कारोबार संवाददाता
मंगलबार, आश्विन ७, २०७६
1030

साताको पहिलो दिन दोहोरो अंकले घटेको नेप्से परिसूचक सोमबार भने झिनो अंकले बढेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार सेयर कारोबार मापक नेप्से परिसूचक १.७३ अंकले बढेर एक हजार १४०.९८ मा पुगेको छ ।
यस्तै सेन्सेटिभ परिसूचक ०.१० अंकले बढेर २४९.८१ मा पुगेको छ । परिसूचक बढे पनि कारोबार भने अत्यन्त न्यून रह्यो । सोमबार कुल १ सय ७० कम्पनीको ७ लाख ४३ हजार ३ सय १५ कित्ता सेयर १७ करोड ७२ लाख ७९ हजार ३९ रुपैयाँमा खरिद बिक्री भयो ।

कारोबार भएका कुल १२ मध्ये ९ उपसमूहको सेयर बढेको छ भने तीन उपसमूहको सेयर ओरालो लागेको छ । बैंकिङ ०.४४, व्यापार ८.१८, होटल २.२७, विकास बैंक २.७६, निर्जीवन बिमा ८.३५, उत्पादन ८.४५, अन्य ३.९५, लघुवित्त ३.७९ र जीवन बिमा १६.५९ अंकले बढे । त्यस्तै जलविद्युत् ०.६८, वित्त ०.१७ र सामूहिक लगानी कोष ०.०६ अंकले घटे ।
स्टकका अनुसार कारोबार रकमका आधारमा प्रभु बैंक शीर्ष स्थानमा रह्यो । सो बैंकको सेयर १ करोड २५ लाख २३ हजार ४ सय ४७ रुपैयाँमा खरिद बिक्री भयो । त्यसैगरी शिवम् सिमेन्ट १ करोड २० लाख ५२ हजार ५ सय ३ रुपैयाँ, सिद्धार्थ बैंक ८५ लाख २८ हजार ७ सय ३३ रुपैयाँ, नेपाल लाइफ इन्स्योरेन्स कम्पनी ८३ लाख २६ हजार ९ सय ७८ रुपैयाँ, कृषि विकास बैंक ७१ लाख ३२ हजार ४ सय १३ रुपैयाँ र नेपाल बंगलादेश बैंकको सेयर ५९ लाख ६८ हजार ५ सय रुपैयाँमा खरिद बिक्री भई शीर्ष स्थानमा रह्यो ।
परिसूचक बढे पनि युनियन हाइड्रोपावरका सेयरधनीले ३.७७ प्रतिशतले गुमाए । यसैगरी माउन्टेन हाइड्रो नेपाल ३.७०, आँखुखोला जलविद्युत् कम्पनी ३.४४, ग्लोबल आईएमई समुन्नत स्किम–१ को ३.३६ र पञ्चकन्या माई हाइड्रोपावर कम्पनीका सेयरधनीले ३.२६ प्रतिशतले गुमाए ।
साल्ट ट्रेडिङ कर्पोरेसनका लगानीकर्ताले ४.९४ प्रतिशतले कमाउँदा सिर्जना फाइनान्स वित्तीय संस्था ३.९०, जोशी हाइड्रोपावर डेभलपमेन्ट ३.५१, साइन रेसुङ्गा डेभलपमेन्ट बैंक ३.२७ र हिमालयन पावर पार्टनरका लगानीकर्ताले ३.०८ प्रतिशतले कमाए ।