् । आइतबार नेप्सेमा १ सय ५१ कम्पनीका ५ हजार ९ सय ४३ कारोबारवाट ४८ करोड ३९ लाख रुपैयाँ बराबरका १३ लाख ११ हजार ९ सय ४८ कित्ता सेयर खरिदबिक्री भएका छन् ।