कारोबार संवाददाता
आइतवार, फाल्गुन ६, २०७४
1551

 गएको साता नेपाली सेयर परिसूचक नेप्से ४० अंकले उकालो लागेको छ । कांग्रेस नेतृत्वको सरकार बाहिरिएर वामपन्थी नेतृत्वको सरकारको आगमनसँगै लगानीकर्ता उत्साहित भएका हुन् ।  गएको साता नेपाली सेयर परिसूचक नेप्से ४० अंकले उकालो लागेको छ । कांग्रेस नेतृत्वको सरकार बाहिरिएर वामपन्थी नेतृत्वको सरकारको आगमनसँगै लगानीकर्ता उत्साहित भएका हुन् । साताको पहिलो दिन नेप्से घटेको भए पनि अन्य तीन दिन उकालो लागेको छ । अधिकांश उपसूचकहरु उकालो लागेका छन् । नेतृत्वमा को आउने भन्दा पनि लगानीकर्ता अबको सरकार स्थिर हुन्छ भन्ने विश्वासले लगानी गरिरहेका छन् । नयाँ सरकारले विकास गर्ने, सरकारी ढुकुटीमा थन्किएको पैसालाई विकास निर्माणको मध्यमबाट बाहिर ल्याउँदा तरलता सहज हुनेजस्ता कारणले लगानीकर्तामा विश्वास जगाएको देखिन्छ । तथापि संघियता कार्यान्वयमा जाँदा करका दरहरु बढ्ने हुन् कि भन्ने डरमा पनि रहेका देखिन्छन् लगानीकर्ता । यसबाहेक पूँजीगत लाभकर लगायतका कर तथा नियमनकारी निकायले ल्याउन सक्ने नीतिले सेयर बजार प्रभावित हुने छ । आउँदो साता सेयर बजार  बढ्ने आँकलन गरिए पनि केहि दिनपछि नै घट्ने देखिन्छ । मागको तुलनामा आपूर्तिको चाप थेरै भएकाले त्यसलाई सन्तुलनमा राख्न नसकिने विश्लेषकहरु बताउँछन् । तर नयाँ सरकारका प्रधानमन्त्री केपी ओलीले प्रधानमन्त्री भएकै दिन लगानीका लागि गरेको प्रतिबद्धताअनुरुप काम गरे नेपालमा नयाँ लगानी आई सेयर बजार पनि उकालो लाग्न सक्ने देखिन्छ । यसबाहेक आधुनिक बजारका लागि आवश्यक काम अगाडि बढ्दै गएमा पनि नेप्से बढ्ने देखिन्छ ।यस साता नेपाल स्टक एक्सचेन्जमा १७९ कम्पनीहरुको कारोबार भएको छ । जसअनुसार १६६३८ कारोबारबाट एक अर्ब ५४ करोड १४ लाख २५ हजार रुपैयाँ बराबरका ३७ लाख ९२ हजार चार सय ७० कित्ता सेयरहरु खरिद बिक्री भएका छन् । कारोबार रकम गत साताको भन्दा ०.६२ प्रतिशत कम हो । गत साता १७६ कम्पनीहरुको कारोबार भएको थियो । जस अनुसार १७९०१ कारोबारबाट एक अर्ब ५५ करोड ११ लाख दुई हजार रुपैयाँ बराबरका ४१ लाख ९६ हजार चार सय ९० कित्ता सेयरहरु खरिद बिक्री भएका थिए । साताको नेप्से परिसूचक पहिलो दिनको तुलनामा ४०.२४ अंकले बढेर अन्तिम दिन १४२४.९५ अंकमा पुगेको छ । क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पहिलो दिनको तुलनामा  ८.४९ अंकले बढेर ३०१.३० अंकमा आईपुगेको छ । यस साता कारोबार रकम (६ करोड ७१ लाख ५० हजार रुपैयाँ) को आधारमा प्रभु बैंक लिमिटेड अग्रस्थानमा रहेको छ । त्यसैगरी कारोबार भएको सेयर संख्या (दुई लाख ९३ हजार कित्ता) को आधारमा पनि प्रभु बैंक लिमिटेड अग्रस्थानमा रहेको छ । त्यसैगरी कारोबार संख्या (५९० वटा) को आधारमा नेपाल इन्भेस्टमेन्ट बैंक लिमिटेड अग्रस्थानमा रहेको छ । यस साता नेपाल स्टक एक्सचेन्जको कारोबार कक्ष नियमित कारोबारका लागि चार दिन खुला रह्यो । यस साता पनि ऋणपत्रतर्फ संस्थागत तथा सरकारी ऋणपत्रहरुको कुनै पनि कारोबार भएन ।