कारोबार संवाददाता
शुक्रवार, भदौ २०, २०७६
726

नेपाल धितोपत्र बोर्डले ब्रोकरमार्फत हुने मार्जिन कारोबार गर्ने बाटो खोलिदिएको छ । बोर्डले बिहीबार निर्देशन जारी गर्दै मार्जिन कारोबार गर्न मिल्ने केन्द्रीय निक्षेप सेवा विनियमावलीको पाँचौं संशोधनलाई स्वीकृति दिएपछि ब्रोकरमार्फत हुने मार्जिन कारोबार गर्ने बाटो खुलेको हो । मार्जिन कारोवार सुविधा सञ्चालनमा आइ धितोपत्र बजारको दायरा बृद्धि हुने तथा कारोवारमा समेत विस्तार भइ धितोपत्र बजार थप चलायमान हुने बोर्डले जारी गरेको प्रेस विज्ञप्तिमा जनाएको छ ।
मार्जिन कारोबार सुविधा सञ्चालनका लागि मार्जिन कारोबारको राफसाफ सम्वन्धी व्यवस्था गर्न छुट्टै हितग्राही खाता आवश्यक पर्ने तर विद्यमान धितोपत्र केन्द्रीय निक्षेप सेवा विनियमावली, २०६८ मा उक्त हितग्राही खाता संचालन सम्वन्धमा कुनै व्यवस्था नभएको सम्बन्धमा सीडीएस एण्ड क्लियरिङ लिमिटेडबाट धितोपत्र केन्द्रीय निक्षेप सेवा विनियमावली, २०६८ मा आवश्यक संशोधन प्रस्ताव सहित वोर्डमा स्वीकृतिका लागि पेश गरेकोमा वजारको विद्यमान अवस्थालाई दृष्टिगत गरी मार्जिन कारोवार अविलम्ब सञ्चालन गर्न आवश्यक देखिएकोले प्रस्ताव भए बमोजिम बोर्डबाट धितोपत्र केन्द्रीय निक्षेप सेवा विनियमावली, २०६८ को पाँचौ संशोधन (२०७६) लाई स्वीकृति प्रदान गरिएको छ, बोर्डको प्रेस विज्ञप्तिमा लेखिएको छ ।

यस व्यवस्थाले सीडीएससीले मार्जिन कारोबार राफसाफ प्रयोजनका लािग हितग्राही खातासम्बन्धीे व्यवस्था गरी धितोपत्र बजार, निक्षेप सदस्य र राफसाफ सदस्यलाई जानकारी गराउनु पर्नेछ । उक्त व्यवस्था पश्चात राफसाफ सदस्यले मार्जिन कारोबार राफसाफ प्रयोजनका लागि कुनै निक्षेप सदस्यमार्फत् मार्जिन कारोबार राफसाफ हितग्राही खाता खोल्न सक्ने व्यवस्था गरिएको छ । यस संशोधन पश्चात मार्जिन कारोवार सुविधा संचालनमा आई धितोपत्र बजारको दायरा बृद्धि हुने तथा कारोबारमा समेत विस्तार भई धितोपत्र बजार थप चलायमान हुने बोर्डको अपेक्षा रहेको छ ।
बोर्डका अनुसार व्यवस्थापछि राफसाफ सदस्यले मार्जिन कारोबार राफसाफ प्रयोजनका लागि कुनै निक्षेप सदस्य मार्फत् मार्जिन कारोबार राफसाफ हितग्राही खाता खोल्न सक्ने छन् । यसअघि नेप्सेले केही ब्रोकर कम्पनीलाई मार्जिन कारोबार गर्न अनुमति दिइसकेको थियो । त्यसका लागि कुन कम्पनीको कारोबार गर्ने भन्ने टुंगो पनि लगाएको थियो ।
तर, ब्रोकर कम्पनीले प्रदान गर्ने मार्जिन कारोबार सुविधाका लागि ३१ कम्पनी मात्रै योग्य देखिएका छन् । नेप्सेले तयार पारेको सूचिमा २७ वटा बाणिज्य बैंकहरूमध्ये ११ वटा मात्रै योग्य देखिएका छन् । त्यस्तै, ६ वटा विकास बैंक, तीन वटा हाइड्रोपापवर, ९ वटा माइक्रोफाइनान्स, एउटा होटल र अन्य समुहको नेपाल टेलिकम मात्रै योग्य देखिएको छ । तोकिएका कम्पनीहरूको मार्जिन कारोबारका लागि १८० दिनको औषत बजार मूल्य वा अन्तिम बजार मूल्यमध्ये जुन कम हुन्छ त्यसको ५० प्रतिशतले हुनआउने रकमका लागि लगानीकर्ताले माग गर्न सक्ने छन् ।
यस्तै, बोर्डको प्रावधानअनुसार कम्तिमा १० हजार सेयरधनी भएका कम्पनीको शेयरमा मार्जिन सुविधा उपलब्ध हुने छ भने खुद सम्पत्ति चुक्ता पुँजीभन्दा कम नरहेको, पछिल्लो दुई आर्थिक वर्षमा कम्तीमा १० प्रतिशत लाभांस वितरण गरेको, दोस्रो बजारमा अघिल्लो आर्थिक वर्षभर कम्तिमा ८० प्रतिशत कारोबार दिनमा शेयर कारोबार भएको, आर्थिक वर्षको प्रथम ६ महिनाभित्रमा वार्षिक साधारणसभा सम्पन्न गरेको कम्पनी मार्जिन कारोबार सुविधा योग्य हुनेछन् ।