कारोबार संवाददाता
आइतवार, कार्तिक ३, २०७६
937

धनगढी-सुदूरपश्चिमबाट सेयर मार्केटमा लगानी गर्न चाहने व्यक्तिहरूलाई सेयर बजार तालिम दिइएको छ । सफल नेपाल लगानी कम्पनी बुटवल र लगानी स्कुल काठमाडौंको आयोजना शनिबार धनगढीमा सेयर बजार तालिम दिइएको हो । तालिममा सहभागीलाई सफल नेपाल लगानी कम्पनीका प्रशिक्षक सन्तोष बजगाईंले सेयर बजारको प्राविधिक ज्ञान, कम्पनी छनोट, सेयर बजारमा प्रवेश गर्ने तरिका र सेयर बजारबाट लाभ लिने तरिकाको विषयमा प्रशिक्षण दिएका थिए ।
कार्यक्रममा सफल नेपाल लगानी कम्पनीका अध्यक्ष कमल तिवारीले सेयर बजारको विषयमा नबुझेर प्रवेश गर्दा लगानीकर्ताहरूलाई घाटा हुन सक्ने भएकाले लगानी गर्न इच्छुक व्यक्तिहरूलाई सेयर बजारमा लगानी गर्ने तरिका सिकाउने उद्देश्यले तालिम आयोजना गरेको बताए । उनले सुदूरपश्चिमबाट समेत सेयर बजारमा लगानी बढाउने उद्देश्यसमेत तालिमको रहेको बताए ।
नेपाल पुँजीबजार लगानीकर्ता संघका सुदूरपश्चिम प्रदेश संयोजक कुमार थापाले सुदूरपश्चिममा पनि सेयरमा लगानीको अवसरहरू आउने गरेको भएको पनि त्यसबारे जानकारी नहुँदा यहाँका लगानीकर्ताहरूले लगानी गर्न नसकेको बताए । कम्पनीका अध्यक्ष तिवारीको अध्यक्षतामा सम्पन्न तालिम सञ्चालन कम्पनीका कार्यकारी निर्देशक माधवप्रसाद पाण्डेले गरेका थिए । तालिमका सहभागीहरूलाई प्रदेश संयोजक थापाले प्रमाणपत्र वितरण गरेका थिए ।