कारोबार संवाददाता
शुक्रवार, श्रावण २४, २०७६
479

नेपालको पुँजी बजारको इतिहासमै बिहीबार नेप्से अनलाइन कारोबार प्रणालीमार्फत धेरै संख्यामा कारोबार भएको छ । कारोबार विवरणअनुसार २९ हजार ४ सय ९६ कारोबारबाट ४५ करोड ४६ लाख २९ हजार ५ सय ७५ रुपैयाँबराबरका १८ लाख ७७ हजार ५ सय ४२ कित्ता सेयर किनबेच भएका छन् ।
बिहीबारको कारोबार संख्यामा रसुवागढी हाइड्रोपावर कम्पनी (कारोबार संख्याः १२५०९) र सान्जेन जलविद्युत् कम्पनी (कारोबार संख्याः ११९९१) को सबैभन्दा बढी योगदान रहेको नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का प्रवक्ता मुराहरि पराजुलीले बताए ।

यस्तै, साताको अन्तिम दिन बिहीबार नेप्से परिसूचक झन्डै १० अंकले घटेको छ । नेप्सेका अनुसार बिहीबार ९.९२ अंकले नेप्से परिसूचक घटेको हो । बिहीबार १६६ कम्पनीका १८ लाख ७७ हजार ५ सय ४२ कित्ता सेयर किनबेच हुँदा ४५ करोड ४६ लाख २९ हजार ५ सय ७५ रुपैयाँको कारोबार भएको नेप्सेले जनाएको छ । सेयर परिसूचक पूरै राताम्मे भएको छ । बैंकिङ समूह ५.५४, ट्रेडिङ समूह २.०३, होटल समूह २०.८३, विकास बैंक समूह ८.१५, जलविद्युत् समूह ३१.३५, वित्त समूह ४.९७, निर्जीवन बिमा समूह ७५.४५, उत्पादनमूलक समूह ११.८५, अन्य समूह ५.३४, लघुवित्त समूह २ं०.३२, जीवन बिमा समूह २६.५५ र म्युचुअल फन्ड ०.०२ अंकले घटेका छन् ।
बिहीबार सपोर्ट माइक्रो फाइनान्स वित्तीय संस्था लिमिटेडका सेयरधनीले सबैभन्दा बढी ५.७१ प्रतिशतले नाफा कमाएका छन् भने रसुवागढी हाइड्रोपावर कम्पनीका लगानीकर्ताले सबैभन्दा बढी ९.७० प्रतिशतले घाटा बेहोरेका छन् । यस्तै, सबैभन्दा बढी घाटा बेहोर्नेमा दोस्रो नम्बरमा साञ्जेन जलविद्युत् कम्पनी लिमिटेडका सेयरधनी परेका छन्, उनीहरुले ४.६८ प्रतिशत घाटा बेहोरेका हुन् ।