रासस
मंगलबार, भदौ ३, २०७६
567

धितोपत्र बजारमा लगातार ओरालो लाग्दै आएको कारोबार मापक नेप्से परिसूचक साताको दोस्रो दिन सोमबार उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ७.२३ बिन्दुले बढेर १ हजार २२२.०६ बिन्दुमा पुगेको छ ।
यस्तै सेन्सेटिभ परिसूचक १.८५ बिन्दुले बढेर २६४.९६ मा पुगेको छ । नेप्से परिसूचक बढे पनि कारोबार रकममा भने उल्लेख्य सुधार हुन सकेन । सोमबार कुल १ सय ७५ कम्पनीको १४ लाख ७७ हजार ४३५ कित्ता सेयर ३८ करोड ९६ लाख २५ हजार रुपैयाँमा खरिद बिक्री भए । स्टकका अनुसार कारोबार भएका कुल ११ उपसमूहमध्ये सोमबार निर्जीवन बिमाको सेयर कारोबार ओरालो लागेको छ । सो उपसमूहको सेयर २९.७८ बिन्दुले घट्दा बैंकिङ ७.३३, होटल ४.७४, विकास बैंक १३.४३, जलविद्युत् १.१९, वित्त १.०७, उत्पादन ६.९१, अन्य ४.७२, लघुवित्त २१.५१, जीवन बिमा ४४.३२ र सामूहिक लगानी कोष ०.०१ बिन्दुले बढेको छ ।

स्टकका अनुसार कारोबारका आधारमा सोमबार सिद्धार्थ बैंकको संस्थापक सेयर शीर्ष स्थानमा छ । सो बैंकको २ करोड ५८ लाख ३१ हजार ४ सय २८ रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । त्यस्तै रसुवागढी जलविद्युत् आयोजना २ करोड १५ लाख १६ हजार रुपैयाँमा, एनआईसी एसिया १ करोड ७१ लाख ९० हजार रुपैयाँ, सोल्टी होटल १ करोड ६७ लाख ३४ हजार रुपैयाँ, कृषि विकास बैंक १ करोड ६६ लाख ६४ हजार र नेपाल इन्भेस्टमेन्ट बैंकको सेयर १ करोड ४६ लाख ९८ हजार रुपैयाँमा खरिद बिक्री भई शीर्ष स्थानमा रहे ।
कारोबारका आधारमा नाडेप लघुवित्त वित्तीय संस्थाका सेयरधनीले ७.५० प्रतिशतले कमाउँदा सपोर्ट माइक्रोफाइनान्स ६.४७, ग्लोबल आईएमई लघुवित्त वित्तीय संस्था ६.१६, एक्सेल डेभलपमेन्ट बैंक ५.०९ र महिला सहयात्रा माइक्रोफाइनान्स वित्तीय संस्थाका सेयरधनीले ५.०३ प्रतिशतले कमाएका छन् । सानिमा इक्विटी फन्ड ३.५७, जोशी हाइड्रोपावर २.८९, युनाइटेड इन्स्योरेन्स २.५६, गुह्यश्वरी मर्चेन्ट बैंक एन्ड फाइनान्स २.५२, बरुण हाइड्रोपावर २.२२ र चिलिमे जलविद्युत् कम्पनीका सेयरधनीले १.९६ प्रतिशतले गुमाए ।